खेलकुद

राजा वीरेन्द्रले भारतीय प्रधानमन्त्रीलाई लेखेको त्यो पत्र


मुलुकमा प्रजातन्त्रको आगमनपछि पनि राजा वीरेन्द्र र दरबारको विरोधमा विभिन्न किसिमका क्रियाकलाप भइरहेका थिए । खास गरी भारतीय भूमि प्रयोग गरेर त्यस किसिमका विरोधका स्वर चर्को पारिएको थियो । गणतन्त्रवादी नेताको छवि बनाएका रामराजाप्रसाद सिंहको नेतृत्वमा संवैधानिक राजतन्त्रका विरुद्धमा भारतमा प्रदर्शनहरू भइरहेका थिए ।

विसं २०४९ को कुरा हो । राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई अधिराजकुमारी श्रुतिले पढेको भारतको अजमेरको मेयो कलेजमा हुने दीक्षान्त समारोहमा विशेष उपस्थितिका लागि निमन्त्रणा थियो । तर, राजा–रानी कतै त्यहाँ विरोध प्रदर्शन गर्लान्, कालो झन्डा देखाएर आफूहरू उपस्थित हुने कार्यक्रम बिथोल्लान् भन्ने चिन्तामा थिए ।

मैले भेलोर अस्पतालमा गरेको मिर्गौलाको शल्यक्रियामा केही समस्या आएपछि पुन: गराउनुपर्ने आयो । उक्त उपचार दिल्लीको गंगाराम अस्पतालमा गर्ने र गोप्य रूपमा भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावसँग भेटघाट गरी राजा–रानीको भ्रमणका बेला कुनै अप्रिय घटना नहोस् भन्नेतर्फ विशेष सावधानी अपनाउन छलफल गरेर निष्कर्षमा पुग्न राजा वीरेन्द्रले निर्देशन दिएका थिए ।

उपचारका लागि दरबारको पैसामा म भारत जाने कुरा कर्मचारी वृत्तमा खासखुस चल्यो । केहीले ‘मुलुकभित्रै हुन सक्ने सामान्य शल्यक्रियाका लागि पनि दरबारको पहुँचमा भएपछि भारतमै गएर उपचार गराउनुपर्ने ?’ भन्ने ढंगले कुरा काटे । तर, म राजाको सन्देश बोकेर भारततर्फ जान लागेको कुरा कर्मचारीहरूलाई खोल्न सक्दिनथेँ ।

राजा वीरेन्द्रले भारतीय प्रधानमन्त्री रावलाई लेखेको विशेष चिट्ठी लिएर म दिल्ली पुगेँ । प्रधानमन्त्री रावका स्वकीय सचिवलाई आफू दिल्ली आइपुगेको जानकारी गराएपछि उनैले प्रधानमन्त्रीसँगको भेटघाटको कार्यक्रम मिलाए । त्यसपूर्व राजा महेन्द्रको समयमा भारतीय प्रधानन्यायाधीश पीएन भगवतीसँग भेटघाट गरेको र भारतीय उच्च पदस्थ सरकारी कर्मचारीसँग पनि राम्रो सम्बन्ध बनाएका कारण त्यो भेटघाट मिलाउन मलाई त्यस्तो अप्ठ्यारो भएन । प्रधानमन्त्री रावसँग भेटघाट गरी राजाको चिट्ठी बुझाएँ । प्रधानमन्त्री राव पनि राजासँग भेटघाट गर्न आतुर रहेछन् ।

त्यस भेटमा प्रधानमन्त्री रावले सौहार्दपूर्ण ढंगले कुराकानी गरे । नेपालको दरबार र भारतीय संस्थापन पक्षबीच चिसिएको सम्बन्धबारे पनि विस्तारमा कुराकानी भयो । राजा वीरेन्द्र र पूर्वप्रधानमन्त्री राजीव गान्धीका बीच अमिलिएको सम्बन्धका बारेमा पनि छलफल भयो । वास्तवमा प्रोटोकल विवादभन्दा पनि ‘मिस कम्युनिकेसन’का कारण उनीहरूबीचको सम्बन्ध बिग्रिएको रहेछ ।

०४६ मा पाकिस्तानको इस्लामावादमा भएको सार्क शिखर सम्मेलनका क्रममा राजा वीरेन्द्रलाई प्रधानमन्त्री राजीव गान्धी ब्रेकफास्टका लागि आउन लागेको भनिएको रहेछ भने गान्धीलाई राजा–रानी उनीकहाँ ब्रेकफास्टका लागि आउन लागेको भनिएको रहेछ । दुवैतिरका कर्मचारीले यस्तो मिस कम्युनिकेसन गरिदिएपछि उनीहरूको सम्बन्ध बिग्रिएको थियो । यसैलाई राजा र प्रधानमन्त्रीको प्रोटोकल नमिल्ने र प्रधानमन्त्रीले बोलाएकाले राजा नगएको भनेर प्रचार गरियो । यही प्रचारले प्रधानमन्त्री गान्धीलाई राजाप्रति नकारात्मक बनाइदियो ।

प्रधानमन्त्री रावले त्यस भेटघाटमा हिन्दु राजा वीरेन्द्रप्रति धेरै भारतीय जनताको आस्था रहेको कुरा व्यक्त गरे । साथसाथै, उनले नेपालमा भारतविरोधी भावना फैलिएकामा चिन्ता पनि जाहेर गरे । खास गरी, समकालीन पत्रिकाका सम्पादकलाई राष्ट्रियसभामा मनोनीत गरिएको, पूर्व–पश्चिम राजमार्गको कोहलपुर–वनबासा सडक निर्माणको ठेक्का भारतलाई दिएको विरोधमा राजीनामा दिएका यातायातमन्त्री हरिश्चन्द्र महतलाई राजपरिषद्मा नियुक्त गरिएको विषयमा भारतीय पक्ष नाखुस रहेछ । प्रधानमन्त्री नरसिंह रावले ‘जेसुकै भए पनि अब छिमेकी बदल्न सकिँदैन, मिलेर काम गर्नुपर्छ’ भन्दै कुराकानीको बिट मार्न खोजे । मैले पनि हिन्दी भाषामै उनले उठाएका प्रश्नको जवाफ दिने प्रयास गरेँ र भारतीय पक्षले नेपाललाई हेप्ने काम गरेका झन्डै १८ बुँदा सप्रमाण प्रस्तुत गरेँ ।

पुराना सन्दर्भ कोट्याएर सम्बन्धमा सुधार नआउने र नयाँ तरिकाबाट सम्बन्ध बनाउन दुवैतिरबाट पहल हुनुपर्ने कुरा भयो । र, यसमा प्रधानमन्त्री रावको सकात्मक ‘मुड’ बुझेपछि मैले अधिराजकुमारी श्रुतिको दीक्षान्त समारोहमा भाग लिन राजा–रानी भारत भ्रमणमा आउन लागेकाले सोही अवसरमा यस किसिमका असमझदारी सधैँका लागि निर्मूल गर्नुपर्ने प्रस्ताव पनि राखेँ । उनले आफ्ना तर्फबाट राजा महेन्द्रको समयको जस्तै सम्बन्ध बनाउन प्रयास गर्ने जवाफ दिए । अन्त्यमा रावले राजा वीरेन्द्रको चिट्ठीको जवाफ लेखेर मलाई दिए । म आफ्नो उपचार गराई उनको पत्र बोकेर काठमाडौँ फर्किएँ । 


१४ मंसिर ०४९ मा राजा–रानी दीक्षान्त समारोहमा भाग लिन भारत जाँदा राम्रो स्वागत–सत्कार भयो । विभिन्न तीर्थस्थल घुम्ने क्रममा प्रधानमन्त्री नरसिंह राव पनि उपस्थित भए । सायद राजा वीरेन्द्र र भारतीय प्रधानमन्त्री नरसिंह रावबीचको यही भेटघाटपछि नेपाल–भारत सम्बन्धमा केही समय सुधार पनि आयो ।

ईश्वरी ज्ञवालीद्वारा प्रस्तुत रेवतीरमण खनालको स्मरण, नेपाल साप्ताहिकबाट

कात्तिक १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस