मुख्य समाचार

विष्णुको अवतारसँग तुलना गर्दै बाबुरामले भने–मैले नयाँ अवतार लिए

गोरखा २७ कात्तिक– नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले युग अनुसार आफूले नयाँ अवतार लिएको बताएका छन् । राजतन्त्रसँग लड्न माओवादी अवतार लिएको र आर्थिकसमृद्धि हासिल गर्नका लागि नयाँ अवतार लिएको उनले बताए । 


‘हाम्रा कथा पुराणमा पनि समय र युग अनुसार देवताले फरक फरक अवतार लिएको उल्लेख छ, त्रेता युगमा रावणसँग लड्न विष्णुले राम अवतार, द्वापर युगमा कंशसँग लड्न कृष्ण अवतार लिएको उल्लेख छ नि’ सिरानचोक गाउँपालिकाको मुसेखोलामा भएको कार्यक्रममा सोमबार भट्टराईले भने, ‘हामीले राजतन्त्रसँग लड्न माओवादी अवतार लियौं, अब पछि परेको आर्थिक अवस्थासँग लड्न र आर्थिक विकास र समृद्धि हासिल गर्नका लागि नयाँ अवतार चाहिन्छ, त्यसैले नयाँ शक्ति बनाएको हो, मैले नयाँ अवतार लिएको हुँ ।’ पुराणहरूमा भगवान विष्णुका विभिन्न दश अवतारबारे चर्चा गरिएको पाइन्छ ।


प्रतिनिधि सभातर्फ गोरखा २ बाट प्रत्यक्ष चुनाव लडेका भट्टराईले घरदैलो कार्यक्रमबाट उत्साही भएको बताएका छन् । सोही क्षेत्रबाट माओवादीका नेता नारायणकाजी श्रेष्ठ उम्मेदवार छन् । 


संविधानसभाका दुईवटै चुनावमा गोर्खा क्षेत्रबाट चुनाव जितेका भट्टराई ‘ह्रयाट्रिक’ गर्ने योजनामा छन् । पहिलो चरणमा चुनाव हुने गोर्खामा बाबुराम भट्टराइलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठ र भट्टराईबीचको चुनावी भिडन्तलाई चासोका साथ हेरिएको छ । 
 

कात्तिक २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस