विश्व/प्रवास

रोहिंग्यालाई म्यान्मार फर्काउने सम्झौता सम्पन्न

काठमाडौं, ७ मंसिर — म्यान्मारमा सैनिक दमनपश्चात् पलायन भएका लाखौं अल्पसंख्यक रोहिंग्याहरूलाई घर फर्काउनका लागि बंगलादेशले एक सम्झौता गरेको छ ।

सम्झौताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । दुवै देशका अधिकारीहरूले म्यान्मारको राजधानी ने पी त मा यो सम्झौतामा हस्ताक्षर गरेका थिए । 

बंगलादेशले यो पहिलो कदम भएको बताएको छ । म्यान्मारले सकेसम्म छिटो रोहिंग्यालाई फिर्ता लिनका लागि तयार रहेको बताएको छ । 

सहायता नियोगहरूले रोहिंग्याको सुरक्षाको प्रत्याभूति नभएसम्म उनीहरूलाई जबर्जस्ती फर्काउन नहुने बताएका छन्  ।

रोहिंग्याहरू म्यान्मारका अल्पसंख्यक हुन् र उनीहरूलाई लामो समयदेखि दमन गरिँदै आएको छ । 

गत अगस्ट महिनामा रखाइन प्रान्तमा हिंसा मच्चिएपछि ६ लाखभन्दा बढी रोहिंग्याहरू छिमेकी मुलुक बंगलादेशमा शरण लिन आएका छन् । 

बुधवार मात्र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले रोहिंग्याविरुद्ध म्यान्मारको सेनाले गरेको कारवाही जातिसफाया भएको बताएका थिए । 

म्यान्मारको सेनाले भने रोहिंग्यामाथि दमन नगरेको भनाइ राख्दै आएको छ । 

बीबीसीबाट
 

मंसिर ७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस