राजनीति

तीनपटक मन्त्री बनेका मात्रिका पहिलोपटक चुनावी प्रतिस्पर्धामा

जनकपुरधाम, २९ कात्तिक– माओवादी केन्द्रका प्रभावशाली नेता मात्रिका यादव हुन त तीनपटक मन्त्री भइसकेका छन् । तर प्रतिनिधिसभाको चुनाव पहिलोपटक फेस गर्दैछन् । धनुषाको निर्वाचन क्षेत्र नं.१ बाट मात्रिकाले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दिएका छन् । 

बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका कार्यालय सदस्यसमेत रहेका यादवलाई तिन पटक चुनाव जितेका नेपाली कांग्रेसका केन्द्रीय नेता आनन्द प्रसाद ढुङ्गानाले चुनौति दिएका छन् । त्यसैगरी संघीय समाजवादी फोरम नेपालबाट दिपक कार्कीले समेत चुनौति दिनेछन् । 

एउटा क्रान्तिकारी र भ्रष्टाचार विरोधी नेताको रुपमा छवि बनाउन यादव सफल भएपनि उनलाई चुव जित्न त्यति सहज भने देखिएको छैन । किनभने धनुषामा पञ्चायत कालमा शेरेधनुषाको उपाधि पाएका हेम बहादुर मल्ललाई लगातार तीन पटक हराएका नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुङ्गानासँग उनले चुनावी मैदानमा प्रतिस्पर्धा गर्नुपर्नेछ । 

ढुङ्गाना आफै पनि नेपाली कांग्रेसको नेताहरु स्वर्गीय गिरिजा प्रसाद कोइराला र स्वर्गीय सुशील कोइरालाको प्रधानमन्त्री कालका किचेन क्याविनेट नेताको रुपमा चिनिने गरिन्थ्यो । ढुङ्गाना पनि दुईपटक मन्त्री बन्नुका साथै नेपाली कांग्रेसका संगठन विभाग प्रमुख देखि प्रमुख सचेतक सम्मको भुमिका निर्वाह गरिसकेका छन् । 

धनुषा–१ मा गणेशमान चारनाथ, धनुषाधाम, मिथिला, क्षिरेश्वरनाथ, मिथिला विहारी, सबैला र हंशपुर नगरपालिका गरी सातवटा स्थानीय तह छन् । त्यसमध्ये गणेशमान चारनाथ नगरपालिका र सवैला नगरपालिकामा माओवादी केन्द्रले उपमेयर मात्र जितेको छ । अरु केही वडाहरुमा जितेको छ । अरु बाँकीमा काँग्रेस र मधेशवादी दल जितेका छन् । यहाँ स्थानीय तहमा काँग्रेसले बढी सीट जितेका छ ।

मात्रिकाको राजनीतिक यात्रा

पञ्चायति व्यवस्था विरुद्ध आफ्नै गाउँ सबैलामा कांग्रेस कार्यकर्ताहरुको प्रभावमा परेर मात्रिका राजनीतिमा आएका थिए । २०३३ सालमा जब विपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर ‘मेरो घाँटी र राजाको घाँटी एउटै हो’ भनेर नेपाल आएपछि मात्रिका कांग्रेसबाट अलग भए । 

एउटा नयाँ पार्टी खोज्नुपर्छ जसले बर्गिय, सामाजिक र राष्ट्रिय उत्पीडनलाई मुक्ति दिलाउन सकोस भन्ने उद्देश्यले २०३४ सालमा नेकपाको चौथो महाधिवेशनमा उनी भाग लिए । २०३५/०३६ सालको आन्दोलनमा भाग लिनुका साथै मात्रिका जनमत संग्रहमा पनि उनी सहभागी भए । 

त्यसपछि कलेजको पढाई गर्न सिरहा गएका बेला सिरहा क्याम्पसमा दुई पटक स्ववियु सभापति समेत बनेका थिए । होल टाईमर रुपमा राजनीतिक जीवन विताउँदा पञ्चायत कालमा विभिन्न आरोप खेपेर उनी जेल समेत परे । 

२०३८ सालमा विद्यार्थीको सातौ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बने । त्यसताका भूमिगत थियो, संगठन । राजधानीबाट उनी इन्द्रचोकबाट पक्राउ परे । उनी विद्यार्थी भन्दापनि पार्टीमा बढी सक्रिय थिए । 

चौम (चौथो महाधिवेशनका पोलिटव्युरो सदस्य (पीबीएम) समेत रहेका उनी सिरहा मिर्चैया बडहराका जयगोविन्द साहबाट वर्गिय र सैद्धान्तिक कुराको ज्ञान लिएका थिए । त्यसताका उनले सबैला (उनको गाउँ) क्षेत्र उनले खुबै तताएका थिए ।

२०३८ चैतमा समातेर सरकारले उनलाई डिल्लीबजार खोरमा चार महिनासम्म राखेको थियो । त्यहाँ उनले ठूलो संघर्ष गरेका थिए । जेलभित्रै अश्रुग्यास र गोली चल्यो । आफूलाई रिहा गर्नु पर्ने माग राख्दा जेलका नाइकेहरु मातृका यादवमाथि आक्रमण भएको थियो । त्यतिबेला मातृका यादवहरुले जेलको गेट कब्जामा लिएको थिए ।

विस २०३९ मा जेलबाट छुटेपछि उनी पुनः कम्युनिष्ट पार्टीमा सक्रिय भए । विस २०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रिय सदस्य र पार्टीमा क्षेत्रिय व्युरो सदस्य थिए, उनी । यहाँसम्म आईपुग्दा उनी ‘होल टाइमर’ कार्यकर्ताका रुपमा पार्टीमा सक्रिय भइसकेका थिए ।

२०४२ तिर उनीमाथि विभिन्न झुठा मुद्दा लगाएर जेल चलान गरियो । त्यसताका मातृका नौ महिना जेलमा बसे । २०४४÷४५ तिर पार्टी जनयुद्धमा जाने बहुसंख्यकको माग थियो । त्यसताका मातृका क्षेत्रिय व्यूरो सदस्य थिए । 

२०४६ तिर पार्टीले भौतिक प्रशिक्षण शुरु गयो । त्यसमा पनि उनी सक्रिय रहे । फेरी उनी पक्राउ परे । झण्डै १८ महिनासम्म उनलाई खरखजाना, राजकाज, ज्यानलगायतका मुद्दामा जलेश्वर जेलमा राखियो ।

पार्टी पातलो मसाल, मोटो मसाल हुदै एकता केन्द्र बन्दासम्म मातृका क्रान्तिकारी धारमै सक्रिय थिए । २०५०÷५१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । उनलाई केन्द्रिय समितिमा ल्याउने कुरा भयो । उनी रामबृक्ष यादव मास्टर साहेबलाई केन्द्रिय सदस्य बनाउनु पर्ने अडान राखे र आफू गएनन् ।
 
२०५१ मा पार्टीको तेस्रो विस्तारित वैठकपछि पार्टी नेकपा (माओवादी) बन्यो । पार्टी भूमिगत बन्यो । उनी धनुषामा केन्द्रित रहे । २०५६ मा श्रीमतिको उपचारका क्रममा काठमाडौ आउँदा पक्राउ परे उनी । एक वर्षसम्म उनलाई वेपत्ता पारियो । 

२०५८ मा फेरी उनी जेलमा परे । २०५९ मा सरकारसंग पहिलो वार्तामा उनी जेल मुक्त भए भने दोस्रो वार्तामा टोलीका सदस्य बने । २०६० मा फेरी दिल्लीबाट पक्राउ परे । २०६३ को वैशाख अन्तिमतिर उनी छुटे  ।

माओवादीको केन्द्रीय सदस्यका रुपमा रहेका यादव जनयूद्ध कालमा सुरुमा प्रशिक्षकको रुपमा काम गरेका थिए । पछि उनलाई लजिस्टिक  डिपार्टमेन्टको प्रमुख बनाइयो । तर, त्यहाँ तस्करहरुसँग भेटघाट गर्नुपर्ने भएकाले त्यो विभाग छोडेर जनयूद्ध कालमा पार्टी भित्रको अन्य काममा उनी लागे । 

२०५६ सालको चैत्र महिनामा काठमाण्डौमा मधेसी बुद्धिजिविहरुसँग भेटन जाँदा उनलाई प्रहरीले पक्राउ गरेको थियो । २२ महिनाको कारावास पछि उनी रिहा भएका थिए । त्यसैगरी भारतमा भुमिगत रहेको बेला २०६० सालको माघमा दिल्लीमा उपेन्द्र यादव, सुरेश आले मगर र मात्रिका यादवलाई पक्राउ गरियो । 

उपेन्द्र यादवलाई दिल्लीमै राखियो भने मगर र यादवलाई काठमाण्डौ पठाइयो । २७ महिनाको कारावास पछि उनी रिहा भएका थिए । जनयूद्ध कालमै मात्रिकाले काठमाण्डौको पर्खालहरुमा ‘गर्व से कहु मधेसी छी, विदेशी भगौडा नै धर्ती पुत्र छि’ लेख्न लगाएका थिए । 

यादव भन्छन, ‘त्यो नारा किन लेख्न लगाए भने काठमाण्डौको मानसिकता माथि प्रहार गर्नु थियो । मधेसी नागरिक भारतीय नागरिक नभएर नेपालकै राष्ट्रवादी नागरिक हुन भनेर काठमाण्डौलाई म्यासेज दिनु थियो ।’

त्यसपछि मात्रिका यादवले नेपाली नागरिकताको प्रमाण पत्र लिन ढाका टोपी नै लगाएको तस्वीर राख्नुपर्ने व्यवस्था विरुद्ध समेत लडाई लडे । आफ्नो छोरा अमर कुमार यादवलाई नागरिकता दिलाउन विना टोपीकै तस्वीर सहितको फोटो राखेर नेपाली नागरिकताको प्रमाण पत्र पाउनुपर्छ भन्ने अडान राखे । 

पछि विना ढाका टोपीकै नेपाली नागरिकताको प्रमाण पत्र उनले आफ्ना छोरालाई दिलाए । जो कि नेपालमै ऐतिहासिक परिवर्तन थियो । शान्ति प्रक्रियामा आउँदा अनमिनका प्रमुख इयान मार्टिन समक्ष मधेस मुद्दालाई अन्तर्राष्ट्रियकरण गराउन दवाव दिए र मधेस भन्ने शव्द संयुक्त राष्ट्र संघमा पहिलो पटक मात्रिकाकै अडानका कारण गयो ।

जनआन्दोलन पश्चात गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम संसदमा मात्रिका यादव पनि सांसद बने । कोइरालाको नेतृत्वमा उनलाई बन मन्त्री बनाइयो । तर, मन्त्री पदको शपथ लिँदा मैथिली भाषामा नै शपथ लिने अडान लिएपछि प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला विच्किए । 

अन्ततः मात्रिका यादवको अडानका सामु कोइराला पनि पछि हट्न बाध्य भए । नेपालको इतिहासमा पहिलो पटक उनले मैथिली भाषामा मन्त्री पदको शपथ लिएका थिए । धोति कुर्ता पहिरणमा मैथिली भाषामा शपथ लिएपछि उनी मिथिलाञ्चल क्षेत्रमा अत्यन्तै चर्चित भएका थिए । 

अन्तरिम कालमा उनी दुई पटक मन्त्री बने भने पहिलो संविधानसभामा प्रचण्डको नेतृत्वमा समेत एक पटक मन्त्री बने । अन्तरिम सरकारमा १३ दिनको लागि भुमिसुधार मन्त्री हुँदा राजपरिवारका जमिन माथि जनताले कब्जा गरेपछि मधेसी जनअधिकार फोरमको नेतृत्वमा ती जनतालाई प्रशासन लगाएर उठाउन लगाएपछि त्यसको विरुद्धमा मन्त्री पदबाट राजिनामा गरेको यादव बताउँछन् । 

बन मन्त्री हुँदा बनको उपयोग मधेसीले पनि गर्न सकोस त्यसका लागि नीति बनाएको यादव बताउँछन् । तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालसँगको विवाद कारण उनी मन्त्रीबाट राजिनामा दिएर हिडेका थिए ।

अब संविधान संशोधन गराउन र मधेसको विकासका लागि प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिएको तथा जनताले आफुलाई जिताउने निश्चित रहेको दावी गर्छन । ‘एमाले र माओवादीसँग गरिएको ६ बुँदे समझदारीमा समेत मधेस समस्या समाधान गर्ने प्रतिबद्धता गरिएकाले पनि अब बन्न गईरहेको बाम सरकारमा दुई तिहाई बहुमत जुटाई संविधान संशोधन गराउने आफ्नो प्रमुख प्राथमिकता रहेको छ’यादवले लोकान्तरसंग भने । 

यसका अतिरिक्त आफुले चुनाव जिते रोजगारीको सिर्जना गर्ने, बन्द रहेको जनकपुर चुरोट कारखानाको पुनःसंचालन गर्ने, किसानहरुको समस्या समाधान गर्ने, शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा काम गर्नुका साथै भ्रष्टाचार अन्त्य गर्न लागि पर्ने यादवले बताएका छन् ।

२०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद् बने । सभासद् भएकै बेला उनी पार्टीबाट अलग भए । पार्टीबाट अलग हुने बेला उनले सभासद्बाट पनि राजिनामा दिए । २०६५ माघ २९ गते माओवादी पुर्नगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर उनी आन्दोलनमा अघि बढे ।
 
मात्रिकाले मधेश आन्दोलन राष्ट्रिय समिति गठन गरेर मधेशमा आन्दोलन शुरु गरेका थिए । मधेशवादी दलहरुले आन्दोलन शुरु गर्दा उनी त्यसअघि देखि नै आन्दोलनमा थिए तर सानो पार्टी र सानो समूह भएका कारणले चर्चामा आएका थिएन । 

मात्रिकाले आन्दोलन बलियो बनाउनका लागि हरेक मधेशवादी दलको घरघर पुगेका थिए । महागठबन्धन बनाएर आन्दोलनमा जानु पर्छ भनि उनले निकै प्रयास गरेका थिए त्यही प्रयास स्वरुप एकपटक उनले राजेन्द्र महतो र जेपी गुप्तासँग गठबन्धन गर्न सफल भएका थिए तर त्यो धेरै दिन चल्न सकेन ।

पहिलो पटक प्रत्यक्षतर्फ चुनाव लड्ने तरखर गरेका मात्रिकाले चुनाव जित्नेमा आफू ढुक्क रहेको बताउछन्  । ‘न्यायप्रेमी मधेशी जनताका अगाडी मैले गरेको कामको व्याख्या गर्नु जरुरी छैन, चुनावको बेला मात्र होइन मात्रिका सधै मधेशी जनताको मन मनमा छ’ उनी दावी गर्छन ।  
 

 
 

कात्तिक २९, २०७४ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार