उपभाेक्ता

२३ वर्षे युवकले गरे ९१ वर्षीया महिलासँग बिहे, अहिले भयो हंगामा

काठमाडौं, १९ कात्तिक — अर्जेन्टिनाका २३ वर्षीय युवक मौरिसियो ओसोलाले हजुरआमा नाता पर्ने ९१ वर्षीया महिला योलान्दा टोरेससँग बिहे गरेकोमा अहिले कानूनी समस्या आएको छ ।


खासमा मौरिसियाले योलान्दासँग सन् २०१५ मा बिहे गरेका थिए । अहिले योलान्दाको मृत्यु भइसकेको छ । मौरिसियोले पत्नीको निधनपछि पेन्सनका लागि निवेदन दिए ।

तर यो मुद्दा अहिले अदालतमा पुगिसकेको छ । अधिकारीहरूका अनुसार, मौरिसियोले फाइदाका लागि मात्र योलान्दासँग बिहे गरेका हुन् ।

योलान्दा अघिल्लो वर्ष घाउ सडेपछि बितेकी थिइन् । सामाजिक सेवा अधिकारीहरूले मौरिसियोको विवाहका बारेमा छिमेकीहरूलाई सोध्दा उनीहरूले केही थाहा नपाएको बताए । स्टेट रिटायरमेन्ट फन्डले ओसोलोलाई विधुरले पाउने पेन्सन दिन अस्वीकार गरेको छ । उनीहरूको वैध तरिकाले बिहे नभएको फन्डको तर्क छ ।

‘मैले योलान्दालाई पवित्र प्रेम गरेको थिएँ र उनलाई गुमाउनुपर्दाको पीडाले मलाई जीवनभर सताउनेछ,’ ओसोलाले भने ।

तर ओसोलाको यो भनाइका बाबजुद अर्जेन्टिनाको नेसनल एड्मिनिस्ट्रसन अफ सोसियल सेक्युरिटीले उनको पेन्सन निवेदन अस्वीकृत गरिदियो ।

‘योलान्दाले मलाई आफ्नो अध्ययन पूरा गर्न जोड दिएकी थिइन्,’ ओसोलाले भने, ‘हाम्रो बिहे एक वैध निर्णय थियो । उनले मेरो जीवनमा महत्त्वपूर्ण सहयोग गरेकी थिइन् र उनको अन्तिम इच्छा म जसरी भएपनि पूरा गर्छु । म पेन्सनका लागि सर्वोच्च अदालतसम्म पनि पुग्न सक्छु ।’

ओसोलाले मुद्दा जित्ने सम्भावना छ किनकि यस्तैखाले अर्को मुद्दामा १० वर्षअघि २४ वर्षीय रेनाल्दो वाबेकेले ८२ वर्षीया अडेल्फा भोल्पेससँग बिहे गरेका थिए । त्यतिखेर वाबेकेले कुनै पनि समस्याविना नै राज्यले दिने पेन्सन पाएका थिए ।

एजेन्सी

कात्तिक १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस