विश्लेषण : आलेख

राजनीतिबाट किन हराउँदैछ सम्मान र मर्यादा ?

(क) भूमिका
१. प्रजातान्त्रिक पद्धतिमा एउटा निश्चित विचार, सिद्धान्त, नीति र कार्यक्रमलाई स्वीकार गर्ने जनसमुदाय मिलेर नै कुनै पनि राजनीतिक दलको गठन, निर्माण वा स्थापना भएको हुन्छ । राजनीतिक दलको उद्देश्य नै तोकिएको विचार, सिद्धान्त, नीति र कार्यक्रमका आधारमा सुशासनका माध्यमले आम जनताको सर्वोपरी कल्याण गर्नु रहेको हुन्छ । नेपालका साना–ठुला सबै राजनीतिक दलको घोषणा पत्रले देश र जनता कै कल्याणको कुरा गरेका छन् । तर दुर्भाग्य प्रायजसो सबै राजनीतिक दलहरूको व्यवहार तीनका नीति, सिद्धान्त र कार्यक्रमसंग मेल खाँदैन ।

२. पार्टीको सिद्धान्त, विचार र कार्यक्रम राम्रो भएर मात्र हुँदैन, त्यसलाई वोक्ने वा व्यवहारमा ल्याउन भूमिका खेल्ने पार्टी नेतृत्व एवम् कार्यकर्ता जमात असल एवम सक्षम छैनन् भने राजनीतिले राम्रो बाटो समात्न सक्दैन ।

पार्टीको नेतृत्व असल, सक्षम एवम् इमान्दार हुनु पर्छ भने कार्यकर्ता पङ्ति पनि त्यति कै इमान्दार, सदाचारी र चरित्रवान हुन आवश्यक हुन्छ । तर नेपाली राजनीतिमा यसो हुन सकेको छैन, वर्तमान नेपाली राजनीतिको प्रमुख समस्या नै यही हो । जसको कारणले सिङ्गो नेपाली राजनीति माथि नेपाली जनतामा चरम निराशा छ ।

३. आधुनिक नेपालको सात दशक लामो सिङ्गो राजनीति अस्थिरतामा नै वित्यो । राजनीतिको संक्रमण काल कहिल्यै सकिएन । राजनीतिक दलहरू पटक–पटक प्रजातन्त्र स्थापना गर्न सफल भए तर प्रजातन्त्रलाई स्थायित्व दिन र देशलाई नेतृत्व दिन असफल हुँदै आएका छन् । नेपाली जनताको बलमा राजनीतिक दलहरूले ०७ साल, ०४६ साल र ०६२/०६३ सालमा प्रजातन्त्रका लागि सफल क्रान्ति गरे तर तीनै क्रान्तिका संवाहक दलहरू देशको नेतृत्व लिन असफल हुँदै आए ।

निश्चयः नै नेपाली राजनीतिले स्थायित्व नपाउनु र प्रजातन्त्र सुदृढ नहुनुमा विगतमा दरवारको राजनीतिक महत्वकांक्षा र हस्तक्षेप, नेपालको आन्तरिक राजनीतिमा छिमेकी एवम् मित्र राष्ट्रहरूको अवाञ्छित चासो, दवाव र हस्तक्षेप प्रमुख कारण हो । तर त्यो भन्दा पनि प्रमुख कारण भनेको आम जनताले आशाको नजरले हेरेका जनताको प्रतिनिधि संस्था राजनीतिक दल र तीनका नेताहरू मुलुकको राष्ट्रियता, देशको भूराजनीतिक संवेदनशीलता र राजनीतिको विविध पक्षलाई ध्यानमा राखेर देश र जनता प्रति इमान्दार बन्दै राजनीति नगर्नु हो । दलहरूले केवल सत्ता स्वार्थबाट अभिप्रेरित भएर राजनीति गरिदिंदा आज देशको राजनीति अत्यन्त संवेदनशील मोडमा आइपुगेको छ ।

४. नेपाली राजनीति सत्ता स्वार्थमा अल्झेकै कारण राजनीतिबाट निष्ठा, सिद्धान्त र आदर्श हराउँदै गएको छ । राजनीतिक दलका कार्यकर्तामा सिद्धान्त, विचार र पार्टी प्रतिको निष्ठा, त्याग र समर्पणभाव नाममा मात्र सीमित भएको छ, कार्यकर्तामा सदाचार, अनुशासन र स्वच्छ–प्रतिस्पर्धाको भाव, व्यवहार र शैली पुरै मरेको छ । जसको परिणाम राजनीतिबाट सम्मान र मर्यादा हराएको छ ।

आज आम जनताले राजनीतिलाई घृणाको नजरले हेर्न थालेका छन् । राजनीतिक कर्मीले समाजमा गर्वका साथ म फलानो राजनीतिक पार्टीको कार्यकर्ता हुँ भनेर शीर ठाडो गरेर हिड्न सक्ने अवस्था छैन । हिजो पञ्चायत कालमा पार्टी प्रतिबन्धित हुँदा म काँग्रेसको कार्यकर्ता हुँ भनेर भन्दा गर्वले शीर ठाडो हुन्थ्यो । उनीहरूलाई आम जनताले सम्मानभावले हेर्दथे तर आज समाजमा उभिएर म राजनीति कर्मी हुँ अथवा फलानो दलको कार्यकर्ता हुँ भन्दा लज्जावोध हुन्छ, जनताले राजनीतिक नेता–कार्यकर्तालाई श्रद्धाको नजरले हेर्दैनन् ।

यहाँसम्म कि जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधि माननीय सांसदहरू स्वयम् सार्वजनिक स्थलमा गौरवका साथ लगाउनु पर्ने सांसद्को लोगो छोपेर वा नलगाई हिड्छन् । यी सब किन भैरहेको छ ? आज राजनीतिमा जनता यति बिघ्न निरास किन भैरहेका छन् ? राजनीतिक क्षेत्र यति धेरै बद्नाम किन भएरहेको छ ? सत्ताको मदमा अन्धो बनेका राजनीतिक दल र तीनका नेताहरूको ध्यान अझैसम्म यस तर्फ पटक्कै गएको छैन ।

५. आजको नेपाली राजनीति केवल शत्ता केन्द्रीत हुँदा, राजनीति सिद्धान्त र नीतिविहिन भएको छ । राजनीतिबाट सेवाभाव, नैतिकता, अनुशासन, सदाचार एवम सादगीपन जस्ता चरित्र, व्यवहार र सद्गुणहरू हराउँदै गएको छ । आँफु भन्दा (सिनियर) अग्रजलाई सम्मान गर्नु पर्दछ, गुरूको सम्मान गर्नु पर्दछ भन्ने संस्कार र मान्यता हराएको छ । आज हरेक पार्टी भित्र धनवाद र डनवाद हावी भैरहेको छ । राजनीति धनशाली, बलशाली र डनशालीले मात्र गर्ने विषय भैरहेको छ ।

राजनीतिमा दुराचारी, व्यभिचारी एवम भ्रष्टाचारीहरूको दवदवा बढेको छ । राजनीतिमा होनी–अनहोनी सबै जायज हुन्छ, राजनीति भनेको छक्का–पञ्जा नजान्ने, पैसा खर्च गर्न नसक्ने, पार्टी प्रति समर्पित, सरल, इमान्दार, निष्ठावान कार्यकर्ताले गर्ने विषय होइन भन्ने मान्यता सिङ्गो नेपाली राजनीतिमा स्थापित भैरहेको छ । अहिले प्रायः जसो सबै ठुला दलमा अनुशासित, इमान्दान्दार, सदाचारी र अलिकति राष्ट्रवादी सोच भएका राजनीतिक कर्मीलाई कि त नियोजित रूपमा साइडमा पारिएको छ, कि त त्यस्ता इमान्दार कार्यकर्ता पङ्ति राजनीतिबाटै निरास भएर पलाय भैरहेका छन् । राजनीति गुण्डाराजमा रूपान्तरित भैरहेको छ, जसको कारणले राजनीतिमा मर्यादा, सम्मान हराउँदै गएको छ ।

६. राजनीतिक क्रान्ति, आन्दोलन र परिवर्तनका अवसरहरूमा जनताका सामु ठुलाठुला सपना बाँड्ने, जनताको आकांक्षालाई अस्वाभाविक रूपमा उत्कर्षमा पु-याउने तीनै दलहरू राजनीतिक अवसर पाउने वित्तिकै वा सत्तामा पुग्नासाथ सत्ता स्वार्थमा अल्झेर राजनीतिक द्वन्द्वमा फस्ने र जनताको चाहनालाई पुरा नगर्ने वा वेवास्ता गर्ने प्रवृत्तिले जनतामा चरम निरासा छाएको छ भने अर्को तर्फ राजनीतिक दलमा अनुशासन र मर्यादा छैन ।

७. पार्टीले लिएको राजनीतिक विचार, सिद्धान्त, नीति र कार्यक्रम जति नै लोकप्रिय किन नहोस्, दलले लोकतन्त्रका लागि ईतिहासमा जतिसुकै गौरवमय क्रान्ति, आन्दोलन र संघर्षहरू गरेको किन नहोस्, पार्टीले पटक पटकका महाधिवेशनका माध्यमले पार्टी संगठनको संरचनालाई दुरूस्त पारेको किन नहोस् तर वर्तमान राजनीतिक परिवेशमा पार्टीले इमान्दार, सरल, एवम् अनुशासित सशक्त कार्यकर्ता पङ्ति तयार गर्न सकेन भने पार्टीले वर्तमान र भविष्यमा मुलुक र मुलुकको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न समर्थ हुँदैन । राजनीतिमा हराउँदै गएको मूल्य–मान्यताको साथै पार्टीलाई कसरी जनप्रिय बनाउने हो, राजनीतिलाई कसरी मर्यादित र सम्मानित बनाउने हो, यसतर्फ केवल सत्ता स्वार्थमा अल्झेका दल र तीनका नेताहरूको ध्यान गएको छैन ।

८. पार्टीले स्पष्ट रूपमा विचार, सिद्धान्त, नीतिलाई परिवर्तन, परिमार्जन वा संशोधन गर्दै अगाडि बढ्यो, पार्टीको महाधिवेशनले पार्टीको सबै निकायहरूको गठन गरी संगठन पनि राम्रोसंग निर्माण ग-यो तर पार्टीको विचार, सिद्धान्त, नीति र कार्यक्रमलाई काँधमा वोकेर संगठनका माध्यमले जनतामा पुग्ने कार्यकर्ता पङ्ति कमजोर छ, इमान्दार छैन, सदाचारी र चरित्रवान छैनन् भने त्यो पार्टी जनतामा लोकप्रिय बन्न सक्दैन । नेपाली राजनीति वा दलहरूमा निष्ठा, सिद्धान्त, सदाचार, अनुशासन आदि सकारात्मक पक्ष कमजोर बन्दै राजनीतिमा अनैतिकता, भ्रष्टाचार, दुराचार र पैसाको भरमा राजनीति गर्ने प्रवृत्ति नै राजनीतिलाई अमर्यादित वा अलोकप्रिय बनाउने प्रमुख कारण हो ।

९. ०४६ सालको सफल जनआन्दोलनको परिणाम पार्टी माथिको प्रतिबन्ध फुकुवा भए देखि नै पार्टीहरूले राजनीतिलाई कसरी सम्मानित र मर्यादित बनाउने भन्ने विषयमा ध्यान दिंदै आफ्ना कार्यकर्ताहरूलाई सशक्त, इमान्दार, सदाचार, अनुशासित कसरी बनाउन सकिन्छ भन्ने तर्फ ध्यान दिएनन् । पार्टीमा केवल अराजक र अनुशासनहिन भिड जम्मा गर्ने प्रवृत्ति रह्यो ।

पछिल्लो चरणमा माओवादीले गरे जस्तै ०४६ सालको राजनीतिक परिवर्तन पछि नेपाली काँग्रेस लगायतका दलहरूले जस्तो सुकै पृष्ठभूमिका मानिसलाई पनि पार्टीमा प्रवेश गराउँदा, प्रवेश गएका मानिसहरूलाई पार्टीले अंगिकार गरेको विचार, दर्शन, सिद्धान्त र कार्यक्रम आदिका वारेमा यथोचित रूपमा प्रशिक्षित नगरिंदा, पार्टी सत्ता केन्द्रीत मात्र भैदिंदा, पार्टीको केन्द्रीय सरकार, संसद, जिल्ला विकास समिति, नगर पालिका, गा.वि.स. आदिमा निर्वाचित भएर जानेहरूको पार्टीबाट यथोचित रूपमा नियन्त्रण एवम समन्वय गर्ने पद्धति नहुँदा वा नगरिंदा, पार्टीबाट प्रतिनिधित्व गर्दै विभिन्न लाभको पदमा जानेहरूलाई पार्टीबाट सामान्य नियन्त्रण वा समन्वय नहुँदा अराजक, स्वेच्छाचारी, अनुशासनहिन, व्यभिचारी, दुराचारी एवम् भ्रष्टाचारी प्रवत्तिले प्रश्रय पाउन गई कार्यकर्ता पङ्ति कमजोर हुन पुगेको यथार्थलाई दलहरूले स्वीकार गर्नै पर्दछ ।

१०. स्थानीय निकायको अलावा स्थानीय स्तरमा खानेपानी आयोजना, लघु विद्युत, सामुदायिक बन, विद्यालय व्यवस्थापन समिति लगायत विभिन्न उपभोक्ता समिति निर्माणमा पनि पार्टी निकाय त्यत्तिकै चनाखो हुन सक्यो, त्यस समितिहरुमा पार्टीको सशक्त उपस्थिति रहन सक्यो, योग्य, इमान्दार कार्यकर्ताले प्रतिनिधित्व गर्ने अवसर पाए भने मात्र स्थानीय स्तरमा पार्टी लोकप्रिय बन्ने थियो तर दुर्भाग्य यसो हुन सकेको छैन ।

११. राजनीतिक दलहरूको आर्थिक मामिला त्यति पारदर्शीता छैन भने पार्टीले वितरण गर्ने सांसद लगायत विभिन्न राजनीतिक निकायको निर्वाचनका लागि वितरण गर्ने टिकटमा खुल्लमखुल्ला रूपमा नगदको प्रभाव रहने, समानुपातिक सांसद लगायत राजनीतिक नियुक्तिमा हुने आर्थिक चलखेल र लेनदेनले राजनीतिलाई कम प्रदुषित गरिरहेको छैन ।

संविधानसभाबाट संविधान जारी भए पछि संविधान अनुसार पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । त्यसै गरी देश संविधान बमोजिम पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सम्मूख आइपुगेको छ । मंसीर १० गते पहिलो चरणमा हुने निर्वाचनको मनोनयन पछि दलहरू प्रचारप्रसारमा लागेका छन् भने, मंसीर २१ गते हुने दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवारको टुङ्गो लगाउन व्यस्त छन् ।

स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार चयन गर्दा असल मानिसको खोजि भन्दा पैसा खर्च गर्न सक्नेको खोजि भएको थियो भने अहिले प्रतिनिधिसभा र प्रदेशसभामा पनि सदाचारी, सादगी, निष्ठावान, योग्य, प्रतिस्पर्धी उम्मेदवार खोज्ने भन्दा पैसा खर्च गर्न सक्नेकै खोजी भैरहेको देखिन्छ । यो कुरा यो वा त्यो दलमा नभएर सबै दलमा देखिएको समस्या हो । जसले गर्दा सिङ्गो राजनीतिलाई भ्रष्ट बाटोमा धकेलिरहेको छ ।

उल्लेखित विविध कारणबाट नै आज नेपाली राजनीति यति विघ्न बद्नाम भैरहेको छ । जसको कारणले राजनीतिबाट सम्मान र मर्यादा हराएको छ । राजनीति प्रति जनता निरास छन् । परिणाम मुलुकको राजनीतिक भविष्य अन्योल र अनिश्चित बनेको छ । राजनीतिबाट आम जनतामा हराउँदै गएको विश्वास, सम्मान र मर्यादालाई कायम राख्दै राजनीतिलाई जनतामा लोकप्रिय बनाइराख्न, राजनीतिलाई जनमुखी, सेवामुखी र मर्यादिन एवम सम्मानित बनाउन सरकार, राजनीतिक दल र आम नागरिकको प्रभावकारी प्रयास र राष्ट्रिय अभियानको खाँचो छ ।

(ख) सदाचार कार्यकर्ता पङ्ति निर्माण

१. कुनै पनि राजनीतिक दलको सिद्धान्त, नीति, वैचारिक पक्ष र कार्यक्रम अत्यन्त सवल छ, पार्टीको संगठन सुदृढ छ, पार्टीको कार्यकर्ता पङ्ति पनि जनताका समस्या र विकास निर्माणका काम प्रति सक्रियतापूर्वक लाग्दछन् तर पार्टीको नेतृत्व र कार्यकर्ता पङ्तिको चरित्र स्वच्छ छैन, तीनका जीवन शैली सरल र सदाचारी छैन भने त्यो पार्टी आम जनताका बीचमा लोकप्रिय बन्न सक्दैन । वर्तमान नेपाली राजनीतिमा प्रायः सबै राजनीतिक दल यो समस्याबाट ग्रस्त छन् । राजनीतिक दलहरु जनता बीच लोकप्रिय हुन नसकेको कारणबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्थाले स्थायित्व पाउन सकिरहेको छैन ।

नेपालमा प्रजातन्त्रको स्थायित्व, मानव अधिकार, स्वतन्त्र न्याय पद्धति, प्रेस स्वतन्त्रता लगायत प्रजातान्त्रिक मूल्य र मानयतालाई जगेर्ना गर्दै राजनीतिक स्थायित्व कायम गरेर देशलाई समृद्धिको बाटोमा लैजान जनताका प्रतिनिधिका रुपमा काम गर्ने र बहुदलीय राजनीतिक पद्धतिमा अनिवार्य मानिने राजनीतिक दलको क्रियाकलाप पारदर्शी र स्वच्छ हुनु पर्छ भने दलका नेता तथा कार्यकर्ताको चरित्र, आचरण र व्यवहार स्वच्छ, सदाचारी, इमान्दार र अनुशासित हुनु जरुरी छ । तर राजनीतिक दलहरूमा यसो हुन सकेको छैन, जसको कारणबाट राजनीति अत्यन्त बद्नाम भैरहेको छ । आम जनता राजनीतिको बेथितिबाट चरम निरास भैरहेका छन् ।

२. समाजमा प्रजातान्त्रिक संस्कार र संस्कृतिको विकास गर्दै प्रजातन्त्रको सुदृढता र स्थायित्वका लागि राजनीतिक दल र तीनका कार्यकर्ताको चरित्र र व्यवहार सदाचारी भएर मात्र पुग्दैन । आम जनता र समाज पनि त्यति कै संस्कारयुक्त, सदाचार हुन जरुरी हुन्छ । समाजको स्तर र चरित्र जस्तो छ त्यसको प्रभाव व्यापारी–व्यवसायी, प्रहरी, सेना, कर्मचारी र राजनीतिज्ञ र आम कार्यकर्ताहरुमा पनि त्यस्तै पर्नु स्वाभाविक हो । समाजको स्तर सुधार गर्न, नैतिक मूल्य र मान्यता उच्च गर्नका लागि नैतिक एवम चारित्रिक शिक्षामा जोड दिनु जरुरी भएको छ ।

३. राजनीतिक दल र तीनका नेता तथा कार्यकर्तालाई नैतिक एवम सदाचार बनाउनको लागि सर्वप्रथम सदाचार र दुराचार के हो ? भन्ने विषयमा चर्चा गर्न जरुरी हुन्छ । आचारको विभिन्न अङ्ग जस्तै सदाचार वा दुराचारको मानव जीवनसङ्गको अन्तर सम्बन्धको विश्लेषण गर्नु भन्दा पहिले यो मूल प्रश्नको उत्तर खोज्न जरूरी देखिन्छ । ‘म को हु‘ ?’, ‘म कहॉबाट आए‘ ?’, ‘मेरो गन्तव्य के हो ?’, ‘मेरो जीवनको उदेश्य के हो ?’, ‘मेरो कर्तव्य के हो ?’, ‘म को प्रति उत्तरदायी छु ?’ ईत्यादी प्रश्नहरुको उत्तर खोज्न हामी मध्ये धेरैले खास प्रयास गरेका हुँदैनौं । खान–पान, सुख–सयल र अन्य भौतिक उपलब्धिहरु प्राप्त गर्ने भाग–दौडमा अनेकौं उचित वा अनुचित हथकण्डा अपनाउँछौं । मानिसका सबै प्रयत्नहरु जसरी पनि धन–सम्पति र सामाजिक वैभव प्राप्त गर्ने तर्फ अभिप्रेरित भएका हुन्छन् ।

४. मनुष्य प्रकृतीको सर्बश्रेष्ठ प्राणी हो भन्ने कुरामा दुई मत छैन । आस्तिकहरु हामी संसारमा परमेश्वरको अनुकम्पाबाट सञ्चित कर्मको कारणले गर्दा प्रारब्द भोग गर्न तथा परमार्थ सुधारका लागि एक अवसर पाएर आएका छौं भन्ने मान्यता राख्दछन् । नास्तिकहरु जीवन र जगतलाई प्रकृती कै सुन्दर उपहार मान्दछन् ।

विश्वास जे सुकै राखे तापनि चेतनशील मानव जाती खान–पिउन, सुत्न, बाल–बच्चा जन्माउन र एक दिन मरेर जान मात्र पैदा भएको प्राणी होइन । मानव भएर जन्मिए पछि परिवार, समाज र राष्ट्र र समग्र पृथ्बीका लागि मानवको कर्तव्य र दायित्वहरू छन् ।

त्यसको लागि मानवले आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्नै पर्दछ । समाज र राष्ट्रको त्यही दायित्व निर्वाह गर्ने क्रममा हामी एउटा समान विचार, सिद्धान्त र नीतिलाई अंगाल्नेहरू नै निश्चित राजनीतिक विचारधारालाई स्वीकार गर्दै कुनै एउटा दलको सदस्य भएका हुन्छौं, संगठनमा लागेका हुन्छौं । यो महान उद्देश्य बोकेर राजनीति र समाज सेवामा सपर्पित भएर लागेका राजनीतिक कर्मीहरू समाजका लागि उदारण भएर प्रस्तुत हुनसक्नु पर्छ । भड्किलो जीवन शैली अपनाउन हुँदैन । हाम्रो जीवन, चरित्र र व्यवहार सदाचार हुन जरूरी छ । त्यसका लागि सबै भन्दा पहिले राजनीतिक कर्मीहरूले आचार के हो ?, सदाचार र दुराचार के हो ?, आदिको वारेमा जान्नु–बुझ्नु त्यत्तिकै जरूरी छ ।

(ग) आचार के हो ?

राजनीतिक दलका कार्यकर्ताले आँफू सदाचारी बन्नका लागि सर्वप्रथम आचार के हो ?, सदाचार के हो ?, व्यभिचार, दुराचार वा भ्रष्टाचार के हो ? भनेर बुझ्न जरुरी छ । मानिसले कुनै पनि पराक्रम गर्न पहिलो र मूख्य साधन नै आफ्नो शरीर, वुद्धि एवम् विवेक हो । स्थूल शरीर अर्थात पञ्चतत्वले बनेको .......मन–बुद्धि–अहङ्कार रुपी सुक्ष्म शरीर अन्तःकरण वा चित्तको अधिनमा हुन्छ भनिन्छ । मन–बुद्धि–अहङ्कारको अनुभव गर्न सकिने सँङ्केतिक चरित्र ब्यक्तिको आचार हो ।

आचार तीन प्रकारको हुन्छ – वाक्यचार (speech), स्वभावाचार , व्यवहाराचार (habit) । यी सबै मिलेर मानिसको चरित्र (conduct) बन्दछ । आचारलाई धर्म ग्रन्थहरुले परम् धर्मको संज्ञा दिएका छन् । आचारको सत् रुप सदाचार हो र असत् रुप दुराचार, व्यभिचार र भ्रष्टाचार हुन् । आचारलाई सभ्यता र संस्कृतिको परिपे्रक्षमा ठूलो महत्व दिइएको छ । आचार नै मनुष्यको आभूषण र महान रक्षक हो । सदाचारबाट आर्जित धनको पनि सुरक्षा हुन्छ । मनुष्यको उत्थान र पतन उसको आचारमा भर पर्दछ । जो व्यक्ति आचारहीन अर्थात चरित्रहीन हुन्छ उसको जीवन दुःख, चिन्ता, अशान्ति र समस्याहरुले भरिएको हुन्छ ।

दुराचारी र भ्रष्टाचारी जीवन एक अभिशाप हो, बद्नाम हो । आफ्नो कल्याण चाहने व्यक्तिले स‘धै सदाचारी हुनु पर्दछ । धन न्यायोचित तरिकाबाट मात्र कमाउनु पर्छ । अनैतिक तरिकाबाट कमाएको धन राजनीति र समाजसेवामा लगाउन अचित हुदैन । त्यस्तो धन धार्मिक कार्यमा झन लगाउनु हुदैन । यस्तो गर्नु औषधिको ठाउ‘मा विष–पान गरे बराबर हुन्छ । धन–दौलत, मान–सम्मान भन्दा चरित्र नै जीवनको कवच हो ।

भोगवृत्ति, तृष्णा, स्वार्थ, अभिमान सदाचारको मार्गमा अवरोधहरु हुन् । यी भावनाहरुको उत्पत्तिको थलो मानिसको मन हो, जो अत्यन्त चञ्चल र परिवर्तनशील हुन्छ । काम, क्रोध, लोभ, मोह, राग र द्वेषले ओतप्रोत मनले निरन्तर व्यक्तिलाई कुबाटोतिर लैजान प्रयत्न गरिरहेको हुन्छ । मनलाई निरन्तर अभ्यास र वैराग्य–भाव द्वारा नियन्त्रित गरी सदाचारको मार्गलाई फराकिलो बनाएर चरित्र सुधार गर्न राजनीतिक कर्मीहरू सदा प्रयत्नशील रहनु पर्छ ।

(घ) चरित्र – निर्माण कसरी गर्ने ?

१. चरित्र निर्माण सदाचारको जग हो । राष्ट्र निर्माणमा चरित्र निर्माणको ठूलो स्थान छ । नागरिक समाज सदाचारी भयो भने दिगो विकासको संभावना बढ्दछ ।

जीवनका आधारभूत मूल्य–मान्यता (fundamental human values) चरित्र निर्माणको महत्वपूर्ण पूर्वाधार हुन् । यीनलाई तीन भागमा वर्गिकृत गर्न सकिन्छ– नैतिक मूल्य–मान्यता (moral values), बौद्धिक मूल्य मान्यता (intellectual values) तथा आध्यात्मिक मूल्य–मान्यता (spritual values) । आजको समाजमा यी मूल्य–मान्यताहरु क्रमशः ह्रासोन्मुख भएर गैरहेका छन् । यसले गर्दा सामाजिक विसङ्गति, विकृति, अपराध र असुरक्षा पनि त्यत्तिकै बढ्दै गैरहेका छन् र यसबाट मुलुकको राजनीति नराम्रोसंग प्रभावित छ । राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण यसैको परिणाम हो ।

२. चरित्र निर्माणको प्रक्रियालाई विभिन्न स्तरबाट शुरु गर्न सकिन्छ । पहिलो चरणमा व्यक्तिले स्वयम आफ्नो सुधार गर्नु पर्दछ । अरुको एउटा सानो खोट पनि देख्ने तर आफ्नो ठूला–ठूला दुराचारी प्रवृतिलाई पनि देख्यानदेख्यै गर्न हुदैन । जुन वस्तु तात्कालिक रुपमा प्रिय छ, त्यो मात्र अपनाएर अन्य कल्याणकारी एवम् सदाचारी आचारहरुलाई त्याग्न हुदैन । भगवान बुद्ध द्वारा प्रतिपादित पञ्चशील र अष्टाङ्ग–मार्ग तथा योग–सुत्रले बताएका यस नियमहरुलाई चरित्र निर्माणको आदर्शको रुपमा लिनु पर्दछ र जीवन दर्शनको अभिन्न अङ्गको रुपमा अपनाउनु पर्दछ ।

३. व्यक्ति पछि परिवार नै चरित्र–निर्माणको अर्को महत्वपूर्ण प्राथमिक पाठशाला हो । शिशुको मस्तिष्क कोरा कागज जस्तो हुन्छ । माता–पिताको व्यवहार र चरित्रको छाप बाल–बालिकाको मस्तिष्कमा संस्कारको रुपमा मौलाउ‘दै जान्छ, त्यस कारण माता–पिता र परिवारका अन्य सदस्यहरुले पनि सदाचारी जीवनको आदर्श आप्mना छोरा–छोरीको सन्मुख प्रस्तुत गर्नु पर्छ । कुनै पनि माता–पिता आफ्ना बाल–बालिका भविष्यमा दुराचारी, व्यभिचारी वा भ्रष्टाचारी बनुन्, दुनियाँका सामु बद्नाम होउन भन्ने चाहँदैनन् । आफ्ना सन्तानलाई सुयोग्य नागरिक बनाउन त्यसको प्रत्याभूति केवल माता–पिताको सदाचारमा निर्भर गर्दछ । आफ्नो सन्तानलाई आमा–बाबुले दिने सबभन्दा ठुलो उपहार सदाचार नै हो ।

४. सामाजिक स्तरमा सदाचार प्रवद्धनकालागि चेतनामूलक कार्यक्रमहरुलाई बढावा दिनु पर्छ । मितव्ययिता र आत्म–सन्तोष जस्ता सत्गुणहरुलाई फस्टाउन दिन उचित वातावरणको सृजना गर्नु पर्छ । चाडबाडमा तडक–भडक, म‘हगो उपहार दिने र फजुल खर्ची जस्ता विसङ्गति र सामाजिक कुरीतिहरुलाई शिक्षा द्वारा तथा आवश्यक परे थप कानूनको तर्जुमा वा कानूनको सुधार गरी अस्वाभाविक तडक–भडक र फजुल खर्च गर्ने प्रवृत्तिलाई घटाउ‘दै लैजाने तर्फ सशक्त पाइलाहरु चालिनु पर्छ । सामाजिक आडम्बरकालागि बढी खर्च गर्ने प्रवृतिले धन–लोलुपता बढाउ‘छ र त्यसले भ्रष्टाचारलाई प्रश्रय दिन्छ । राजनीतिक दलहरूले जनतामा पार्टीको छविलाई स्वच्छ राख्न अनैतिक, असामाजिक एवम् आपराधिक प्रवृत्ति भएको, खराव आचरण भएको र भ्रष्ट व्यक्तिहरूलाई स्थान दिन हुँदैन । इमान्दार, स्वच्छ चरित्र भएका सदाचारी र इमान्दार व्यक्तिहरूलाई पार्टीमा अवसर दिनु पर्दछ जसले गर्दा जनतामा पार्टीको छवि उच्च हुन सकोस् ।

५. व्यक्ति, समाज र सिङ्गो राष्ट्रलाई चरित्रहीनताको चङ्गुलबाट मुक्त गर्न एकातिर दुराचारी र भ्रष्टाचारीहरुलाई दण्डित गर्नु पर्छ भने अर्कोतिर चरित्रहीनताको संस्थागत संरचनालाई जरै देखि उखेल्नका लागि विभिन्न स्तरमा रणनीतिहरु अपनाउनु पर्दछ । सदाचारी समाजको सृजना र दुराचार÷भ्रष्टाचारको उन्मुलनको प्रक्रिया निरन्तर, नियमित र स्थायी रुपमा चली रहनु पर्छ । यस्तो व्यवस्था मिलाउनु पर्ने राज्यको जिम्मेवारी हो र राजनीतिक दलहरु यस विषय प्रति सबै भन्दा बढि गंभीर हुन जरुरी छ साथै आम नागरिकले पनि यस्तो अभियानमा सहयोग र सहभागिता देखाउनु पर्दछ । एउटा वा यदाकदा गरिने आन्दोलनकारी जमर्कोले मात्र राम–राज्य स्थापित हुन सक्तैन । यसका लागि सरकार, राजनीतिक दल आम नागरिकहरुको इमान्दार एवम् निरन्तर प्रयासको आँचो छ ।

(ङ) धन–सम्पति कति र कसरी ?

१. वर्तमान उपभोक्तावादी युगमा धन–सम्पति नभई कुनै पनि कार्य सम्पादन हुन सक्दैन, जीवन निर्वाह गर्न धन–सम्पति नभै हुँदैन । राजनीति गर्नका लागि पनि धन नभै हुँदैन । सामाजिक एवम धार्मिक क्रियाकलापको लागि पनि केही न केही धन नभई हु‘दैन । धन–सम्पति सबैलाई सबै प्रयोजनमा नभैहुन्न तर प्रश्न उठ्छ, कति धन चाहिन्छ ?, दुनियाको यथार्थ के हो भने मानिसलाई धन जति भए पनि पुग्दैन, यस प्रतिको तृष्णाको कुनै सीमा हु‘दैन । त्यस कारण यो तृष्णालाई हामीले विवेकपूर्वक नियन्त्रणमा राख्न सक्नु पर्छ । धनलाई आफ्नो स्वामी हैन बरु सेवक बनाएर राख्नुपर्छ । आफूले आर्जन गरेको सबै धनलाई मानवीय धरोहरको रुपमा लिनु पर्छ र त्यो धनको त्यागपूर्वक भोग गर्नु पर्छ साथै अरुको हक लाग्ने धन कहिले पनि अपहरण गर्नु हु‘दैन । इमान्दारीबाट कमाएको धनले कोही पनि मानिस छोटो अवधिमा एक्कासी धनी हु‘दैन । अल्प समयमा धेरै धनी हुने कोही पनि प्रायः निर्दोष हुन सक्तैन । ईमान्दारीपूर्वक परिश्रम गरेर कमाएको धन मात्र सुख दिने र स्थायी हुन्छ ।

बेईमानी र भ्रष्टाचारबाट कमाएको धन छिटो नास हुन्छ र केही समय रह‘दा पनि यस्तो धनले मानिसलाई दुःख र क्लेष मात्र दिइरहन्छ । बेईमानीबाट धन कमाउन डर र त्रासको वातावरणमा जीउनु पर्छ र खतरनाक जोखिमहरु पनि उठाउनु पर्छ । यसरी कमाएको धनलाई जोगाएर राख्न पनि अत्यन्त मानसिक तनाव र त्रास भैरहन्छ । यस्तो धन खर्च गर्न पनि डराउनु पर्छ किन कि कसैले कालो करतुतको सुइ‘ंको नपाउन् भनेर, साथै चोरियो र मासियो भने त निश्चय नै दुःख र पीडाको अनुभव हुने नै भयो ।

२. राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पनि आफ्नो राजनीतिक क्रियाकलापलाई जीवन्त राख्न धन चाहिन्छ । राजनीतिक दलका नेता र कार्यकर्ताले संगठनलाई चलाउन जोबाट पनि जस्तो सुकै चरित्रका मानिस वा कम्पनीबाट चन्दा लियौं भने त्यसले पार्टीलाई बद्नामी गर्दछ । चन्दा लिंदा पारदर्शी र स्वच्छ ढङ्गले लिनु पर्छ । दलहरु जनताबाट बन्ने राजनीतिक संगठन भएकोले जनताबाट स्वेच्छापूर्वक आस्थाका आधारमा कुनै व्यक्तिगत स्वार्थ नराखेर दिइने चन्दा वा सहयोगलाई स्वीकार गर्नु पर्दछ । व्यक्ति र संस्थाले आफ्नो स्वार्थ सिद्ध गर्न कै लागि दुरासयबाट दिने चन्दा स्वीकार गर्नु हुँदैन । त्यसैले पार्टीले संगठन चलाउनका लागि चन्दा लिंदा विचार पु-याउनु जरुरी छ ।

३. राजनीतिक दल बहुदलीय शासन पद्धतिमा अनिवार्य अङ्ग हुन् । यिनीहरू पटक पटक जनताको कठघरामा उभिएर जनताबाट अनुमोदित भएर आएका एक प्रकारको वैधानिक निकाय हुन् । यिनीहरू वैधानिक निकाय भएकोले राजनीतिक दलहरू सञ्चालन गर्नका लागि राज्यले आर्थिक लगायतको सहयोग गर्नु वाञ्छनीय हुन्छ ।

दुनीयाका कतिपय देशमा पछिल्लो निर्वाचनमा पाएको मतको अनुपातमा राज्य कोषबाट दलहरूलाई बजेटको व्यवस्था गर्ने प्रचलन रहेको उदाहरण पाइन्छ । यसबाट राजनीतिक दललाई स्वच्छ, इमान्दार र पारदर्शी हुन अभिप्रेरित गर्दछ र दल चलाउन कै लागि अवाञ्छित रूपमा जनतामा बलपूर्वक चन्दा लिने प्रवृत्तिलाई कम गर्दछ ।

४. कार्यकर्ताहरु पार्टीमा संलग्न हुँदा राजनीतिलाई नै पेशा बनाउने खराव प्रवृत्तिले पनि कार्यकर्ताहरुलाई सदाचार नवनाई दुराचारी, व्यभिचारी र भ्रष्टाचारी बनाइरहेको छ । पार्टीमा लागेको कार्यकर्ताले चन्दा कै भरमा आफ्नो राजनीतिक क्रियाकलाप मात्र होइन आफ्नो सम्पूर्ण घर व्यवहार नै चलाउने प्रवृतिले नै नेपाली राजनीतिलाई यति बिघ्न भ्रष्ट बनाएको छ । राजनीतिक व्यक्तित्वहरु सार्वजनिक पदमा पुग्ना साथ काम गर्ने भन्दा आफ्नै बन्दोवस्ती गर्ने धन्दामा व्यस्त हुन्छन् । नेपाली राजनीतिको तितो यथार्थ यही हो ।

त्यसैले पार्टीलाई जनताका नजरमा स्वच्छ र पारदर्शी बनाउने हो र कार्यकर्ता पङ्तिलाई सदाचारी, सत्चरित्र र इमान्दार बनाउने हो भने राजनीतिक दलका कार्यकर्ताहरुले कुनै न कुनै कानूनी तरिकाबाट आय आर्जन गर्ने काम पनि संगसंगै गर्न जरुरी छ । त्यस तर्फ कार्यकर्तालाई प्रेरित गर्न पार्टी संगठनले सशक्त भूमिका खेल्न जरुरी छ । आफ्नै खुट्टामा उभिए राजनीति गर्दा स्वाभिमानी, नैतिकवान र इमान्दार कार्यकर्ता पङ्ति तयार हुन्छ, जसले पार्टी संगठनलाई जनतामा लोकप्रिय बनाइराख्छ र राजनीतिलाई मर्यादित एवम् सम्मानित बनाउन प्रेरित गर्दछ ।

निष्कर्ष

१. राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई आर्थिक अनियमितता र भ्रष्टाचारबाट टाढै राख्नका लागि पार्टीका कार्यकर्ताको व्यक्तिगत, पारिवारिक विवरण सहित सम्पति विवरणको प्रोफाइल बनाउन जरूरी भएको छ । यसरी प्रोफाइल तयार गरेमा कार्यकर्ताले वैधानिक वा अवैधानिक कसरी सम्पति आर्जन गरिरहेको छ भनि बुझ्न र सार्वजनिक पद धारण गर्दा पनि आर्थिक अनुशासनमा राख्नका लागि मद्दत गर्दछ । यसका लागि पार्टीले छुट्टै विभाग नै गठन गरेर व्यवस्थित पद्धति बनाएर नियमित गर्न सक्दछ ।

२. पार्टीहरूले आफ्ना सदस्यलाई आर्थिक पारदर्शीता र अनुशासनमा राख्न विशेष कार्यक्रम बनाउनै पर्दछ । चन्दा असुलेर, होनीअहोनी काम गरेर राजनीति चलाउने वा परिवार चलाउने प्रवृत्ति पार्टी भित्र बन्द हुनै पर्छ । कार्यकर्ता जम्मा गर्ने नाममा पार्टीमा वेरोजगार युवा पङ्तिको भिड जम्मा गर्ने ठाउँ बन्नुहुन्न । कार्यकर्ताले स्थायी लेखा नम्बर लिने र राज्यलाई कर तिरेको रसिद पार्टीलाई बुझाउने व्यवस्था गरिनु पर्छ ।

३. कार्यकर्तालाई उत्पादनशील व्यवसाय एवम् सिर्जनशील काम, पेशा, व्यवसाय वा निश्चित वैधानिक आय स्रोतका काममा लाग्नका लागि पार्टीले सधै अभिप्रेरित गर्नु पर्छ । आफ्नै खुट्टामा उभिन सक्ने कार्यकर्ता मात्र स्वाभिमान र इमान्दार भएर निष्ठापूर्वक पार्टीको सेवामा लाग्न सक्छन् । दलहरूले यस तर्फ ध्यान दिन जरूरी छ ।

४. नेपालका राजनीतिक दलहरूको आर्थिक मामिला त्यति पारदर्शी छैन, आर्थिक मामिला पारदर्शी एवम् स्वच्छ नहुदा नै दलहरू जनतामा बद्नाम भएका छन् । यसलाई स्वच्छ एवम् पारदर्शी ढङ्गले व्यवस्थापन गर्न आवश्यक छ । केन्द्र, जिल्ला, क्षेत्र र नगर समितिहरूले अनिवार्य रूपमा चन्दा संकलन, अन्य आय र खर्चको हरहिसाव दुरूस्त राखी रजिष्टर्ड अडिटरबाट लेखा परिक्षण गर्ने परिपार्टी बसाल्न आवश्यक छ । हाल निर्वाचन आयोगलाई लेखापरिक्षण प्रतिवेदन बुझाउनु पर्ने प्रावधानले लटरपटरसंग केन्द्रको अडिट गर्ने गरिएको छ । जिल्ला र मातहतका पार्टी समितिहरूको अडिट गर्ने परिपार्टी कुनै पनि पार्टीमा छैन । यसलाई कानून द्वारा नै अनिवार्य गरिनु पर्दछ ।

५. पार्टी सदस्यबाट उठेको सदस्यता शुल्क वा लेबीको निश्चित रकमबाट हरेक राजनीतिक दलले एउटा कार्यकर्ता संरक्षण कोषको स्थापना गरिनु पर्दछ । आर्थिक दृष्टिले विपन्न वर्गका पार्टी कार्यकर्ता वा उसको परिवारलाई क्यान्सर, किड्नी फेल, मुटु रोग जस्तो प्राण घातक रोग लागेको अवस्थामा उपचार खर्च स्वरूप सहयोग गर्न र ठुला आगजनी, बाडी, पहिरो, भुकम्प लगायतको प्रकृतिक विपत्ति परेको अवस्थामा सहयोग गर्न त्यो कोषको सदुपयोग हुनेछ । यस्तो कार्यक्रमले पनि कार्यकर्तालाई सदाचारी बाटोमा लाग्न अभिप्रेरित गर्दछ ।

६. आर्थिक अनियमितता, भ्रष्टाचार, व्यभिचार वा दुराचार जस्ता गलत क्रियाकलापमा लम्पट हुनेलाई पार्टी सदस्य बन्न नपाइने, कुनै लाभको पद वा राजनीतिक नियुक्त गर्न नपाइने कुरालाई कानूनले नै सुनिश्चित गर्ने पद्धति बसाल्न जरूरी भएको छ ।

७. राजनीतिक नेता वा कार्यकर्ता कुनै सरकार, संसद वा कुनै पनि सरकारी वा सार्वजनिक पदमा रहँदा गर्ने भ्रष्टाचारलाई कार्वाही गर्न दह्रो कानूनको निर्माण र भ्रष्टाचार सम्वन्धमा काम गर्न र कारवाही गर्न अडा भएका सरकारी निकायको सामथ्र्य र प्रभावकारीता अभिबृद्धि गर्न जरूरी देखिएको छ ।

माथि उल्लेख गरिए अनुसार सरकार, राजनीतिक दल र आम नागरिकले राजनीतिलाई साँच्चिकै मर्यादित र सम्मानित बनाउँछौं भनेर इमान्दारीपूर्वक सहकार्य गर्दै प्रभावकारी प्रयास गर्ने हो भने राजनीतिबाट हराउँदै गएको मार्यादा र सम्मानलाई स्थापित गर्न सकिन्छ । जनतामा राजनीतिलाई लोकप्रिय बनाउन सकिन्छ । देशको राजनीतिक भविष्य प्रति आशावादी हुन सकिन्छ । कात्तिक १४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस