सिनेमा

यी बलिउड फिल्मको क्लाइमेक्स एउटा थियो, रिलिज हुँदा अर्कै भयो

काठमाडौं, १७ कात्तिक — बलिउडमा यस्ता धेरै फिल्म छन् जसको क्लाइमेक्स हामीलाई मन पर्दैन वा त्यसको अन्त्य अझ राम्रो हुन सक्थ्यो भन्ने हामीलाई लाग्छ । तर केही फिल्मको अन्त्य स्क्रिप्टमा भएको भन्दा फरक पनि भएका छन् । यहाँ त्यस्ता पाँच फिल्मको कुरा गरिँदैछ । यी फिल्म हेर्नुभएको छैन भने यसभन्दा तलको सामग्री नपढ्नुहोला ।


शोले

सन् १९७५ मा रिलिज भएको रमेश सिप्पी निर्देशित फिल्ममा जय वीरु अनि ठाकुरले गब्बरलाई गोदेपछि प्रहरीकहाँ बुझाइन्छ । तर सलीम जावेदको लेखेको स्क्रिप्टमा ठाकुरले गब्बरलाई क्रूरतापूर्वक मारिदिन्छ । सेन्सर बोर्डले आपत्ति उठाएपछि फिल्मको क्लाइमेक्स परिवर्तन गरिएको थियो ।

आँखें
सन् २००२ मा आएको फिल्म आँखेंको क्लाइमेक्समा अमिताभ बच्चनले आफ्नो अपराध कबुलेर जेल जान्छन् र अक्षय कुमार तथा अर्जुन रामपालले सुष्मिताका भाइलाई रेखदेख गर्छन् । तर स्क्रिप्टमा चाहिँ अमिताभ प्रहरीलाई घूस दिएर बाहिर निस्कन्छन् र स्टेसनमा अक्षय अर्जुनलाई देखेर अब गेम शुरु हुन्छ भन्छन् । अनि उनीहरूले अमिताभलाई बन्दुक देखाउँछन् ।

पीके
आमिर खानको यो बहुचर्चित फिल्मको अन्त्यमा आमिर पृथ्वीबाट गएपछि रणवीर कपूरसँग फर्केर आएको देखाइन्छ । खासमा चाहिँ स्क्रिप्टमा अनुष्का शर्मा र सुशान्त राजपूतले ब्याट्री चार्ज गीत गाएपछि फिल्म सकिन्छ । टेस्ट स्क्रीनिङपछि यो बदल्ने निर्णय गरिएको थियो ।

दिल्ली ६
दिल्ली ६ को अन्त्य पनि बदलिएको हो । फिल्मको क्लाइमेक्समा अभिषेक बच्चन बाँच्छन् । तर राकेश ओमप्रकाश मेहराले स्क्रिप्टमा अभिषेकको मृत्यु लेखेका थिए ।

पिंक
सन् २०१६ मा आएको पिंकमा तीनैजना युवतीले न्याय पाउँछन् र आरोपितले सजाय पाउँछन् । तर स्क्रिप्टमा युवतीहरूले न्याय नपाएको लेखिएको थियो । फिल्मलाई मूल्यवान बनाउनका लागि क्लाइमेक्स चेन्ज गरिएको थियो ।

एजेन्सी

कात्तिक १७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस