खोज/विशेष : फिचर

जसले भूकम्पपीडितका लागि ३५ करोडको सामान जुटाए ...

काठमाडौं, २५  कात्तिक – २०७२ वैशाख १२ मा नेपालमा ठूलो भूकम्प  गयो । भूकम्पले विश्वको ध्यान नेपालतिर खिच्यो । २९ वर्ष अघि नेदरल्याण्ड्समा जन्मिएका अमित अर्यालको ध्यान पनि भूकम्पले यतै तान्यो ।

नेपाली बाबु आमाबाट जन्मिएका भए पनि अमितले भूइँचालो अघि नेपालतिर खासै ध्यान पुर्याएका थिएनन् । उनी उतैका नागरिक हुन् । शिक्षा दिक्षा पनि उतै आर्जन गरेका छन् । अझ नेपाली पनि मुस्किलले बोल्छन् ।

उनका आफन्त वा छरछिमेकी कोही पनि भूकम्पमा परेका थिएनन् । तर नेपालमा भूकम्प गएपछि उनको मन नेदरल्याण्ड्समा अडिएन । सोँचे – सहयोग गर्छु ।

उनी एक्लैले गरेको सहयोगको खासै अर्थ थिएन । किनकी देशमा ठूलो जनधनको क्षति भएको थियो । उनलाई लाग्दो रहेछ हरेक मान्छेको आफ्नो आफ्नो दायित्व हुन्छ । त्यो दायित्व समय सन्दर्भमा सबैले पूरा गर्नुपर्छ ।

‘म स्वभावैले समस्यामा परेकाहरुलाई सहयोग गर्न रुचाउँछु,’ महिनादिन अघि नेपाल आइपुगेका अर्यालले भने, ‘भूकम्प पछि म नेपाल आएँ, नेदरल्याण्डस्मा थुप्रै सहयोग पनि जुटाएँ ।’

भूकम्पको एक महिना पछि उनी तत्कालै नेपाल आए । नेपालमा आएर गोरखा पुगेर बालबालिकाहरुलाई खाद्यान्न, खेल्ने र पढ्ने सामग्री सहयोग गरे । त्यतिले मात्रै नपुगेपछि उनले नेदरल्याण्स पुगेर फेरि लत्ताकपडा जुटाउने अभियान चलाए ।

उनी एक्लैले निकै मेहनत गरेर नेदरल्याण्डसमा लत्ता कपडा जुटाएका थिए । लत्ता कपडाको ढुवानीका लागि आवश्यक पर्ने रकम पनि केही डच नागरिकहरुले प्रदान गरेका थिए ।

‘३५ करोड नेपाली मुल्य बराबरको सरसामान ४ महिना लगाएर जुटाएको थिएँ,’ उनले भने, ‘नेदरल्याण्डसका नागरिकहरु नगदमा भन्दा पनि जिन्सीमा सामान प्रदान गर्न रुचाउँछन् ।’

उनले त्यो बेला ४० फिटको कन्टेनर भरेर नेपालतर्फ सामान पठाएका थिए । कन्टेनरभरी ५० हजार भन्दा बढी सामग्रीहरू थिए । नेदरल्याण्डसको एक इन्स्युरेन्स कम्पनीमा काम गर्ने अर्यालले सोही कम्पनीको मालिकसँग ढुवानी वापतको रकम पनि मागेका थिए ।

‘मैले निकै दुख गरेर सामान जुटाएँ, कलकत्ता हुँदै पानी जहाजबाट नेपाल ल्याएँ । तर नेपाल–भारत बोर्डरमा आएपछि सो सामान मैले कसैगरी पनि नेपाल ल्याउन सकिन,’ उनले भने, ‘मैले त्यत्रो दुख गरेर जम्मा गरेको सामान नेपालसम्म ल्याउन नपाएकोमा मलाई निकै दुख लागेको छ ।’

सामान ल्याउन नसकेकोमा दुख लागेपनि उनलाई पछुतो चाहिँ छैन । ‘सबैको आफ्नो आफ्नो ड्युटी हुन्छ, मैले मरो ड्युटी पुरा गरें,’ उनले भने, ‘नेपाल सरकारका अधिकारीहरुले चाहिँ आफ्नो ड्युटी पूरा गरेनन् ।’

सुरुमा उक्त सामान कोलम्बोमा अड्कियो । त्यसपछि कोलकत्तामा अड्कियो । अन्तिममा नेपाल भारत सिमानामा अड्कियो । सरकारी कागजपत्र नभएपछि भारतले कोलकातामा  सामान रोक्यो । कोलकातामा प्रक्रिया पुरा गरेर विरगञ्ज भन्सारसम्म ल्याइपुर्याएको सामान चाहिँ त्यहाँबाट नेपाल छिर्न सकेन ।

‘कोलम्बोमा सामान अड्किएपछि नेपाल आएँ । अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालय पुगें,’ उनले भने, ‘अर्थले ट्याक्स फ्रीको लागि विरगञ्ज भन्सारलाई पत्र लेख्यो ।’ विरगञ्जका लागि लेखिएको पत्रले उता काम नगरेको उनले बताए ।

नेदरल्याण्ड्स सरकारको सहयोगमा सो सामानलाई कोलकातासम्म ल्याएपनि फेरि भारतले सामान रोकेको उनले बताए । भारतले कोलकत्ताबाट सामान ल्याउनको लागि १० हजार डलर माग्यो । त्यहाँबाट पनि विभिन्न प्रक्रिया पूरा गरेर सामान विरगञ्ज नाकासम्म ल्याएको उनले बताए ।

‘विरगञ्जमा सामान ल्याएपछि भारतले नेपालले सिमा नाका बन्द गरेको छ भनेर सामान ल्याउन दिएन,’ उनले भने, ‘आफैंले लगाएको नाकाबन्दीलाई भारतले नेपालबाट सिमा बन्द छ भनेर सामान ल्याउन दिएन ।’ 

त्यहाँबाट अर्यालले सामान ल्याउन सकेनन् । उनले नाकाबन्दीपछि सो सामान ल्याउनको लागि उद्योग वाणिज्य महासंघलाई अनुरोध गरेका हुन् । तर महासंघले पनि फेरि चिठी पत्रकै लफडा सुनाएपछि उनले हात उठाए ।

‘त्यसपछि चाहिँ मैले हार खाएर छोडिदिएँ, विरगञ्ज नाकासम्म सामान आएको हो । त्यसपछि कता गयो मलाई थाहा छैन,’ उनले भने, ‘मैले त्यो समान जम्मा गर्दादेखि ल्याउनको लागि गरेको मेहनतको बारेमा रिपोर्ट बनाएको छु ।’

उनले कोलकातामा सामान अड्किएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि नेदरल्याण्डसका प्रधानमन्त्रीसम्मलाई इमेल लेखेको बताए । नेपालका सरकारी अधिकारीहरुलाई पनि इमेल लेखे । तर उनले नेपालका तर्फबाट सहयोग नभएकोले सामान ल्याउन नसकिएको बताए ।

आफूले जम्मा गरेको सामान ल्याउन नसकेकोमा उनले निकै दुःख प्रकट गरे । नेपालका लागि अझै पनि काम गर्ने बारे आफूले सोचेको उनले बताए । 

आफ्नो बुबाआमाको नेपालप्रतिको माया र नेपाललाई केही गर्नुपर्छ भन्ने प्रेरणाका कारण आपत्मा परेका नेपालीहरुका लागि लत्ताकपडा र विशेषगरी बालबालिकाका लागि पढ्ने र खेल्ने सामग्री सहयोग गर्ने उत्साह जागेको अमितले बताए ।

उनी आफ्नो निरन्तर प्रेरणाको श्रोत आफ्ना बुबाआमालाई मान्छन् । बुवा आमाले नेपालका केही गर्नुपर्छ भनेर सुनाउने गरेको कारणले पनि आफूमा उत्साह जागेको उनले बताए । तीन दशकअघि नेदरल्याण्डस् पुगेका उनका बुवाआमा व्यापार व्यवसायमा संलग्न छन् । 
 

कात्तिक २५, २०७४ मा प्रकाशित

विशाल भट्टराई

विशाल भट्टराई लोकान्तर डट कमका विशेष संवाददाता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस