जीवनशैली : स्वास्थ्य

आँखामा चोटपटक लाग्दा के गर्ने ? यस्तो छ डाक्टर थापाको सुझाव

काठमाडौं, २१ कात्तिक–आँखा मानिसको शरीरको संवेदनशील अंग हो । गर्मीको तुलनामा जाडोको समयमा आँखामा संक्रमणहरु कम हुन्छ । तर हामीले जहिले पनि आँखाको शुरक्षालाई ध्यान दिनुपर्छ । बाटोमा हिँड्दा होस् वा कुनै पनि कार्य गर्दा आँखालाई चोट लाग्न नदिई संयमतापूर्वक कार्य गर्नुपर्छ ।
  
कात्तिकको तेस्रो साता सुरु भईसकेको छ । गाउँघरमा यतिबेला धमाधम धान काट्ने समय सुरु भएको छ । धान काट्ने क्रममा आँखाको हेरचाहमा ध्यान दिनुपर्ने नेत्र चिकित्सकहरुले बताएका छन् ।  हुनत हामी आफ्नो शरीरलाई चोटपटक लाग्न नदिइ कार्य गर्ने प्रयास गछौं । कहिलेकाँही सुरक्षा अपनाउँदा अपनाउँदै पनि आँखामा चोटपटक लाग्न सक्छ । आँखामा चोटपटक लाग्दा आँखाको हेरचाहना ध्यान नदिँदा सामान्य चोटपटकको कारण  आँखाको दृष्टि पूर्णरूपले गुम्न सक्छ । 

तिलगंगा आँखा अस्पतालमा अघिल्ला वर्षहरुमा पनि मंसिर लागेपछि आँखामा चोटपटक लागेका विरामी बढि आउने गरेको अस्पतालकी नेत्र विषेशज्ञ डा. रभा थापाले बताइन् । ‘अहिलेको समय किसानहरुको धान तथा कोदो भित्र्याउने समय हो । यस समयमा धान काट्दा, झार्दा आँखामा चोटपटक लागेका विरामीहरु बढि आउँछन्,’ डा थापाले लोकान्तरलाई भनिन्, ‘आँखामा चोटपटक लागेका विरामीहरुले घान काट्दा तथा झार्दा आँखामा धुलो परेर, धान तथा परालले आँखा घोचेको, ढुंगामाटो पसेर आँखामा चोट लाग्यो भन्छन् । ’
यस बाहेक अन्य कार्य गर्दा पनि अञ्जानमा आँखामा चोटपटक लाग्न सक्छ । त्यसैले जुनसुकै कार्य गर्दा पनि आँखामा चोटपटक लाग्न नदिई साबधानी पूर्वक कार्य गर्न डा. थापाको सुझाव छ ।

आँखामा चोटपटक लाग्दा यस्तो समस्या हुन्छ
आँखा दुख्छ,
दृष्टिमा कमी हुन सक्छ,
आँखाबाट पानी बग्ने समस्या हुन्छ,
आँखा रातो हुन्छ,
आँखा बिझाउँछ,
हेर्न गाह्रो हुन्छ,
आँखा पोल्ने तथा सुनिने समस्या देखिन्छ, 
आँखाको नानीमा घाउ हुन सक्छ,
इन्फेक्सन हुने सम्भावना हुन्छ,
आँखामा चोटपटक लाग्दा यी समस्याहरु देखिन सक्ने डा थापाको भनाइ छ । आँखामा चोटपटक लाग्दा सामान्य मानेर बस्न नहुने उनले बताइन् । डा थापाका अनुसार आँखामा चोटपटक लाग्दा आँखाको हेरचाहमा विषेश ध्यान दिनुपर्छ ।

आँखामा चोटपटक लाग्दा के गर्ने, के नगर्ने ?
आँखामा चोटपटक लागेमा आँखा माड्नु हुँदैन ।
आँखामा बाहिरी बस्तु परेको छ कि छैन कसैलाई हेर्न लगाउने वा आँफैले ऐनामा हेर्ने ।
आँखाको तलमाथिको परेलालाई तलमाथी गरेर दायाँबायाँ, हेर्नुपर्छ ।
चिसोपानीले आँखामा छ्याप्ने र बारम्बार आँखा झिम्काउनु पर्छ । 
आँखामा बाहिरी वस्तु परेको छ भने पानीभित्र आँखा डुवाएर हेर्ने गर्नुपर्छ । त्यसरी आँखामा परेको वस्तु बाहिर निस्कन्छ ।
बाहिरी वस्तुलाई निकाल्न  आंैलाको नङ, सिन्का वा कुनै पनि औजारको प्रयोग गर्नु हुँदैन ।
आँखामा चोटपटक लाग्दा तेल, आमाको दुध वा जढिबुडिको प्रयोग गर्नु हुँदैन ।
आँखामा चोटपटक लागेमा तुरुन्त नजिकैको आँखा केन्द्रमा गएर आँखा जाँच गराउनु पर्छ ।
चिकित्सकको सल्लाह लिएर आमै औषधी प्रयोग गर्नुपर्छ ।

कात्तिक २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस