विश्व/प्रवास

युवराज मोहम्मद सलमान साउदी अरबका सबभन्दा शक्तिशाली व्यक्ति हुन लागेका हुन् ?

काठमाडौं, २४ कात्तिक — सन् २०१५ मा राजा सलमान साउदी अरबका बादशाह बन्नुअघि उनका छोरा मोहम्मद सलमानको नाम खासै सुनिएको थिएन । तर अहिले यी ३२ वर्षीय युवराज साउदी राजनीतिका सबभन्दा शक्तिशाली व्यक्ति भएका छन् । 

विज्ञहरूका अनुसार, उनी नै साउदीको सुल्तान बनाइने दिन अब छिट्टै आउँदैछ । राजा सलमान कमजोर र बिरामी छन् । उनी कुनै पनि बेलामा सिंहासन त्याग्न सक्छन् र युवराज सलमानलाई राजा घोषित गर्न सक्छन् । अहिले पनि सलमानले नै खासमा मुलुक हाँकिरहेका छन् । 

मुहम्मद बिन सलमानको जन्म सन् १९८५ को अगस्ट ३१ मा भएको थियो । उनी राजा सलमान बिन अब्दुल अजीज अल साउदी तेस्री पत्नी फहदा बिन फलाहका सबभन्दा ठूला छोरा हुन् । रियादस्थित राजा साउद विश्वविद्यालयबाट उनले स्नातक गरेपछि सरकारी कार्यालयहरूमा काम गरे । 

उनकी एक पत्नी र दुई छोरा तथा दुई छोरी छन् । राजा सलमानले सन् २०१५ मा सत्ता लिएपछि दुई महत्त्वपूर्ण परिवर्तन गरेका थिए र आफ्ना छोरालाई सत्तानजिक ल्याएका थिए । त्यतिखेर शहजादा सलमान जम्मा २९ वर्षको आयुमा संसारका सबभन्दा साना रक्षामन्त्री बनेका थिए । 

रक्षा मन्त्रालयको काम सम्हाल्नेबित्तिकै उनले मार्च २०१५ मा यमनसँग युद्ध घोषणा गरेका थिए । हूती विद्रोहीहरूले राजधानी सनासहित यमनका अनेक क्षेत्रमा कब्जा गरेका थिए र राष्ट्रपति अब्दुर रहमान मंसूरलाई देशबाट भाग्न बाध्य बनाएका थिए । उनले साउदी अरबमा आश्रय लिएका थिए । 

साउदी सैन्य गठबन्धनले त्यसपछि हूती विद्रोहीहरूलाई तारो बनाउन शुरु गरे । साउदी अरब र उसका सहयोगीहरूमाथि मानवअधिकारको खुला उल्लंघनको आरोप लाग्ने गरेको छ । उनीहरूले अरबको सबभन्दा गरीब देश यमनमा आक्रमण गरेर त्यहाँ मानवीय संकट उत्पन्न गरेका छन् । 

साढे दुई वर्ष बितिसक्दा पनि युद्धको कुनै परिणाम आउन सकेको छैन । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१७ को मे महिनामा साउदी अरबको आधिकारिक भ्रमण गर्नुभन्दा एक महिनाअघि मोहम्मद सलमान वाशिङटन गएका थिए र राष्ट्रपति समेत अन्य महत्त्वपूर्ण अधिकारीहरूलाई भेटेका थिए । 

आफ्नो ऐतिहासिक यात्राका बेलामा राष्ट्रपति ट्रम्पले अर्को ऐतिहासिक काम गरे । उनले साउदीसँग संसारकै सबभन्दा ठूलो हतियार सम्झौता गरे । उनले ११० अर्ब डलरका ट्यांक, आर्टिलरी, राडार सिस्टम, गाडी, ब्ल्याक हक हेलिकप्टर र साना क्षेप्यास्त्रको बिक्री सम्झौताको घोषणा गरे । 

सन् २०१६ को अप्रिलमा सलमानले भव्य आर्थिक विकास र सामाजिक सुधारको काम शुरु गरे । यसको मुख्य उद्देश्य साउदी अरबको तेलमा निर्भरता कम गर्नु थियो । मोहम्मद बिन सलमानले भिजन २०३० नाम दिएर देशमा नयाँ परियोजना शुरु गरे । यसअन्तर्गत सन् २०२० सम्ममा साउदी अरब तेलमाथि निर्भर रहनेछैन । 

उनले यसका लागि मरुभूमिमा आधी खर्ब डलर खर्च गरेर एउटा ठूलो शहर बसाउने योजना बनाएका छन् । यस शहरमा पुरुष र महिलालाई भेटघाट गर्ने सुविधा हुनेछ । साउदीको रूढिवादी समाजमा यस्ता कुरा पहिले सुनिएको थिएन । 

यसबाटै प्रस्ट थाहा हुन्छ, मोहम्मद सलमान आफ्नो भिजनका सम्बन्धमा स्पष्ट छन् । आफ्नो लक्ष्यको बाटोमा आउने सबै बाधालाई उनले हटाउनेछन् । 

कात्तिक १८ गते साउदी अरबमा युवराज सलमानको आदेशमा ठूलो संख्यामा मन्त्री र उच्च अधिकारीहरूलाई हिरासतमा लिइयो । यसलाई लामो चक्कुहरूको रात भनेर चिनिन्छ ।

साउदीको इतिहासमा यस्तो कारवाही कहिले पनि भएको छैन । पक्राउ गरिएका व्यक्ति सबैजना महत्त्वपूर्ण थिए र उनीहरूलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो । उनीहरूलाई अपमान गरिएको थियो । युवराजले कोही पनि नभागून् भनी सुनिश्चित गरेका थिए । भ्रष्टाचारको कारवाहीमार्फत सलमानले आफ्ना विरोधीलाई पन्छाएर शक्तिशाली बनेका छन् । 

युवराज सलमान साउदीमा धार्मिक विद्वानहरूसँग भिड्न सक्ने केही मानिसमा पर्छन् । उनले महिलाहरूलाई वाहन चलाउने अनुमति दिलाउनका लागि मुल्लाहहरूसँग भिडेका थिए । 

बीबीसीबाट
 

कात्तिक २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस