साहित्य

कविता- ससाना बच्चाहरू खेलिरहेछन्

चन्द्र गुरुङ

ससाना बच्चाहरू माटोमा खेलिरहेछन् 
काठ र सिन्काका घरहरू छन् 
माटोकै भांडाकुंडा, थाल–बटुको, बाल्टिन र डेक्चीहरू छन् 
रमाएका छन् माटोकै खेलौनाहरूसँग ।

बच्चाहरू पानी खेलाउँदै छन्
पानीमाथि कागजको डुंगामा खुशी खियाइरहेछन्
लुछुप्पै पानीमा भिजेका छन् 
आनन्द मान्दै छन् पानीको शीतलतामा । 

बच्चाहरू फूल टिप्दै छन्
कानमाथि, केशमा रंगबिरंगी फूल सिउरेका छन् 
साथीसितको लडाई झगडा बिर्सिंदै 
डूबेका छन् मुग्ध फूलहरूको सौन्दर्यमा । 

बच्चाहरू बूढाबूढीसित जिस्किँदै छन्
सँगसँगै उफ्रिँदै र नाच्दै छन् 
यिनका अनुहारका मुजाहरूमा केही खोज्दै छन् 
नियाल्दै छन् सेतो कपालको रहस्य ।

बच्चाहरू जून मन पराउँछन, र मामा भन्छन्   
ताराहरूलाई आँखा झिम्काउँछन्
घामलाई हरेक बिहान खेल्न पर्खिरहन्छन्
बोटबिरुवासँग मस्त झुम्छन् 
गीत गुनगुनाउँछन् चराचुरुङ्गीहरूसित ।

खेलिरहेका बच्चाहरू खुशी देखिन्छन्  
जीवनको नजिक हुन्छन्
कुनै डर वा चिन्तादेखि धेरै पर पुग्छन्
रमाइरन्छन् यी बच्चाहरू एउटा छुट्टै संसारमा । 

यदि, 
यी बच्चाहरूछेउ जानुहुन्छ तपाई
उनीहरू सशंकित हुन्छन् 
उनीहरू डराउँछन्
उनीहरू चिच्याउँछन् 
उनीहरू प्रतिकार गर्छन्
उनीहरू रुन्छन् 
यस बखत 
बच्चाहरू एउटा सुन्दर संसार जोगाउन खोज्छन् 
छ जसलाई हामीबाट डर !

कात्तिक २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस