विश्लेषण : आलेख

टमाटर र मतदाताको मूल्यमा कति फरक?

टमाटरको मूल्य १५० प्रतिकिलो सम्म पुग्यो । यो लेख तयार पार्दाको दिन काठमाडौंमा टमाटरको मूल्य न्यूनतम १०० र अधिकतम १२० सम्म थियो । अर्थात् भर्खर पाकेर रातो हुन लागेको, चार जनाको भान्सामा तरकारी पकाउन काट्दा ठिक्क हुने एउटा १५० ग्रामको टमाटर, एक किलोमा करिब ६ वटा चाहिन्छन् । एक किलोलाई १५० तिर्नु भनेको एउटालाई पच्चीस रुपैयाँ पर्नु हो । 

एउटा टमाटरलाई नै पच्चीस परेपछि त्यसको लागि चाहिने एक किलो तरकारी, मरमसला, नुन, तेल, ग्याँस र चटनी, दाल र अन्य सबै कुराको हिसाब गर्दा चार जनाको भान्सामा तीन सय बराबरको तरकारी पाक्छ । एकछाकको तीनसयको अर्थ एक दिनमा ६ सय र एक महिनामा अठार हजारको तरकारी एउटा सानो परिवारको भान्सामा पकाएर खानुपर्छ । 

प्रसंग बदलौं । नेपालमा पछिल्लो जनसंख्या विवरणले करिब पचास लाख घर परिवार भएको देखाउँछ । पचास लाखकै हाराहारीमा नेपाली युवाहरु बाहिर छन् । औसतमा एक घरबाट एकजना मलेसिया, खाडी, कोरिया या अन्य देशहरुमा श्रम गरिरहेका छन् । भारतमै मजदुरी गर्नेहरुको पनि संख्या उल्लेख्य छ । कृषि कामका लागि बाहिर जानेहरुले नेपालमा १५० पर्ने गोलो, पोटिलो र रसिलो टमाटरको दाना उतै उब्जाउँछन् । 

एक किलो टमाटरको औसत मूल्य न्युयोर्कमा ९९ सेन्ट अर्थात नेपाली एक सयको हाराहारीमा पर्छ । युएईमा पाँच दिराम अर्थात १४० रुपैयाँको हाराहारीमा पाइन्छ । मलेसियामा ४ रिङ्गेट अर्थात् १२० रुपैयाँ पर्छ । भारतमा टमाटरको औसत मूल्य २५ रुपैयाँ अर्थात् नेपाली ४० रुपैयाँ हो । अन्य देशहरुको र नेपालको टमाटरको मूल्य हिसाब गर्दा यस्तो लाग्छ, नेपाल विकसित देश बनिसक्यो । 

केही उत्पादन नै नहुने र आयातको भरमा जनसंख्या पाल्ने खाडी देशहरुको कृषिजन्य वस्तुहरुको मूल्य भन्दा करिब २५ लाख हेक्टर कृषियोग्य जमिन भएको नेपालको कृषिजन्य वस्तुहरुको मूल्य बढी देखिनु विडम्बना मात्र होइन, यो चरम लापरवाही र चरम दलालीकरण हो भन्न सकिन्छ । 

स्कुलहरुमा बच्चाबच्चीहरुलाई नेपालको कूल जनसंख्याको ७०५ले कृषी गर्छन भनेर पढाईन्छ । त्यसलाई सच्च्याएर अब कुल जनसंख्याको दुई प्रतिशतले कृषि गर्छन् । र बाँकीले उत्पादित वस्तुहरुको दलाली गर्छन् भनेर पढाउनु पर्छ र बच्चाबच्चीहरुको सच्चाइ जान्न पाउने हकलाई सुरक्षित गर्नुपर्छ । जबकि अमेरिकामा ५५ जनसंख्या, जापानमा ३.५५ जनसंख्याले कृषि काम गर्छन् । युएईमा त्यो नगण्य प्रतिशत छ भने मलेसिया, कोरिया जस्ता देशहरुमा आप्रवासी कामदारहरुले त्यहाँको कृषि उद्योगलाई धानेका छन् । 

त्यसो भए समस्या कहाँनेर छ त ? करिब चालीस लाख जनसंख्या भएको काठमाडौंमा कृषियोग्य जमिनलाई प्लटिङ गरेर आनाको हिसाबमा जग्गा बेच्न लागेको कथा पुरानो भैसक्यो । प्रत्येक पाँच घरमध्ये एउटा घरमा तरकारी पसल छ । प्रत्येक १५ घर मध्ये एउटा घरमा कपडा पसल छ । त्यत्तिकै मात्रामा चिया पसलहरु छन् । उत्पादन शून्यमा झर्न लागिसक्यो तर बेच्नेहरुले नयाँ नयाँ तरकारी पसल खोल्न छोडेका छैनन् । काठमाडौंको खाद्य सुरक्षामा गम्भीर धक्का परिसकेको छ । गरीबीको रेखा भन्दा तल बसेका २५५ जनसंख्याले अहिले बढिरहेको तरकारीको मूल्यमा खाना खान सक्दैनन् । 

सरकार कानमा तेल हालेर बसिरहेको छ । घरको खेतबारी बाँझो राखेर युवाहरु पासपोर्ट बोकेर म्यानपावर धाउन छोडेका छैनन् । बीउबिजन र आवश्यक मलको अभाव छ । कथमकदाचित् उत्पादन भैहाले पनि बजारसम्म लैजाने र स्टोर गरेर राख्ने संयन्त्रको अभावमा तरकारीहरु खेर गैरहेका छन् । अनि उत्पादक कृषकको ढाड सेकेर न्यूनतम मूल्यमा दलालहरुले तरकारी खरिद गर्छन् र त्यो भन्दा धेरै उपभोक्ताहरुको ढाड सेकेर बजारमा विक्री गर्छन् । नियमन निकाय छैन, अनुगमन शून्य छ । 

यतिबेला चुनाव र राजनीतिक दलबाहेक अन्य प्रसंगहरु मिडियामा उठाउन करिब करिब पाप जस्तो लाग्छ । सबैको व्यवसाय दलालिकृत भएको छ । झूटा सपनाहरुले आकाश ढाकिसक्यो, ओजोन तह छेडेर अन्तरिक्षमा पुग्ने बेला भैसक्यो । जापानको भाउमा टमाटर खाने नेपालीहरुको चेतनास्तर अफ्रिकाको कुनै गए गुज्रेको मुलुकको भन्दा खराब छ । 

विकास र समृद्धिको गफ फेसबूकमा मात्र राम्रा लाग्छन् । कालिमाटीमा बिहानै चार बजे डोकोमा तरकारी बोकेर आउने काभ्रेतिरका आमैहरुलाई समृद्धिको गफले कहिले छुने ? उनीहरुसँगबाट लिएको तरकारीको मूल्यमा एक हजार प्रतिशत बढाएर किनेर लैजानेहरुले, पार्टी प्यालेसमा दिनहुँ चुनावी भोज गराउनेहरुले विकास र समृद्धिको गफ दिएको पटक्कै नसुहाउने ।

चुनाव लागेको छ । एक गिलास रक्सी र एक प्लेट मासुमा बिक्ने भोट अझै पनि नेपालको सन्दर्भमा २५–३० प्रतिशतको हाराहारीमा होला । त्यसको मूल्य एक केजी टमाटरको मूल्यसँग बराबर नै हुन्छ । हामी टमाटर हौं कि मान्छे हौं, यो मंसीरले छुट्याउनेछ । 
 

मंसिर ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस