मुख्य समाचार

सुनसरी—२ मा थारुहरुको मत निर्णायक

सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा थारु समुदायको मत निर्णायक हुने देखिएको छ । यस क्षेत्रमा थारु मतदाता मात्रै १८ हजारभन्दा बढी रहेकाले थारु समुदायको मत निर्णायक हुने देखिएको हो । 

चुनावी प्रचारप्रसार घरदैलो कार्यक्रम तीव्र पारिएको बेला यो क्षेत्रमा थारुहरुको मत निर्णायक देखिएको उम्मेदवारले बताएका छन् । यस क्षेत्रबाट संघीय समाजवादी फोरमबाट एक मात्र थारु समुदायका उम्मेदवार तेजनारायण चौधरीको उम्मेदवारी रहेको र थारु समुदायले स्थानीय तहको निर्वाचनमा इटहरी र रामधुनीमा देखाएको सहानुभूति कायम रहे चौधरीले जित्न सक्ने थारु अगुवा तथा बुद्धिजीवीले बताएका छन् । 

चौधरी यो क्षेत्रबाट उम्मेदवार रहेकामध्ये सबैभन्दा बढी शिक्षित, अधिकार र पहिचानको मिसन, भिजन भएको, विकास निर्माणको खाका भएको उम्मेदवार भएकाले जित्ने थारु कानून व्यवसायीहरुले तर्क गरेका छन् । 

यो क्षेत्रमा मेहता समुदायको पनि मतले पनि त्यतिकै महत्व राखेको देखिएको छ । यहाँ मेहता समुदायबाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा सीताराम मेहता र राजपाबाट मुन्नादेवी मेहतासहितका दुईजना प्रभावशाली नेता उम्मेदवार चुनावी मैदानमा रहेका छन् । 

मेहता समुदायको एकतामा कुनै कमजोरी नभए काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार सीताराम मेहता र प्रदेशसभाका एमाले उम्मेदवार रामप्रसाद मेहताले जित्ने मेहता समुदायका बुद्धिजीवीको ठम्याइरहेको छ । तर वाम गठबन्धनका सुनसरी—२ प्रतिनिधिसभा उम्मेदवार डम्बर सुवेदी (हिमाल) ले मेहता समुदायको मत विभाजन हुँदा जित्ने आधार रहेको एमाले— माओवादी केन्द्र गठबन्धनको दाबी रहेको छ । 

हिमाल विकास प्रेमी भएको र साविकमा काँग्रेसका कारण इनरुवादेखि दक्षिणी क्षेत्रको विकास नभएकाले वाम गठबन्धनकै जित हुने स्थानीय लेखराज दंगालको तर्क छ । यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ जना उम्मेदवार रहेका छन् । 

कात्तिक २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस