उपभाेक्ता

सर्वसाधारणद्वारा हतियार बुझाउन अटेरी


बैतडी, १९ कात्तिक - जिल्ला प्रशासन कार्यालय बैतडीले आगामी मङ्सिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै हतियार बुझाउन गरेको अनुरोधलाई बैतडीका सर्वसाधारणले अटेरी गरेका छन् । 

चुनावी सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिसँग रहेका इजाजत प्राप्त हातहतियार यही कात्तिक १५ गतेभित्र बुझाउन आग्रह गरिएको थियो । 

प्रशासनले नजिकका प्रहरी एकाई तथा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन आग्रह गरे पनि म्याद सकिँदासम्म ९८ जनाले मात्र बुझाएको प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिनुभयो । बैतडीमा भरुवा बन्दुक, बाह्बोर,बाइसबोर, दुई नाले र एकनाले बन्दुक गरी १ हजार १२९ इजाजत प्राप्त हतियार रहेका छन् । 

हतियार नबुझाउनु निर्वाचन आचारसंहिता विपरित भएकाले नबुझाउने व्यत्तिलाई कानून अनुसार कारवाही गरिने उहाँले बताउनुभयो । हतियार नबुझाउने ब्यक्तिको हतियार जफत गर्ने तथा नवीकरणसमेत नहुने बताइएको छ । हतियार बुझाउन बाँकी रहेका व्यक्तिले छिटोभन्दा छिटो नजिकको प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रसासन कार्यालय बैतडीले पुनः आग्रह गरेको छ । 

घरेलु मदिरा वा मदिराजन्य पदार्थको उत्पादन र बिक्री वितरणमा समेत रोक लगाइएको जानकारी गराउँदै सूचनाको अवज्ञा गर्नेलाई कानून अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ । कात्तिक १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस