राजनीति

धनुषामा निधि : पहिले कामै गरेनन्, पछि अर्बौं खन्याए

जनकपुरधाम, २८ कात्तिक – ‘मिथिलाको राजधानी जनकपुर मेरो घर हो । यहाँ मैले बामे सर्न सिकें, पढें हुर्किएँ । मेरो राजनीति धनुषाबाट सुरू भएर राष्ट्रिय भयो । समाजवाद श्रद्धेय विपीको सपना र सोच हो । समाजवादको नारा दिएर साम्यबाद लाद्ने र आम जनताका नैसर्गिक अधिकार कुण्ठित गरेर जनतालाई दास बनाउने षड्यन्त्र विरूद्ध सचेत रहन सबैमा आग्रह गर्दछु ।’

१६ कात्तिकमा धनुषा ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गर्दै गर्दा कांग्रेस नेता विमलेन्द्र निधिले सामाजिक संजालमा माथिका हरफहरू लेखेका थिए । निधिले साम्यवाद विरुद्ध कडा प्रहार गरेको देखिन्छ । अघिल्लो चुनावमा उनलाई एमालेकी जुली महतोले कडा चुनौती दिएकी थिइन् ।

अहिले जुली समानुपातिकमा छिन् । निधिसँग चुनाव भिड्न गठबन्धनबाट माओवादीका विना विभागिय राज्यमन्त्री रामसिंह यादव मैदानमा उत्रिएका छन् ।

निधिले भोट माग्दैगर्दा धनुषासँगको आफ्नो स्थानीय साइनो जोडिरहेका छन् । ‘धनुषा मेरो जन्म घर मात्र होइन, मेरो राजनीति र लोकतन्त्रको प्राप्ति, विकास र रक्षाका लागि अनवरत संघर्ष गर्न सिकाउने गुरु समेत हो । निरंकुश पञ्चायति व्यवस्था विरुद्ध पहिलो पटक यही भुमिबाट मैले आन्दोलनमा सहभागी भएँ । कलिलो उमेरमै काराबासको सजाय भोगें । तर, म अविचलित यस भुमिको अधिकार, विकास र सम्मानका लागि लडिरहें, लड्दै आएको छु । र, लडिरहनेछु,’ निधिले भन्ने गरेका छन् ।

निधिसँग राजपाका अध्यक्ष राजेन्द्र महतो पनि चुनावी मैदानमा छन् । महतो सर्लाहीबाट धनुषा गएका हुन् । निधिले यो क्षेत्रमा दुई पटकसम्म चुनाव जितेका थिए । 

राजनीति घाटानाफा हेर्ने व्यवसाय होइन 

राजनीति आस्था, विश्वास, सिद्धान्त र नीतिमा आफूलाई अडिग र अक्षुण राख्दै आफ्नो भुगोलको नेतृत्वलाई जनहितकारी र राष्ट्रहितमा समर्पित गर्ने कर्म भएको निधिले बताउँदै आएका छन् । यो कुनै निश्चित उद्देश्य, रणनीति र कुटनीति अपनाउँदै मतदाताको विश्वास भन्दा मतको अंक गणित गर्ने व्यवसाय नभएको पनि निधिले बताएका छन् ।
२४ कात्तिकमा निधिले उल्लेखित विभिन्न कुराहरू सामाजिक सञ्जालमा लेखेका थिए । गठबन्धनले निधिको ठाउँमा कमजोर उम्मेदवार उठाएको छ । यसरी हेर्ने हो भने धनुषा ३ मा निधि र महतोको सिधा लडाईं हुने अनुमान गर्न सकिन्छ ।

निधिका सवल पक्षहरु
 

निधि अहिले धनुषाको मात्र नभएर देशमै शिर्ष नेताको रुपमा स्थापित हुन सफल भएका छन् । उनकै संयोजकत्वमा जनकपुरमा राजर्षी जनक विश्वविद्यालय स्थापना गर्ने भनेर दुई दशक देखिको सपना साकार भएको छ । अब जनकपुरमा उक्त विश्वविद्यालय स्थापना हुने लगभग निश्चित भइसकेको छ । निधिले उक्त विश्व विद्यालय खोल्नका लागि पहल कदमी लिएका थिए ।

सुशिल कोइराला नेतृत्वको सरकारमा भौतिक योजना तथा पुर्वाधार मन्त्री रहेका बेला निधिले धनुषा ३ को विकासका लागि महत्वपुर्ण योगदान निर्वाह गरे । उनको संसदीय क्षेत्रको प्रायः जसो सबै गाउँहरुमा पक्की सडक निर्माण भएका छन् । कतिपय सडकहरु, पुलहरु निर्माणाधिन रहेका छन् । ती सबैको कारण आफ्नो क्षेत्रमा विकासप्रेमी नेताको रुपमा उनले छाप छोड्न सफल भएका छन् । 

एनका विपक्षी दलका नेताहरु पनि के कुरामा सहमत छन् भने निधिले गरेको पुर्वाधार विकासको कार्य कुनै पनि नेताले गर्न सक्ने थिएनन् । यद्यपि ती विकास निर्माणका कार्यहरुमा ठेकेदारहरुले ढिलासुस्ती गर्नुका साथै गुणस्तरहीन काम गरिरहँदा पनि त्यसलाई नियमन गराउन निधि भने चुकेकै हुन् ।

जटही, जनकपुर र ढल्केवर सम्मको सिक्स लेन राजमार्ग निर्माण अहिले भईरहेको छ । त्यो महत्वाकांक्षी परियोजना अहिले साकार हुँदै जानुमा निधिको एकल प्रयास हो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रि हुँदा निधिले विकासका लागि ठुलो रकम सहितको बजेट विनियोजन गरेर धनुषामा मात्र नभएर मध्य तराई मधेसमा विकास निर्माणको पुर्वाधारमा ठुलो योगदान पुर्याएका छन् ।

धनुषा, महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा र रौतहट जिल्लामा बजेटको खोला नै बगाएपछि उनको छवि विकास प्रेमी नेताको रुपमा बन्न पुग्यो । निधिले धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, मकवानपुर र रौतहट गरी कुल ७ वटा जिल्लाहरुमा विकास निर्माणका लागि सडक र पुल निर्माणका निम्ति ८ अर्ब ३४ करोड रुपैयाँ भन्दा वढी विनियोजन गरेका थिए ।

खास गरी विकासको लागि बर्षौंदेखि केन्द्रको मुख ताकिरहेका धनुषा र महोत्तरी जिल्लामा निधिले बढी बजेट बिनियोजन गरेको थियो । धनुषा र महोत्तरीमा सडक निर्माणका लागि २ अर्ब ५० करोड रुपैयाँ, जनकपुरको सहर भित्र विभिन्न सडकहरु निर्माणका लागि ४४ करोड रुपैयाँ, धनुषामा थप प्रस्तावित सडकहरुको लागि ३३ करोड रुपैयाँ, ६ लेन सडकका लागि १ अर्ब २३ करोड रुपैयाँ, मिथिला माध्यमिकी परिक्रमा सडकका लागि १ अर्ब रुपैयाँ र धनुषामा पुलहरु निर्माणका लागि ७७ करोड गरी कुल ६ अर्ब २७ करोड रुपैयाँ बजेट अहिले विनियोजन गरेको थियो ।

त्यसैगरी बारा जिल्लामा ४० करोड रुपैयाँ, पर्सामा १८ करोड रुपैयाँ, मकवानपुरमा ४ करोड ५० लाख रुपैयाँ, सर्लाही र रौतहट गरी दुई जिल्लामा मात्र १ अर्ब ४५ करोड रुपैयाँ मन्त्री निधिले विकास तथा पुर्वाधार निर्माणका लागि विनियोजन गराएका थिए ।

डिभिजन सडक कार्यालय धनुषा मार्फत प्रादेशिक सडक, क्षेत्रिय सडक, मिथिला सडक लगायतका विभिन्न शिर्षकमा धनुषा र महोत्तरी जिल्लाको लागि मात्र निधिले कुल १६ वटा मुख्य योजना अन्तरगत कुल २ सय ३८ किलो मिटर सडक कालोपत्रे गर्नका लागि करिब २ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । 

हुन त ती योजनाहरु मध्ये मन्त्री निधिले आफ्नो निर्वाचन क्षेत्र ३ लाई बढी प्राथमिकता दिइ अधिकांश बजेट छुट्याएका थिए भने तत्कालिन क्षेत्र ४ जनकपुरको सहरी सडक अन्तरगत कुल ४० किलो मिटर सम्मको कुल ४० वटा सडकको लागि कुल ४४ करोड रुपैयाँ छुट्याएका थिए । त्यसपछि धनुषाको अन्य निर्वाचन क्षेत्र र महोत्तरी जिल्लाको लागि बजेट छुट्याएका थिए ।

त्यसैगरी उनले धनुषा र महोत्तरीको लागि प्रस्तावित गरेको २० किलो मिटर भन्दा वढी कुल ६ वटा सडक योजनाको लागि ३३ करोड रुपैयाँ बजेट छुट्याई ठेक्कामा लग्नको लागि प्रक्रिया समेत थालेका थिए ।

त्यसैगरी मिथिला माध्यमिकी परिक्रमा अन्तरगत कुल ९८ किलो मिटर सडक समेत मन्त्री निधिले कालो पत्रे गराउन बजेट विनियोजन गराएका थिए । ८६ किलो मिटर रिंग रोड र अर्को हनुमान नगर देखि भारतको कल्याणेश्वर बोर्डरसम्म ९.५ किलोमिटर र जनकपुरको मिल्स एरिया देखि रेल्बे स्टेशन सम्म ३ किलो मिटर गरी बन्ने कुल ९८ किलो मिटर परिक्रमा सडकका लागि करिब १ अर्ब रुपैयाँ जति लाग्ने अनुमान गरिएको छ । 

बारामा कुल ११ वटा योजनाहरुको लागि कुल ४० करोड रुपैयाँ, पर्सामा कुल १५ वटा योजनाको लागि १८ करोड रुपैयाँ र मकवानपुरमा कुल ५ वटा योजनाको लागि रु. ४ करोड ५० लाख बजेट छुट्याएका थिए । निधिले सर्लाही र रौतहट जिल्लाका लागि रु. १ अर्ब ४५ करोड बजेट छुट्याएका छन् । निधिले धनुषामा ६ र महोत्तरीमा कुल ८ गरी कुल १४ वटा पुल निर्माणको लागि ७७ करोड रुपैयाँ भन्दा वढी बजेट विनियोजन गरेका थिए । 

निवर्तमान सांसद संजय साहको समर्थन
 

धनुषा क्षेत्र नं.४ मा लगातार दुई पटक निर्वाचित भएका निवर्तमान सांसद संजय साहले कारागारबाटै विमलेन्द्र निधिलाई समर्थन गरेका छन् । 

सद्भावना पार्टीबाट सांसद बनेको भएपनि तत्कालिन अध्यक्ष राजेन्द्र महतोले आफुलाई धोका दिएको, पक्राउ परेपछि रिहाईका लागि कुनै पनि पहल नगरेको, आफुलाई फरार हुन र पक्राउन समेत महतोलेनै षड्यन्त्र गरेको भन्दै संजय साहले आफ्ना समर्थकहरुलाई कारागारबाटै फोन गरेर विमलेन्द्र निधिलाई समर्थन गर्न भनिरहेका छन् ।

संजय साह अहिले विभिन्न मुद्दामा अभियूक्त भई कारागारमा थुनामा छन् । संजय साहको उक्त भनाई पछि उनका समर्थकहरु निधिको पक्षमा प्रचारप्रसार गर्दै हिँडिरहेका छन् ।

साहुजी समुदायलाई म्यानेज गर्दै निधि
 

साहुजी समुदाय माथि आफ्नो पकड बलियो बनाउन निधि विस्तारै विस्तारै सफल भइरहेका छन् । जनकपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रमेश साह, राम यूवा कमिटिका पुर्व अध्यक्ष रामबाबु साह, गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ, स्वतन्त्र भई उपमेयर उठेका यूवा राकेश विक्रम साह लगायतको कांग्रेसमा प्रवेश पछि कतिपय साहुजी समुदायले निधिलाई समर्थन गरेका छन् ।

निधिका अप्ठ्यारा
 

सबैभन्दा ठुलो चुनौति के हो भने उनका सामु राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो नै प्रतिस्पर्धी भएर चुनावी मैदानमा होमिएका छन् । जसरी निधिको राष्ट्रिय पहिचान स्थापित छ त्यसैगरी राजेन्द्र महतो पनि मधेसमा मात्रै नभएर राष्ट्रिय पहिचान बनाउन सफल नेता हुन् ।

खासगरेर संविधान निर्माणका समयमा भएको तेस्रो मधेस आन्दोलनमा एकातर्फ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा चर्चित भए भने मधेसमा राजेन्द्र महतो लोकप्रिय भए । नाकाबन्दीका दौरानमा विरगञ्ज नाकामा निरन्तर धर्ना दिनु, विराटनगरमा सुरक्षाकर्मीबाट कुटाई खाएर घाइते हुनु, आन्दोलनका समयमा उग्रनाराहरु दिनु, हार्डलाईनर मधेसवादी नेताको रुपमा आफुलाई स्थापित गराएका राजेन्द्र महतोलाई पराजित गर्नु विमलेन्द्र निधिलाई सजिलो हुने छैन ।

किनभने स्थानीय तहको निर्वाचनमा राजपा नेपालले जनकपुरमा जित हात पारेको थियो । यद्यपि त्यो मतमा अहिले कमि भने पक्कै आएको छ । तर, त्यसैकारण निधि जितिहाल्ने अवस्था देखिँदैन ।

जनकपुर सहरमा साहुजी समुदाय र ब्राम्हण समुदायको संख्या वढी रहेको छ । ती दुवै समुदाय निधि प्रति असंतुष्ट देखिन्छन् । खास गरेर महतो आफै बैष्य समुदायका भएका कारण अधिकांश साहुजी समुदायले राजेन्द्र महतोलाई मतदान गर्न सक्ने सम्भावना देखिन्छ ।

किनभने विगतका दुई पटकको संविधानसभाको निर्वाचनमा पनि संजय साह नै निर्वाचित भएका थिए । यद्यपि निधिले प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट जनकपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष श्याम साहलाई टिकट दिएर साहुजी मतलाई विभाजन गर्ने प्रयास गरेपनि त्यो भने पर्याप्त देखिँदैन । 

निधिको ग्रामिण क्षेत्रहरुमा रहेका ब्राम्हण समुदाय निधि प्रति असंतुष्ट देखिन्छन् । ग्रामिण क्षेत्रका ब्राम्हण समुदायको अधिकांश मत राजपा नेपाललाई जाने सम्भावना किन पनि देखिन्छ भने राजपा नेपालले ग्रामिण क्षेत्रको प्रदेश सभामा ब्राम्हण समुदायबाट पुर्व सभाषद कबिन्द्र ठाकुरलाई उठाएका छन् ।

निधिमाथि जातिकरणको आरोप
 

विमलेन्द्र निधि एउटा सर्वमान्य नेता भन्दा पनि आफ्नै जातिलाई मात्र अवसर दिने गरेको भनेर अन्य समुदायहरु असंतुष्ट देखिएका छन् ।

खासगरेर विभिन्न पेशामा रहेका पेशाकर्मीहरु, प्राध्यापकहरु, कानुन व्यवसायीहरु, बुद्धिजिवीहरु असंतुष्ट देखिएका छन् । विमलेन्द्र निधिका दाजु नवेन्द्र निधि यस अघि जनकपुरको राराब क्याम्पसमा क्याम्पस प्रमुख भएका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा गर्दा आफ्नै जाति कायस्थ समुदायलाई मात्र प्राथमिकता दिएको भन्दै अन्य समुदायका प्राध्यापकहरुमा असंतुष्टी देखिएको छ । 

उच्च अदालतको न्यायाधीश नियूक्तिका लागि जनकपुरबाट कतिपय कानुन व्यवसायीहरुले आवेदन भरेका थिए । तर, कांग्रेस निकट डिएलएका कानुन व्यवसायीहरुलाई न्यायाधीशमा नियूक्त नगरी आफ्नै भाई राकेश निधिलाई न्यायाधीश बनाएपछि कांग्रेस निकटकै कानुन व्यवसायीहरु असंतुष्ट देखिन्छन् । 

त्यसैगरी विमलेन्द्र निधि भौतिक योजना तथा निर्माण मन्त्री हुँदा २ सय ५० जना कम्प्यूटर अपरेटरको नियूक्ति गर्दा आफ्नै जाति कायस्थबाट करिब २ सय जनाको नियूक्ति गरेको भन्दै अन्य समुदायहरु असंतुष्ट देखिन्छन् । 

विमलेन्द्र निधि गृहमन्त्री भएको बेलामा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट दिलाइएको अधिकांश मानपदक आफ्नै समुदायका व्यक्तिहरुलाई बढी दिएको र अन्य समुदायलाई नामको लागि मात्र समावेश गरेको भन्दै जनकपुरका साहुजी समुदाय देखि अन्य समुदायहरु असंतुष्ट देखिन्छन् ।

संविधान जारी गर्ने देखि गृहमन्त्री हुँदा सप्तरीको मलेठमा ५ जना यूवाहरुको सुरक्षाकर्मीहरुद्वारा हत्या गरिएको आरोप समेत विपक्षी राजपाले लगाईरहेको अवस्थामा नेता निधिलाई समेत मधेस विरोधी नेताको रुपमा चित्रण गरिरहेको अवस्थामा निधिले ती सबै आरोपहरुलाई चिर्दै कसरी अगाडी वढ्ने छन् त्यो भने हेर्न बाँकी छ । 

निधिको राजनीति र वर्तमान अवस्था
 

बिमलेन्द्र निधि धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट  पहिलो पटक संविधान सभामा निर्वाचित भएपछि पनि यो क्षेत्रमा केही पनि विकास नगरेको भन्दै उक्त क्षेत्रका जनताहरु निधि प्रति आक्रोशित थिए । 

त्यसमा पनि उक्त क्षेत्रबाट विमलको बुवा महेन्द्र नारायण निधि पनि निर्वाचित हुने गरेको अवस्थामा छोरा पनि निर्वाचित भएपछि विकास नहुँदा उक्त क्षेत्रका जनताहरु निधि प्रति आक्रोशित हुनु स्वाभाविक थियो ।

उक्त क्षेत्रमा कहिँ पनि पक्की सडक थिएन । उक्त क्षेत्रमा धेरै पहिले निर्माण भएको जनकपुर देखि जटही सम्मको एक मात्र पक्की सडक टुटेको बर्षौं बितिसक्दा पनि निधिले केही गर्न सकेका थिएनन् । यति मात्र होइन उनी शिक्षा मन्त्री हुँदा उनैले भन्ने गरेको जनकपुरमा राजर्षी जनक विश्व विद्यालय बनाउने सपना समेत साकार गर्न नसक्दा उनी विश्व विद्यालयको स्थापनाको अजेण्डा आफैले विर्सेको भन्ने सम्म भनियो ।

 उनले आफ्नो बुवा महेन्द्र नारायण निधिको नाउँमा काठमाडौंको गौशालामा महेन्द्र नारायण निधि मेमोरियल अस्पताल बनाउँदा जिल्लावासी थप असंतुष्ट बने ।

गृह जिल्लामै अस्पताल बनाएको भए यहाँका जनताहरुले सस्ता र सुलभ ढंगले उपचार गराउन पाउथे भन्ने सोच स्थानीयवासीले राखेका थिए ।

दोस्रो संविधान सभाको चुनावको परिणामलाई हेर्ने हो भने पनि निधि १ हजार ४ सय ९२ मत अन्तरले मात्र विजयी भएका छन् । जुली महतोले १३ हजार ५ सय ३९ मत ल्याएकी थिईन भने विमलेन्द्र निधिले १५ हजार ३१ मत प्राप्त गरेर झिनो मत अन्तरले विजयी हुनुले पनि निधिले आगामी दिनमा क्षेत्रमा विकास नगर्ने हो भने अब कठिनाई हुने सहजै बुझिसकेको हुनुपर्दछ । 

त्यसैले उनले सबै भन्दा पहिले राजनीतिलाई जिवित राख्न आफ्नो संसदीय क्षेत्रमा विकास जसरी पनि गर्नै पर्छ भन्ने मुड बनाएर भौतिक योजना तथा पुर्वाधार मन्त्री भएको बेला निधिले  निर्वाचन क्षेत्र नं. ३ मा मात्रै २ अर्ब भन्दा वढीको रकम लगानी गराएका थिए । अहिले उक्त क्षेत्र धनुषाकै अन्य क्षेत्रहरु भन्दा विकासको मामिलामा सबैभन्दा अगाडी देखिन थालिएको छ ।

नेपाली कांग्रेसमा मधेसी नेताहरु मध्ये विमलेन्द्र निधि अहिले सबै भन्दा ठूलो उचाईको नेता हुन । विगतमा निधि भन्दा ठुलो कद बनाई कांग्रेसमा स्थापित भएका महन्थ ठाकुर, जयप्रकाश गुप्ता लगायतका नेताहरु पार्टी परित्याग गरिसकेपछि उनी अहिले शिर्ष स्थानमा पुगेका छन् ।

विमलेन्द्रको राजनीतिक करियर

हुन त अहिलेको पुस्ताले विमलेन्द्र निधिले आफ्नो बुवा महेन्द्र नारायण निधिको राजनीतिक वारिस भनेर बुझलान् । तर, उनको राजनीतिक जीवनलाई हेर्ने हो भने राजनीतिमा उनी विद्यार्थी काल देखि नै सक्रिय रहेको पाइन्छ ।

निधिका  हजुरबुवा राजेश्वर निधि जमिन्दार थिए । त्यतिबेला उनको संगत राणाहरुसँग हुन्थ्यो । खास गरी सत्तामा रहेका राणाहरुबाट निस्कासित तथा अपहेलित सि ग्रेडका राणा जमिन्दारहरु राम शम्शेर राणासँग थियो ।

राजेश्वर निधि करिब २ सय विघा जमिनका जमिन्दार थिए । गाउँमा बच्चाहरुलाई पढाउनको लागि उनी एउटा विद्यालय संचालन गर्न चाहन्थे । जसको स्वीकृति लिनका लागि तत्कालिन राणा शासकहरुबाट अनुमति लिनु पथर््यो । उक्त प्रयास गर्दा बच्चालाई संस्कृत पढाउनु छ भने मटिहानी पाठशालामा पढाउनु, अंग्रेजी पढाउनु छ भने हिन्दुस्तानमा पढाउनु भनेर राणा शासकले जवाफ दिएपछि राजेश्वर निधिले विरोध गरेका थिए ।

त्यसकारण उनलाई हिरासतमा एक दिन थुनिएको पनि थियो । पछि २००३ मा पदम शम्शेर प्रधान मन्त्री भएको बेलामा नेपालको बैधानिक कानुन बनेपछि मृगेन्द्र शम्शेर तराई दौडाहामा आए । अनि दुई वटा विद्यालय खोल्नका लागि स्वीकृति दिईयो ।

जब उनले एउटा विद्यालय आफ्नै गाउँ नगराईनमा खोल्ने प्रस्ताव राखे तब धेरै गाउँका मानिसहरु त्यहाँ जान नसक्ने भएपछि जनकपुरमा सरस्वती मावि र यदुकुहामा गौरीनारायण गिरीले विद्यालय खोल्न लगाए । अनि नगराईनमा प्राथमिक विद्यालय स्थापना भयो ।

विमलका बुवा महेन्द्र नारायण निधि नेपाली कांग्रेसका संस्थापक नेताहरु मध्येका एक हुन् । राणा शासनको विरुद्धमा र राजा महेन्द्रले चालेको निरंकुश कदमको विरुद्धमा उनी सहभागी भएका थिए । यति मात्र होइन २०४६ सालको आन्दोलनमा समेत उनी सहभागी भएका थिए ।

जब कांग्रेसको स्थापना भएको थियो त्यति बेला पनि दुई वटा कांग्रेस थियो । सुवर्ण शम्शेर र महाविर शम्शेरहरु नेपाल प्रजातान्त्रिक कांग्रेसमा थिए जो सशस्त्र क्रान्ति र सेना परिचालनको पक्षमा थिए भने अर्को तर्फ विपी कोइराला, गणेश मान सिंह, कृष्ण प्रसाद भट्टराई र महेन्द्रनारायण निधिहरु नेपाली राष्ट्रिय कांग्रेसमा थिए ।

जब पार्टी एकिकरण भयो र २००७ सालको सशस्त्र आन्दोलनमा कांग्रेस होमिएपछि महेन्द्र नारायण निधि २०१७ सालको आन्दोलनमा महात्मा गान्धी र राममनोहर लोहियाबाट प्रभावित भई हिंसाको विरुद्धमा शान्तिपुर्ण संघर्ष देश भित्रै गर्ने लाइन लिए ।

पछि मात्र विपी कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर देश भित्र फर्किएका थिए । त्यही लाइनलाई निरन्तरता दिँदै विमलेन्द्र निधि अहिले पनि शेरबहादुर देउवा खेमामा लागेका छन् । उनलाई कतिपयले देउवाको राइट हयाण्ड पनि भन्ने गर्छन ।

जब विमलेन्द्र निधि राराब कलेजमा पढ्थे उनलाई कलेजबाट निस्कासन पनि गरेको थियो । २०३२ सालमा जब बैकुण्ठ प्रसाद विजुक्छे क्याम्पस प्रमुख थिए उनले शुल्क वृद्धि गरेका थिए । शुल्क बृद्धिको विरोध गरेका विमलेन्द्र निधि सँगै रामसरोज यादव, दिगम्बर राय, महेश शंकर गिरी, राजकुमार भारती लगायत करिब २५÷३० जना विद्यार्थीहरुलाई क्याम्पस प्रमुख विजुक्छेले १ वर्षको लागि क्याम्पसबाट निष्काशन गरेका थिए । 

निष्काशित भएपछि विमलेन्द्र काठमाण्डौको पाटनमा पढ्न गए । हुन त त्यतिबेला विमलका दाजु नवेन्द्र निधि पनि विद्यार्थी राजनीतिमा लागेका थिए । तर पछि उनी प्राध्यापन पेशामा लागे ।

अर्को तर्फ एक वर्ष पछि विमल जनकपुरको राराब क्याम्पसमा फर्केर विद्यार्थी राजनीतिमा सक्रिय भए । पछि २०३६ सालमा जनकपुरको गोपाल धर्मशालामा विपी कोइरालाबाट उद्घाटन गरिएको नेपाल विद्यार्थी संघको केन्द्रिय महाधिवेशनबाट केन्द्रिय सभापतिमा सर्बसम्मत चुनिएका थिए ।

जसले उनको राष्ट्रिय पहिचान स्थापित हुन गयो । पछिल्लो सरकारमा उनी उपप्रधान तथा गृहमन्त्री बन्न सफल भएका थिए ।
 

कात्तिक २८, २०७४ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस