जीवनशैली : संस्कार

निम्बार्काचार्य र उनको सिद्धान्त

आज शनिवार कार्तिक शुक्ल पूर्णिमा परेको छ । निम्बार्काचार्य जयन्ती आज पर्दछ । आजभन्दा ७६७ वर्षपूर्व अर्थात् सन् १२५० मा आजकै दिन निम्बार्काचायले धराधाममा पाइलो टेकेका थिए । सनातनधर्मी खासगरी वैष्णव मतावलम्बीहरू यस दिनलाई विशेष पर्वका रूपमा मनाउने गर्छन् । वेदान्त दर्शनभित्र द्वैत, अद्वैत, विशिष्टाद्वैत, द्वैताद्वैत, शुद्धाद्वैत आदि अनेक मत वा वाद रहेका छन् । निम्बार्काचार्य यसैमध्येका द्वैताद्वैतवाद सिद्धान्तका प्रतिपादक मानिन्छन् ।kamal

आद्य शङ्कराचार्य (७८८–८२० ई) लगायत विभिन्न विद्वानहरूले उत्तर मीमांसा वा वेदान्त दर्शनको नामले परिचित बादरायण व्यासको ब्रह्मसूत्रमाथि भाष्य लेखेका छन् । तिनमा यिनै निम्बार्काचार्य पनि पर्र्छन् । उनका भाष्यलाई वेदान्तपारिजात भनिन्छ, जसले वैष्णव दर्शनमा द्वैताद्वैत नामक छुट्ट्रै मत स्थापित गर्र्ने काम गरेको छ । वैष्णव दर्शनकै एउटा सम्प्रदाय मानिने यस मतलाई उनकै नामबाट निम्बार्क दर्शन भन्ने गरिएको पनि पाइन्छ ।

सानैदेखि जिज्ञासु स्वभाव र तीक्ष्ण प्रतिभाका धनी निम्बार्काचार्यको जन्म दक्षिण भारतीय तैलङ्ग ब्राह्मण परिवारमा भएको थियो । भनिन्छ उनको वास्तविक नाम नियमानन्द थियो तर उनले मध्यरातमा निमको बोटमा साक्षात् सूर्यको दर्शन पाएकाले यसैको आधारमा उनलाई निम्बार्काचार्य भनिएको हो । स्वयं भगवान् विष्णुको सुदर्शनचक्रकै अवतार मानिएका निम्बार्काचार्यलाई कतै कतै निम्बादित्य भन्ने गरिएको पनि पाइन्छ । निम्बार्काचार्य वा निम्बादित्य जे भनिएपनि दुवै नाम अन्ततः सूर्यसितै सम्बन्धित रहेकाले यसमा तर्क वितर्क गरिरहनुको खासै औचित्य देखिन्न ।

वस्तुतः निम्बार्क दर्शनका प्रवर्तक निम्बार्काचार्य नै भएपनि उनी नै यस दर्शनको आदि आचार्य भने मानिँदैनन् । विद्वानहरूका अनुसार यस दर्शनका आदिआचार्य त स्वयं हंसनारायण नै मानिएका छन् । यसबारे व्यासजीले भागवतको एकादशस्कन्धमा रोचक झाँकी प्रस्तुत गरेका छन् । हंसनारायणले सनकादि कुमारहरूलाई परब्रह्म परमात्माको विशेषताबारे जुन ज्ञान दिएका थिए, सोही ज्ञान नै नारदजी हुँदै उनीसम्म आइपुगेको हो । तथापि उनले त्यसलाई यति बढी विस्तृत र व्यावहारिक व्याख्यान दिएका छन् कि पछि गएर उनकै नामबाट यस दर्शनको नाम रहन गएको देखिन्छ ।

वस्तुतः निम्बार्काचार्यका आफ्नै ग्रन्थहरू खासै त्यति बढी भेटिएका छैनन् । जति छन् ती पनि निकै स्वल्प आकृतिका छन् । उनका ब्रह्मसूत्रमाथि लेखिएको भनिएको भाष्य वेदान्तपारिजात नै आफैमा निकै स्वल्पकायको ग्रन्थ हो । यसबाहेक दशश्लोकी नामक दश श्लोकको उनको सिद्धान्तप्रतिपादक ग्रन्थ र २५ श्लोकात्मक कृष्णस्तवराज नामक (निम्बार्क तत्त्व प्रकाशक) आदि केही ग्रन्थ पनि प्रकाशित अवस्थामा छन् । तथापि यिनै ग्रन्थहरूका आधारमा पछिल्ला विद्वानहरूले उनका मतबारे यति बढी गहन व्याख्या र विश्लेषण गर्ने काम गरेका छन् कि जसले गर्दा निम्बार्क दर्शन एउटा वटवृक्षकै रूपमा खडा हुन पुगेको छ भन्दा फरक पर्दैन ।

निम्बार्क दर्शनले चित् अर्थात् जीवलाई कर्ता र भोक्ता दुवै मानेको छ भने अचित् अर्थात् जडजगत् भोग्य मानेको छ । यसमा ईश्वरको स्थान यी दुवैका नियन्ताको रूपमा देखापरेको छ । उसका अनुसार जीव आफैंमा ज्ञानरूप त हुँदै हो, साथसाथै ज्ञानाश्रय पनि मानिएको छ । संसारमा एउटै जीव एकैसाथ एउटा इन्द्रियद्वारा कर्म गराइरहेको हुन्छ भने अर्को इन्द्रियद्वारा त्यसको भोग गर्ने काम पनि गरिरहेको हुन्छ । अझ आश्चर्य त के भने साथसाथै अर्को कुनै अङ्गमार्फत त्यसको अनुभव गर्नसमेत भ्याइरहेको हुन्छ । यहाँनेर कतिलाई कर्म गर्ने, भोग्ने र अनुभव गर्ने भिन्दाभिन्दै हुन्् कि जस्तो लागेपनि वास्तवमा भिन्न नभई एउटै नै नाना अवस्थामा देखा परिरहेको हुन्छ । त्यसैले जीव आफैंमा द्वैत पनि हो र अद्वैत पनि हो र यही नै द्वैताद्वैत सिद्धान्तको महत्त्वपूर्ण आधार हो ।

त्यस्तै उनीहरूको यस्तो अवस्था सांसारिक दशामा मात्र होइन, मुक्तावस्थामा पनि सूक्ष्म रूपले कायमै रहेको हुन्छ । यो पनि आफैंमा द्वैताद्वैत सिद्धान्तको कम्ती महत्त्वपूर्ण आधार होइन । यस दर्शनले बद्घ र मुक्त गरी जीवको दुई भेद मानेको छ । यीमध्ये बद्घ जीव मुमुक्षु र बुभुक्षु गरी दुई किसिमका छन् । तिनमा दुःखबाट मुक्ति चाहने जीवलाई मुमुक्षु हुन् भने सांसारिक भोगको पछि लाग्न चाहने जीव बुभुक्षु हुन् । उसका अनुसार मुक्त जीव पनि नित्यमुक्त र मुक्त गरी दुई किसिमका देखिएका छन् । तिनमा जन्म र मृत्यु आदि प्राकृतिक दुःखबाट मुक्त भएकाहरूलाई नित्यमुक्त जीव भनिन्छ भने अज्ञान आदि विभिन्न दोषबाट मात्र निवृत्त भएकाहरूलाई मुक्त जीव भन्ने गरिएको छ ।Jeevan Darshan_1

निम्बार्क दर्शनले जड पदार्थलाई अचित् भनेको छ । यसलार्ई प्राकृत, अप्राकृत र काल गरी तीन किसिमको मानिएको छ । तीमध्ये महत्तत्त्वदेखि पञ्चमहाभूतसम्मको प्रकृतिसित सम्बन्धित पदार्थलाई प्राकृत, भगवत्धाम आदि प्रकृति इतरलाई अप्राकृत र चराचर जगतको धारक र चालक शक्तिलाई कालको संज्ञा दिइएको पाइन्छ । यद्यपि काल रूपमा नित्य, अखण्ड र एउटै देखिएतापनि सारमा अनित्य र अनन्त हुन पुगिरहेको हुन्छ । यसरी काल एउटै भएर पनि अनेक रूपमा प्रस्तुत हुने पनि गर्छ र नित्य भएर पनि अनित्य रूपले देखापर्ने पनि गर्छ । अतः काल त यसै पनि आफैंमा द्वैत र अद्वैत दुवै हुँदै हो, साथसाथै प्राकृत जगतलाई कालले र अप्राकृत जगतलाई ईश्वरले निर्देशित गर्ने भएकाले मूलतः उनीहरू पनि एकैसाथ द्वैत र अद्वैत अवस्थामा प्रस्तुत भइरहेका देखिन्छन् ।

प्रायः वेदान्तीहरू ईश्वरलाई निर्गुण मान्ने गर्छन् तर निम्बार्क दर्शनका अनुसार भने ईश्वर सगुण मानिएका छन् । यस दर्शनका अनुसार ईश्वर सर्वज्ञ र सर्वगुणसम्पन्न छन् । उनी जगतको भित्र पनि छन्् र बाहिर पनि छन् । सारा संसार उनमै आश्रित छ । उनैबाट यो निःसृत हुन्छ र उनैमा गएर टुङ्गिन्छ पनि । संसारमा अलौकिक चमत्कार देखाउनसक्ने कुनै शक्ति छन् भने उनी नै छन् । ज्ञान, शक्ति, बल, ऐश्वर्य, तेज, वीर्य, वात्सल्य, करुणा आदि गुणहरूका कारण उनी प्रकृतिकै आश्रयमा रहेर पनि तत्सम्बन्धी दोषबाट निर्लिप्त रहन पनि सक्छन् र लिप्त जस्ता देखिइरहेका पनि हुन्छन् ।

यस दर्शनमा मुक्तिमार्गबारे पनि आफ्नै खाले चिन्तन छ । यसका अनुसार मुक्तिको मूलभूत आधार भनेकै ईश्वर शरणागति हो । यदि मुक्तिको कामना गर्ने हो भने सबैले भगवत् शरणागतिको बाटो समाउनैपर्छ अन्यथा उसले लाखै प्रयास गरेपनि संसार सागरबाट मुक्ति पाउन सक्दैन भन्ने नै यसको निचोड हो । कात्तिक १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस