खोज/विशेष : टिप्पणी

मुगाबेको राजीनामापछि तानाशाहहरूको भविष्य असुरक्षित

साइमन टिस्डल (द गार्डियन)

जिम्बाब्वेमा ३० वर्षभन्दा बढी कठोर अनुशासनका साथ सत्ता चलाएका रोबर्ट मुगाबेले जनता र सेनाको दबाबमा राजीनामा दिएपछि अफ्रिकाका अन्य निरंकुश शासकहरूको मनमा चिसो पसेको हुनुपर्छ । 

सेनाप्रमुख जर्नेल कन्स्टान्टिनो चिवेंगाले मुगाबेलाई राष्ट्रपतिका रूपमा समर्थन नगर्ने कदम अघिल्लो हप्ता चालेपछि उनको राजनीति समाप्त भएको थियो । हरारे, बुलावायो र अन्य शहरमा जनताले उनका विरुद्ध व्यापक प्रदर्शन गरेपछि उनको लोकप्रिय मत पनि खस्केको देखियो । मंगलवार मुगाबेको दलका साथीहरूले उनीविरुद्ध महाअभियोग प्रक्रिया शुरु गरेपछि उनी राजीनामा दिन बाध्य भए । 

युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीलाई यो घटनाक्रमले असहज बनाएको हुनुपर्छ । मुगाबेजस्तै उनी पनि छापामार संघर्षपछि सत्तामा आएका थिए । सन् १९८६ देखि मुसेवेनी सत्तामा रहिरहेका छन् । उनले राष्ट्रपतिको सीमित कार्यकाललाई खारेज गरे, विपक्षीहरूलाई शक्तिहीन गराए र सञ्चारमाध्यममा अंकुश लगाए । 

गत वर्ष उनी लगातार पाँचौं कार्यकालका लागि निर्वाचित भए तर फर्जी मत र मतदातालाई डरत्रास देखाएर उनले मत हासिल गरेको विश्वसनीय दाबीहरू गरिएका थिए । 

लगभग चार करोड जनसंख्या भएको देश युगान्डामा औसत उमेर १५ वर्ष हो । मुसेवेनीले सत्ता सम्हाल्दा धेरै मानिस त जन्मेका पनि थिएनन् । उनी अहिले ७३ वर्षका भए, मुगाबेभन्दा २० वर्ष कान्छा । तर उनी अझै पनि स्वतन्त्रता संग्रामकालकै विचार राख्छन् । मुगाबेजस्तै उनी पनि समलैंगिकताका विरोधी हुन् । अहिलेको फेसबूक युगका युवामा उनी प्राचीन लाग्छन् । 

सत्तामा रहेको ३१ वर्ष पुगेको अवसरमा मुसेवेनीले हालै लोकतान्त्रिक जवाफदेहिताका आधुनिक धारणाप्रति घृणा व्यक्त गरे । जाम्बियन अब्जर्भर नामक पत्रिकाका अनुसार, उनले प्रेक्षकहरूलाई भने, ‘केही मानिसले म उनीहरूको नोकर भएको कुरा बोलेको मैले थाहा पाएँ । म स्वतन्त्रता सेनानी हुँ । म आफ्ना लागि अनि आफ्ना विश्वासका लागि लडिरहेको छु ।’

युगान्डाको इन्डिपेन्डेन्ट पत्रिकामा एन्ड्य्रु म्वेन्दाले लेख लेख्दै मुसेवेनीले मुगाबेका केही गल्ती नदोहो–याएको बताए । ‘मुसेवेनीले स्वतन्त्रताका लागि लडेको नेसनल रेजिस्टेन्स मुभमेन्ट र युगान्डा पिपुल्स डिफेन्स फोर्सका पुराना पुस्ताका सेनालाई भंग गरिसकेका छन् । उता जिम्बाब्वेका सैन्य नेतृत्वमा भने सबै स्वतन्त्रता संग्रामकै पालाका मानिस छन् । मुसेवेनीले यस्तै स्थिति आउला भनेर उनीहरूलाई सफाया गरिसकेका छन् ।’

म्वेन्दाले लेखेअनुसार, मुसेवेनीले आफूलाई चुनौती दिनसक्ने अमामा म्बाबाजीलाई पनि बर्खास्त गरेका छन् । मुगाबेलाई हटाएर उनको ठाउँमा जानु–पीएफ नेता तथा राष्ट्रपति बन्न लागेका इममर्सन म्नाङगवाजस्तै रहेका अमामालाई मुसेवेनीले पहिल्यै हटाएका हुन् । 

सब सहारा अफ्रिका क्षेत्रका अन्य तीन राष्ट्रपतिको पनि लोकतान्त्रिक बहुलवादप्रति राम्रो धारणा देखिँदैन — रुवान्डाका पल कगामे, बुरुन्डीका पीएर न्कुरुन्जिजा र कंगोका जोसेफ कबिला । उनीहरू पनि मुगाबेको पतनपछि झँल्यास्स भएको हुनुपर्छ । 

कगामे सन् १९९४ देखि रुवान्डाको सत्तामा छन् र गत अगस्ट महिनामा उनी ९८.७९ प्रतिशत मत ल्याएर अर्को सात वर्ष राष्ट्रपति हुने भएका छन् । तेस्रो कार्यकालका लागि योग्य ठहरिन उनले संविधान नै संशोधन गराए । उनीभन्दा बढी योग्य तीन विपक्षी उम्मेदवारलाई अयोग्य घोषित गरियो । 

‘सत्तारूढ रुवान्डन पेट्रियोटिक फ्रन्टले २३ वर्षअघि सत्ता लिएदेखि रुवान्डालीहरू सार्वजनिक जीवनमा सहभागी हुन तथा सरकारी नीतिको आलोचना गर्नमा विशाल तथा खतरनाक अवरोधको सामना गरिरहेका छन्,’ एम्नेस्टी इन्टरनेसनलका मुथोनी वान्येकीले निर्वाचनअघि बताएका थिए । निर्वाचनमा पनि ‘डर र दमन’ को वातावरण थियो । तर रुवान्डामा विकासको मूल फुटाएका कारण कगामेले मुगाबेको नियति भोग्नुपर्ला भन्नेमा शंका छ । 

छिमेकी मुलुक बुरुन्डीमा न्कुरुन्जिजा चाहिँ कगामे जति बाठा छैनन् । हुन त उनले सन् २०१५ मा कगामेजस्तै जुक्ति लगाएका थिए । संविधानले प्रतिबन्ध लगाएको भएपनि उनले तेस्रो कार्यकाल चलाउन पाउनुपर्नेमा जोड दिए । 

तर त्यसपछि उनले जनताको प्रतिकारको सामना गर्नुप–यो र उनले त्यसको हिंस्रक दमन गरे । अफ्रिकन युनियन, ईयु र अमेरिकाले समर्थन नजनाएपनि न्कुरुन्जिजा पदमा कायम छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतको अनुसन्धान परिणाम यसै महिना घोषणा भएपछि उनी सत्ताबाट हट्न सक्ने सम्भावना चाहिँ छ । 

कंगोका राष्ट्रपति जोसेफ कबिलाको कार्यकाल सन् २०१६ मा अन्त्य भएको थियो र उनी मुगाबेजस्तै सत्तामा टाँसिरहन खोज्दैछन् । पर सारिएको निर्वाचन यसै वर्ष सम्पन्न गर्नका लागि भएको सम्झौता भंग गरिएको छ र गत डिसेम्बरमा राजधानी किन्शासामा भएको हिंसा यसपाली पनि दोहोरिने डर छ । 

अफ्रिकामा निरंकुश शासकहरूले धेरैको ज्यान लिएका छन् । कंगोको राजनीतिक गतिरोधले त्यहाँ गहिरिँदै गएको मानवीय संकटबाट ध्यान अन्यत्रै मोडेको छ जसकारण सहायता आवश्यक भएका मानिसमा पहुँच गाह्रो बनेको छ । दक्षिण पश्चिमको कासाई क्षेत्रमा हिंसाका कारण १४ लाख मानिस विस्थापित भएको र तीन हजारभन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसंघले यसै महिनामा चेतावनी दिएको थियो । अफ्रिकाका अन्य कुनै पनि मुलकमा भन्दा बढी विस्थापित कंगोमा छन् । तर कबिलाले सत्ताबाट हट्ने कुनै मनसाय बनाएका छैनन् ।

भावानुवाद : विन्देश दहाल

मंसिर ६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस