विश्लेषण : आलेख

‘विवेकशील साझा’, नाममा कि काममा ?


दलहरु जुटनु र फुटनु नेपालको एक स्थायी विशेषता नै हो । काठमाडौको मेयरमा सोचे जति राम्रो परिणाम हात नलागेको साझा पार्टी र सोचेभन्दा राम्रो परिणाम पाएको विवेकशील पार्टी एकिकरणपछि विवेकशिल साझाको नामबाट अहिलेको चुनावमा होमिदैछ ।

महानगरको चुनावमा तेश्रो र चौथो भएका यी दुबैलाई प्राप्त मतलाई जोड्ने हो भने त्यो धेरै प्रकारले निर्णयक देखिन्थ्यो । विजयी नै नभए पनि राजनीतिमा भरखरै आएका नयाँ शक्तिहरुका लागि त्यो मत उत्साहाप्रद थियो । नागरिकले केही नयाँ चाहेका छन् भन्ने तर्कलाई ठोस आधार दिन्थ्यो ।

पुरानै पार्टी र सोचको राजनीतिको म्याद समाप्त भएको अनि नयाँ देश निर्माणार्थ बैकल्पिक शक्ति आवस्यक रहेको उनीहरुकोे तर्कलाई सधाउँथ्यो । सामाजिक संजालको केही चर्चा बाहेक ती पार्टीको अन्य खासै गतिविधिचाहिँ थिएनन् । पुर्ण दस्तावेज, संगठनात्मक संरचना केही नभएरै पनि उनीहरुको सफलता मनन योग्य थियो ।

फ्रान्समा एक वर्ष अधिमात्र स्थापना भएको पार्टी एन मासका इम्यानुएल म्याक्रोले ३९ वर्षको उमेरमा नै राष्ट्रपतिको चुनाव जिते । सायद विश्वाससाथ प्रयास गरे नेपालमा पनि नवनिर्मित शक्तिहरुलाई सफलता मिल्थ्यो । अहिले सम्मका सबै परीक्षणहरु असफल भएकाले देशको विकासमा केही नयाँ चाहिएकोचाहिँ सत्य हो ।

उनीहरुले साच्चै यही दर्शनलाई साझा नीति बनाएर राजनीति गर्न थालेका भए र वृहत कार्यक्रम ल्याए अहिलेको चुनावमा केही सफलता हात लाग्न सक्ला । तर दुई फरकदलबाट एक भएको नयाँ पार्टीले विगतको असफलता, विश्व अभ्यास र नागरिकका आशा निराशाका प्रत्येक अवयवहरु केलाउदै परिवर्तनका लागि राजनीतिको अर्थ र यथार्थ बुझ्नुपर्छ ।

अर्थ र यथार्थ

बैकल्पिक शक्ति मार्फत युवाहरुलाई राजनीतिमा आकर्षण गराउने उनीहरुकोे प्रयास सकारात्मक छ । हाम्रो औसत आयु ६७ वर्षको हाराहारीमा छ । एउटै मानिस उतरार्धसम्म राजनीतिमा रहन्छ । युवाहरुको न्युन उपस्थिति भएको राजनीतिले नागरिकको भावनालाई सहजीकरण गर्न सकिरहेको छैन ।

अमेरिकामा ओबामा ४६ वर्षमा राष्ट्रपति भएका थिए । ड्याभिड क्यामरुन ४३ मा बेलायतमा प्रधानमन्त्री बनेका थिए । जोसेफ काबिला ३० मा गणतन्त्र कंगोका राष्ट्रपति बने । बेलायतमा सन १७८३ मा वीलियम पिट २४ र १९०४ मा जोन वास्टन ३७ वर्षमा प्रधानमन्त्री बनेका थिए । सबैभन्दा धेरै आर्थिक र सामाजिक परिवर्तन गराएका लोकप्रिय अमेरिकी राष्ट्रपतिद्घय रुजभेल्ट ४२ र रेगन ४३ मा सत्तामा थिए । विकास नमुनामा एउटा सिद्घान्तनै प्रतिपादन गरेकी थ्याचर ५४ मा प्रधानमन्त्री थिईन । टोनी ब्लेयर ४२ मा प्रधानमन्त्री भए । ती देशहरुमा औसत आयु ८० माथि छ । जीवनको मध्य समय र सशक्त उर्जा भएका बेला उनीहरु सत्तामा थिए । सोच, जागर, क्षमता र समय पनि थियो ।

उर्जावान समयमा देशको लागि आप्mनो वुद्घि÷विवेक निकै रचनात्मक हिसाबले खर्चिए । देश बनाए, नाम कमाए, राजनीतिलाई देश र नागरिकाको लागि बनाए, सम्मान पाए । युवा नेतृत्व राजनीतिमा उत्पादक भएको देखिन्छ । युवाहरुको सघन वर्चश्व भएको राजनीति गतिशीलमात्र हैन सकारात्मक पनि हुन्छ । उनीहरुसँग जनताको लागि कामगर्ने क्षमता, सोच, अठोठ अनि नागरिक समर्थन समेत रहन्छ । हाम्रोमा समय, क्षमता, सोच र सार्मथ्य भएका युवाहरुलाई राजनीतिले आकर्षण गरिरहेको छैन । तसर्थ उनीहरुले नेपालीले उठाएका युवाहरुको बाहुल्यता रहने राजनीतिक बिचारको अभ्यास स्वागत योग्य छ ।

राजनीतिमा विभिन्न सेवा÷समुहका विज्ञ मानिसहरुको संम्लग्नता अर्को सकरात्मक कदम हो । निरन्तर अप्रवाधिक, अनविज्ञ मानिसहरुको प्रधानता रहदाँ राजनीतिले कहिल्यै देशलाई विकासको गतिमा दाँैडाउन सकेन । उनीहरुसँग भाषण गर्दै नारा घोकाएर, झण्डा बोकाएर जनतालाई वुद्घिविलासमा अल्मल्याउने कौशलताचाहिँ उच्च हुन्छ । तर कसरी विकासोन्मुख गतिविधिहरुको सघनता सम्भव बनाउने भन्ने प्राविधकि ज्ञान कम हुन्छ । तसर्थ राजनीतिमा विभिन्न क्षेत्रका विज्ञ मानिसहरुको पर्दापण आवस्यक छ, विश्व इतिहासमा यस्ता प्रशस्त उदाहरण छन् ।

सन् २००० तिर न्युयोर्कका प्रख्यात मेयर माईकल ब्लुमबर्ग, इटाँलीका सिल्भियो वर्लस्कुनी, फ्रान्सका सर्ज ड्यासल्ट, युईएईका खालिफा बीन जायद अल नायन, रुसका भ्लादिमिर पुटिन व्यपार र उद्यमका क्षेत्रबाट राजनीतिमा आएर सफल भए । विज्ञानमा ग्राजुएटेड भारतका ११ औँ राष्ट्रपति कलाम एरोनेटिक अनुसन्धानको जागिर छाडेर राजनीतिमा आए । सन १९९१ मा रुसका राष्ट्रपति भएका वोरिस योल्तसिन निर्माण कम्पनिका जागिरे थिए । फ्रान्कलिन डी रुजभेल्ट पत्रकारिता गर्थे ।

कुनै बेला मिन्नोसोट्टाका गर्भनर भएका जेसस भेन्तुरा फिल्म निर्देशक थिए । अमेरिकाको राजनीतिक अभ्यासमा पछिल्लो पटक वकिलको संख्या अधिक छ । आर्थिक विकासमा दुत्रगति लिएका चीन, जापान, कोरिया, भियतनाममा प्राध्यापक विद्घानहरुको राजनीतिक संलग्नता उच्च देखिन्छ । पाकिस्तानी राजनीतिमा चिनिएका इमरान खान क्रिकेटबाट राजनीतिमा गएका थिए । युक्रेनका बक्सिगं खेलाडी भित्ली क्लक्स अनि लाईबेरियाका फुटवल टिम प्रमुख जर्ज वोयको राजनीतिक पर्दापण पनि राम्रै भएको थियो ।

यसरी कुनै अन्य पेशागत क्षेत्रमा लामो समय काम गरेका मानिसहरु राजनीतिमा आउँदा कम्तिमा दुईवटा फाईदा हुन्छ । उनीहरुले आफ्नो जीविकोपार्जनको लागि देशको ढुकुटी दुरुपयोग गर्नुपर्दैन । अनि उनिहरुसँग आप्mनो क्षेत्रको दुत्रतर अभिवृधि गर्न प्रशस्त अनुभव र कौशलता हुन्छ । तसर्थ विभिन्न क्षेत्रबाट चमत्कारिक पात्र राजनीतिमा ल्याउने प्रयास हुन्छ । न्युजील्याण्डमा एक धनाड्य किम डटकमले पार्टी निर्माण गरे ।

भारतमा आम आद्मी, इटालीको इटाली प्रजातन्त्रीक पार्टी यसरी बनेका बैकल्पिक शक्तिका उदाहरण हुन् । दक्षिण अफ्रिकामा धातुका व्यवसायी इभिन जिमको नेतृत्वमा यस्तो शक्ति बनेको देखिन्छ । नेपालमा पनि सोच समुन्नत राष्ट्रको, सम्वृद्घि फाउन्डेशन, प्रबुद्घ संघ लगायतले यस्तो आवस्यकताको बहस चलाएकै छन् । राजनीति खाली अयोग्य र अहंकारी मानिसको जमातमात्र बन्न लागेको अवस्थामा अन्य क्षेत्रका प्राविधिक, विज्ञ र विश्वाशीला मानिसलाई समेट्ने कदम प्रशंशनीय नै छ । तर यी नवनिर्मित शक्तिहरुले भुराजनीतिक आवस्यकता र वास्तविकता बुझ्नु आवस्यक छ ।

वास्तविकता र आवश्यकता

नाममात्र साझा वा विवेकशील पार्टी हुनुलेचाहिँ खासै काम गर्दैन । देशमा आज साझा विवेकशीलताको उच्च आवस्यकता छ । साह्रै अपरिपक्व अनि अपरिचीत मानिसहरुको भिड वा अवकास प्राप्त कर्मचारीलाई आत्मसम्मान खोज्ने चाँैतारीमात्र बन्दाचाहिँ यस्ता शक्तिहरुको कुनै महत्व रहदैन । उनीहरुसँग देशको सामुल सकरात्मक परिवर्तनको योजना हुनुपर्छ । जनताका समस्या हलगर्ने अठोट र अभ्यास हुनुपर्छ ।

आज हाम्रा नजिकका छिमेकीहरु उदीयमान अर्थतन्त्र भैसके । सन १९८० ताका हामीभन्दा चार गुणा कमजोर आर्थिक अवस्था भएको थाईल्याण्ड आज हामीभन्दा ४ गुणा मजवुत छ । जापानको मुद्रा विनिमय स्तर पछिल्लो २० वर्ष झन्र्ड १० गुणा सवल भएको छ । कोरीयाको अवस्था अनुकरणीय छ । कतार तथा साउदी अरेबीयाका देशहरुका विकास हाम्रालागि ईष्यागर्न लायक छन् । त्यहाँको विकासलाई मानव निर्मित स्वर्ग भनिन्छ । छिमेकी चीन र भारत दुबै विशाल महत्वकांक्षी व्यपारिक परियोजना लिएर आएका छन् । एसियाका अधिकांश देशहरुले राजनीतिक विविधताका बागजुज दु्रत आर्थिक विकास गरे । आज उनीहरु संसारका सामरिक शक्ति बने ।

हामीले हेयपुर्वक भन्ने विहार आज भारतमा नमुना अर्थत्रन्त बन्दैछ । सिहांपुर सुवर्ण छ, तर हामी झनझन समस्यामा छौँ । युवा जति सबै हतार÷हतार खोरिया र खेत बेचेर कोरिया अनि कतार जाँदैछन् । हुने खाने युरोप र अमेरिका लाग्छन् । नागरिकले नयाँ पार्टीहरुमा सुक्ष्म रुपमा यस्तो प्रकारको साझा विवेकशीलता खोज्दैछन् कि उनीहरुसँग यो चरम निराशा चिर्दै युवाहरुमा आशा जगाउने र देशकै माटोमा पसिना बगाएर पौरख खन्याउन उत्प्रेरित गर्ने क्षमता हुनुपर्छ ।

कम्तिमा १० वर्षभित्र औसत आय ५००० हजार डलर र औसत आयु ८० बनोस् । रोजगारी प्रत्याभुति होस्, शिक्षाले चेतना र काँैशलता सिकाओस् । नेताले नौतिकता देखाउन् । गरिबी, बेरोजगारी, अन्याय, अत्यचार जस्ता शब्दहरु इतिहासको पाद टिप्पणीमा थन्किउन् । विप्रेशणमा नभै आप्mनै सार्मथ्यमा अर्थतन्त्र धानियोस् । देशभर कलकारखाना खुलुन्, मागेर हैन कमाएर खान सकियोस् । राज्यका कर्मचारी नागरिक प्रति सहयोगी बनुन् ।

भ्रस्टाचारमुक्त सुचीमा १३६ औँबाट पहिलो १० मा परोस् । देशका प्रत्येक क्षेत्रमा आर्थिक प्रगति र सामाजिक जिम्मवारीको उच्च बनोस् । उनीहरुको साझा विवेकशीलता भित्र यस्ता सपना सम्भव बनाउने ल्याकत हुनुपर्छ ।

अन्यथा, अरु सबै बेठिक छन् भन्नेमात्र आधारमा आफुहरुचाहिँ ठिक छौँ भन्ने निस्कर्ष निकाल्न मिल्दैन । यदि साच्चै विवेकशीलता, सोच अनि सपना समेत साझा भए उनीहरु छिट्टै आम नागरिकले आशा गर्न लायक हुन्छन् । जनताहरु राम्रा कार्यक्रमको पछि लाग्नेहुदाँ छिट्टै समर्थन पाउँछन् ।

तर खाली केही व्यक्तिहरुलाई अध्यक्ष बन्न वा प्रचारबाजीमा जानमात्र भए सायद उनीहरुको कुसाग्र वुद्घि र वीपुल प्रतिभा पनि गएको स्थानीय चुनावको नतिजासँगै स्वर्गवास हुनेछ । उनीहरुले सशक्त हिसावले सर्वोत्तम विवेकशील र साझाबाटो तय गर्नुपर्ने देखिन्छ ।

लेखक काठमाडौँ स्कुल अफ ल, भक्तपुरका सहप्राध्यापक हुन् । कात्तिक १५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस