विश्व/प्रवास

अमेरिकाले व्यापार असन्तुलन सहँदैन : ट्रम्प

काठमाडौं, २४ कात्तिक — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भियतनाममा भइरहेको एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) बैठकलाई शुक्रवार सम्बोधन गर्दै अमेरिकाले ‘दीर्घकालीन व्यापार दुरुपयोग’ लाई सहेर नबस्ने बताएका छन् । 

‘स्वच्छ पारस्परिक व्यापार अनुपालन गर्ने हो भने’ एपेक मुलुकहरूसँग काम गर्न अमेरिका तयार रहेको ट्रम्पले बताए । 

खुला व्यापारका कारण लाखौं अमेरिकी रोजगार धरापमा परेको र असन्तुलनलाई मिलाउन आफूले चाहेको उनले बताए । 

एसियाका पाँच देशको भ्रमणका क्रममा ट्रम्प भियतनाम आइपुगेका हुन् । 

एपेकमा प्रशान्त क्षेत्रका २१ अर्थतन्त्रहरू पर्दछन् र यसले संसारको कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत बराबरको भाग समेट्छ । 

राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनविरुद्ध शाब्दिक आक्रमण गर्दै ‘सबै सदस्यले नियम पालन नगर्ने हो भने’ यसले ‘राम्ररी काम गर्न नसक्ने’ बताए । 

उनले व्यापार असन्तुलनको गुनासो गर्दै अमेरिकाले बजार अवरोधहरू घटाएको र करहरू अन्त्य गरेको तर अन्य देशले यस्तै नगरेको बताए । ‘यस्ता अभ्यासले हाम्रो देशका धेरै मानिसलाई चोट पु–याउँछन्,’ उनले सम्मेलनमा भेला भएका व्यापारिक र राजनीतिक नेताहरूलाई बताए । 

तर उनले एपेक देशहरूमा दोष थोपरेनन् र यसको साटो पूर्ववर्ती अमेरिकी प्रशासनले यो ट्रेन्डलाई उल्ट्याउन पहिल्यै काम नगरेको बताए । 

बीबीसीबाट

कात्तिक २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस