अर्थ विविध

बाढीका कारण कृषि क्षेत्रमा रु पाँच अर्बको क्षति


काठमाडौँ, २० कात्तिक  कृषि विकास मन्त्रालयले केही महिनाअघि तराईमा गएको बाढीका कारण ३० जिल्लामा रु पाँच अर्बभन्दा बढीको कृषि क्षेत्रमा क्षति पुगेको जनाएको छ । 

सैँतीसौँ विश्व खाद्य दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा यसले खाद्य सुरक्षामा अप्रत्याशित ह्रास हुन सक्ने भन्दै रु एक अर्ब २५ लाख करोडको राहत कार्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिइएको छ । सो अवसरमा विभिन्न ३३ विधामा छानिएका देशभरका ९८ कृषक, सूमह, समिति, सहकारी र संघसंस्थालाई पुरस्कृत गरिएको छ । 

कृषि राज्यमन्त्री सरिता प्रसाईंले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै कृषकले खोजेजस्तै सहज ऋण, बीउबिजन र उत्पादनको उचित व्यवस्थापनमा ध्यान दिइने उल्लेख गर्नुभयो । 

दिवसमा ‘खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाऔँ, भावी बसाइँ–सराइलाई व्यवस्थित गरौँ’ भन्ने नारा तय गरिएको थियो । हरेक वर्ष असोज ३० गते अर्थात् अक्टोबर १६ का दिन सो दिवस मनाउने गरिए पनि तिहार परेकाले आज कार्यक्रम गरिएको मन्त्रालयले जनाएको छ । 

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले कृषिमा गरिने लगानी कृषकमुखी हुनुपर्नेमा जोड दिनुभयो । कृषि विकास मन्त्रालयका सचिव डा सुरोज पोखरेलले बढ्दो कृषि वस्तुको आयातका कारण व्यापार घाटा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खाद्य, पोषण सुरक्षा र व्यावसायिक रुपमा महत्वपूर्ण उपजको उत्पादनमा उल्लेख्य वृद्धि गर्न आयात प्रतिस्थापन गर्ने उद्देश्यले आव २०७३÷७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको छ ।” 

कात्तिक २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस