सुशासन

आयोगले आज सर्वोच्चलाई जवाफ पठाउँदै, छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णय

काठमाडौँ, १३  कात्तिक -  प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णय गरेको निर्वाचन आयोगले सर्वोच्च अदालतलाई आज जवाफ पठाउँदै छ ।matpatra

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले अदालतको आदेशलाई उच्च सम्मान र सकारात्मकरुपमा लिँदै जवाफ लिएर अदालतमा जान लागेको   बताएका छन् ।

उनले भने, “आयोग आफ्नो कार्यतालिकाअनुसार अघि बढिरहेको छ, मत्रपत्र छाप्ने काम निरन्तर भइरहेको छ, अदालतबाट मतपत्रका सन्दर्भमा भएको आदेशलाई सम्मान गर्दै जवाफ पठाइनेछ ।’’

राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मत जाहेर गर्ने मतदाताको मनोविज्ञान फरक हुने भएकाले बेग्लाबेग्लै मतपत्रको व्यवस्था हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा दर्ता गराएका थिए ।

उनको रिटमाथि सुनुवाइ गर्दै अदालतले समानुपातिकतर्फको मतपत्र छपाइ अघि बढिसकेकाले त्यस विषयमा बोल्न आवश्यक नहुने जनाउँदै प्रत्यक्षतर्फको मतपत्र छपाइका विषयमा भने दुवै सभाका ऐनहरु फरकफरक भएकाले उक्त पक्षलाई गम्भीररुपमा लिँदै आवश्यक निर्णय आयोगलाई आदेश जारी गरेको थियो ।

उक्त आदेशको सम्मान गर्दै आयोगले त्यस विषयमा कसरी अघि बढ्नु उपयुक्त हुने भनी समिति गठन गरी परामर्श लिएको थियो ।

आयोगले अदालतको आदेशको अवज्ञा गरेको जनाउँदै सहअध्यक्ष शुक्लले फेरी दिएको निवेदनमा अदालतले बेग्लाबेग्लै मतपत्र छपाइका सम्बन्धमा आयोगबाट भएको आदेश कार्यान्वयन गर्ने सन्दर्भमा भएको प्रगति विवरणसहितको जवाफ मागेको थियो ।
सोही क्रममा आयोगले अदालतलाई आज  जवाफ पठाउन लागेको हो ।

आयोगले आइतबार प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको लागि छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णय गरेको छ । आयोग पदाधिकारीको आइतवार बसेको बैठकले सर्वोच्च अदालतको आदेश अनुसार प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने निश्कर्ष निकालेको हो ।

सर्वोच्च अदालतको आदेशको मर्म अनुसार आयोगले छलफल गरेको आयोगका प्रवक्ता नबराज ढकालले लोकान्तरलाई जानकारी दिए । ‘अदालतको आदेशको कार्यान्वयन गर्नबारे गम्भीर छलफल भएको छ, अदालतको आदेशको मर्म र भावना अनुसारको निर्णय गरेर पत्राचार गर्न लागेका छौं’ ढकालले भने ।

निर्वाचन आयोगले अदालतको आदेशका सम्बन्धमा आइतबार नायब महान्यायाधिवक्तासँग समेत कानूनी परामर्श लिएको थियो ।
आयोगको निर्णयसँगै अब मतदाताले तीनवटा मतपत्रमा चार ठाउँ भोट हाल्नुपर्ने भएको छ । कात्तिक १३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस