जीवनशैली : स्वास्थ्य

अनुहारमा देखिएका समस्याबाट चिन्नुुस् रोग !

काठमाडौं, ७ मंसिर — बिरामी हुँदा त्यसको असर अनुहारमा प्रस्टै देखिन्छ । त्यतिखेर अनुहारको रंग फिक्का हुन्छ र अनुहारै ओइलाउँछ । शरीर कुनै रोगको फन्दामा पर्दैछ भने अनुहारले केही संकेत दिन थाल्छ । 

हामी यसलाई अनुहारको समस्या होला भनेर बेवास्ता गरिदिन्छौं । तर यसमा ध्यान दिएर संकेतहरूलाई चिन्न जरूरी हुन्छ । अनुहारमा कुन समस्याले के रोगको संकेत दिन्छ जानिराख्नुस् । 

अनुहारमा रौं
महिलाको अनुहार, ओठ र चिउँडोमा अनावश्यक रौं पलाए भने थाइरोइड र हर्मोन असन्तुलनको संकेत हो । विज्ञको सल्लाह लिनुहोला । 

अनुहार सुन्निने
अनुहार सुन्निएको छ भने मिर्गौलाको रोगको संकेत हो । औषधिको साइड इफेक्टले पनि अनुहार सुन्निने समस्या आउँछ ।

अनुहारमा सेतो दाग
अनुहारमा कतै कतै सेता दाग देखिए भने क्याल्सियमको कमीको संकेत हो । शरीरमा आइरनको कमी अनि पेटमा कीरा पर्दा पनि यस्ता दाग देखिन्छन् । 

डण्डीफोर
अनुहारमा लामो समयसम्म पनि डण्डीफोरले सताइरह्यो भने हर्मोनको असन्तुलनको संकेत हो । पेटसम्बन्धी रोगले पनि अनुहारमा डण्डीफोर ल्याउँछ । 

अनुहार पहेंलो हुनु
लामो समयसम्म तपाईंको अनुहारको रंग पहेंलो भएमा मिर्गौलाको रोगको संकेत हो । चिकित्सकको सल्लाह अवश्य लिनुस् । जन्डिस र रक्ताल्पता हुँदा पनि अनुहार पहेंलो हुन्छ । 

एजेन्सी
 

मंसिर ७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस