खोज/विशेष : फिचर

दोस्रो पुस्ताका रक्तिम गायकः जीवन शर्माकै जस्तो स्वर, झुक्किन्छन् साथीहरू

hemraj asram
०६३ सालताकाको बाग्लुङको तङराम । विद्यालयमा कार्यक्रम शुरु हुन लागेको थियो । विद्यालयमा जोडजोडले बजेको माइक घरमै प्रष्ट सुनिन्थ्यो । त्यतिबेला गाउँमा रक्तिमका गीतहरु गाइन्थे । बजाइन्थे । कार्यक्रम शुरु हुनै लाग्दा जीवन शर्माको गीत बज्यो – सुसेली हालेर वनमा नाच्दै गाउँदै हिँडेको...

हेमराज आश्रम भर्खरै नुहाएर बाहिर घाम तापेर बसिरहेका थिए । भित्र भान्साबाट आमाले भन्नुभयो, ‘भर्खरसम्म त हाम्रो कान्छो यतै थियो, कति छिटो स्कूलमा गीत गाउन पुगेछ?’

ती ‘कान्छो’ अरु कोही नभएर हेमराज आश्रम थिए । आफ्नै आमा पनि जीवन शर्माको स्वरलाई छोराको स्वर भनेर झुक्किनुभएछ । त्यतिबेला कार्यक्रममा गीतको क्यासेट बजाइएको रहेछ जीवन शर्माले गाएको गीत । आमालाई त्यो स्वर आफ्नै छोरा हेमको जस्तो लागेछ ।
००००
रक्तिम सांस्कृतिक अभियानका पछिल्ला पुस्ता हुन् हेमराज पुन । ०६३/०६४ जातीयताको आन्दोलन चलिरहँदा उनले भने आफ्नो नामबाट खुसुक्क पुन हटाएर ‘आश्रम’ लेख्न थाले । अहिले उनलाई हेमराज आश्रमकै रुपमा चिन्छन् धेरैले । यही नाममा तीन दर्जन बढी गीतमा स्वर दिएका छन् उनले । फिल्ममा पाश्र्वध्वनि भरेका छन् । निर्देशन पनि गरेका छन् फिल्मको ।

संयोग नै भन्नुपर्छ, उनको आवाज रक्तिम परिवारका पहिलो पुस्ताका गायक जीवन शर्मासँग ठ्याक्कै मिल्छ । यो संयोगमा आफ्नै आमा त बेलाबेलामा झुक्किनुहुन्छ भने अरु किन नझुक्किउन्?

उनको गाउँ तङराममा नै रक्तिम परिवारका गीत धेरै सुनिने गीतमध्येमा पर्थे । स्कूले समयदेखि नै रक्तिमका गीत गाउँदै अग्रजसँग गीत गाउँदै हिँड्न हिँड्ने गर्थे । विभिन्न गाउँ स्तरीय कार्यक्रम सञ्चालनको जिम्मा लिन्थे । जीवन शर्माका सबै गीत कण्ठ पारेका थिए उनले । ती गीतलाई जस्ताको तस्तै गाउँथे पनि ।

एसएलसी दिएपछि प्लस दुई पढ्न पोखरा पुग्दा पनि उनी रक्तिमका गीतबाट टाढा हुन सकेका थिएनन् । ‘जीवन शर्माका नसुनेका कुनै गीत थिएनन्, सबै गीत कण्ठ थिए, जस्ताको तस्तै गाउन सक्थें,’ हेमराज एकपटकको किस्सा सुनाउँछन्, ‘एकपटक त पृथ्वीनारायण क्याम्पसमा मैले गीत गाउँदा सबैले मलाई नै जीवन शर्मा भन्ठानेछन् ।’

भएको के रहेछ भने, पोखराको पृथ्वीनारायण क्याम्पसमा जनवादी गीत गाउन जीवन शर्मा आउने कार्यक्रम तय भएछ । तर विशेष कारणले उनी कार्यक्रममा उपस्थित हुन सकेनछन् । आयोजकले शर्मा नआउने भएपछि हेमराजलाई नै गीत गाउन आग्रह गरेछन् । उनले पनि जीवन शर्माका चलेका केही गीत गाइदिएछन् पालैपालो । पछि त्यहाँ गीत सुन्न आउनेबीच गाइँगुइँ चलेछ – ‘जीवन शर्मा त भर्खरका केटा पो रहेछन् ।’

भर्खरै एसएलसी दिएर पोखरा झरेका हेमराजलाई धेरैले स्वर मिल्न गएकोमा वास्तविक जीवन शर्मा नै भन्ने रहेछन् । ‘त्यो बेला सम्झेर अहिले पनि मलाई रमाइलो लाग्छ, मेरो स्वर जीवन शर्मासँग मिल्छ भनेर धेरैले भन्नुहुन्छ ।’, उनी सुनाउँछन्, ‘जीवन जीलाई पनि धेरैले तपाईसँग स्वर मिल्ने अर्को एकजना छन् नि भनेर सुनाउँछन् रे !’

जीवन शर्माले गाएका गीत हेमराजका साथीले आफ्ना भनिदिने । हेमराजले गाएका गीत टिभी तथा रेडियोमा प्रसारण हुँदा जीवन शर्माले गाएको भन्ने ।

यसरी स्वर मिल्नुको कारण के होला त? यही प्रश्न हामीले हेमराजलाई सोध्यौं । ‘यदि हामीले कुनै एक गायकका सबै गीतलाई मनदेखि नै सुन्न थाल्यौं र गायौं भने गायकको प्रभाव पनि हामीमा पर्दौ रैछ,’ उनी स्पष्ट पार्छन्, ‘मैले जान्ने भएदेखि नै जीवन शर्मा जीका गीतहरु मात्रै सुन्दै आएँ, शायद त्यसैको प्रभाव होला ।’

रक्तिम परिवारमा कसैका गीत थिए भने जीवन शर्माका थिए । दुःखी गरीबका पीडा बोल्ने वामपन्थी गीतबाट हेमराज पूरै प्रभावित थिए । उनले सुन्ने सबै गीत जीवन शर्माका हुन्थे, किनकि त्यतिबेला रक्तिम परिवारमा अरु गायकले वामपन्थी गीत गाएका थिएनन् । पछिल्लो पुस्तामा भने अरुले पनि जीवन शर्माले बनाएको रक्तिम गीति बाटो हिँडिरहेका छन् ।
‘हाम्रो संगठनमा रक्तिम बाहेक अन्य गीत सुनिँदैन, त्यसैको प्रभावले हुनसक्छ, मेरो स्वर उहाँको स्वरसँग ठ्याक्कै मिल्थ्यो, अहिले केही कम भएझैं लाग्छ ।’, हेमराज भन्छन्, ‘प्राकृतिक रुपमा स्वर मिलेको भन्दा पनि उहाँका गीत मात्र धेरै सुनेकाले स्वर मिलेको हो कि भन्ने लाग्छ ।’

‘नेपालमा जनवादी संगीतको मूलबाटो खन्ने महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ जीवन शर्मा, हामी उहाँले खनेको बाटोमा हिँडिरहेका छौं अहिले ।’, जीवन शर्माप्रतिको उनको धारणा सुनाउँछन् ।

०४२ सालमा स्थापना भएर अहिले पनि मूलधारको प्रवाहभन्दा विपरित प्रवाहबाट रक्तिम हिँडिरहेको हेमराज बताउँछन् । ‘अहिले पनि हामी मूलधारको संगीतभन्दा फरक छौं, ठूलो र धमिलो खोलो एकातिर बगिरहेको छ भने अर्को सानो र सङ्लो खोलो पनि साथै बगिरहेको छ’, हेमराज मुसुक्क मुस्कुराउँदै भन्छन्, ‘भोलि हाम्रै गीतलाई बढी रुचाइने समय पनि आउन सक्छ ।’

हेमराज आश्रम रक्तिमका गायक मात्र होइनन् । उनको अर्को परिचय निर्देशकको पनि हो । उनी आफैले तीन दर्जनभन्दा धेरै, फरक तर गरीब वर्गका गीतमा स्वर दिएका छन् । विभिन्न गीतका भिडियो निर्देशन गर्नु र संगीत संयोजन गर्नु उनको अर्को खुबी हो । च्यारिटी शो भइरहेको चलचित्र ‘फाल्गुण २६’ को निर्देशन पनि उनैले गरेका छन् ।

फिल्म भने अलि पछि नै रिलिज हुने उनी बताउँछन् । ‘यो वि. सं. २०१० सालमा प्यूठानमा भएको ‘किसान आन्दोलन’ मा आधारित छ’, हेमराज भन्छन्, ‘त्यो आन्दोलनलाई नेपालको पहिलो वामपन्थी आन्दोलन पनि भनिन्छ ।’
मोहनविक्रम सिंहले तयार पारेको नाटक ०४२ सालमै मञ्चन गरिएको थियो । फिल्मको रुपमा भने अहिले निर्माण गरिएको हो । उनी भन्छन्, ‘हामीले फिल्ममा वि.सं. २०१० सालको परिवेश देखाउन खोजेका छौं ।’ कात्तिक १८, २०७४ मा प्रकाशित

अर्घेलो थापा

अर्घेलो लोकान्तरका कला संवाददाता हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस