विश्व/प्रवास

सयजनाभन्दा बढी मानिसको हत्या गर्ने खतरनाक पुरुष नर्स

काठमाडौं, २४ कात्तिक — स्वास्थ्य सेवामा रहेको व्यक्ति मानिसहरूको ज्यान कसरी लिन सक्छ ? त्यो पनि सयसयजनाको ?

तर जर्मनीका एक पुरुष नर्सले यस्तै खतरनाक काम गरेका छन् । 

अभियोजन पक्ष भन्छ, ‘टक्सिकोलोजी टेस्टले गरेको संकेतमा नर्स नील्स होएग्लले दुई अस्पतालमा कमसेकम सयजनाको हत्या गरेको देखिन्छ ।’

टक्सिकोलोजीमा विष र त्यसको प्रभावका बारेमा अध्ययन गरिन्छ । 

अनुसन्धानमा जोडिएका मानिसहरूका अनुसार, नर्स नील्स होएग्लले होशहवासमै सुनियोजित तरिकाले बिरामीहरूलाई ज्यान जाने डोज दिएका थिए । 

दुईवटा अस्पतालमा गरेका हत्याका लागि नील्सलाई दुई मुद्दामा जन्मकैदको सजाय दिइएको छ । 

नर्स नील्सले ती रोगीहरूलाई फेरि जिउँदो बनाउने कोशिश गर्दै आफ्ना सहकर्मीहरूलाई प्रभावित तुल्याउन चाहेको बताइएको छ । तर अधिकांश बिरामीको मृत्यु भएको थियो । 

अर्को वर्ष उनीमाथि नयाँ आरोप लगाउन सकिन्छ । सन् १९९९ देखि २००५ सम्म जर्मनीका दुई शहरमा उनले क्रमशः ३८ र ६२ बिरामीको हत्या गरेका थिए । 

नील्समाथिको आरोप सही ठहर भएमा विश्वयुद्धपछिका सबभन्दा कुख्यात सिरियल किलरमा उनको नाम समावेश हुनेछ । 

सन् २०१५ मा अदालती पुर्पक्षका बेलामा नील्सले ३० जनाको ज्यान लिएको कुरा कबुलेपछि उनीविरुद्ध चलिरहेको अनुसन्धानको दायरा बढाइयो । 

उक्त पुर्पक्षमा उनलाई हत्याका दुई, ज्यान मार्ने उद्योगको दुई र बिरामीहरूलाई हानि पु–याएको आरोपमा दोषी पाइयो । 

अनुसन्धान अधिकारीहरूले १३० पूर्वरोगीको चिहान खनेर जाँचबुझ गरी उनीहरूलाई विष दिएको सम्भावना पत्ता लगाएका थिए । 

नील्सले काम गरेका अस्पतालका अभिलेखहरूको मिहिन जाँच भयो । तर उनले यत्तिका हत्या गरेपनि उनलाई राम्रो रिफरेन्स गरिएको पाइयो । 

बीबीसीबाट
 

कात्तिक २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस