सुशासन

बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाउने सरकारको निर्णय

काठमाडौं ८ मंसिर – सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको छ । 

नेपाल सरकार मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको उर्जामन्त्री कमल थापाले जानकारी दिए । 

यसअघि चीनको चाइना गेजुवा कम्पनीलाई निर्माणका लागि दिइएको सम्झौता सरकारले केही दिन पहिले खारेज गरेको थियो । चिनियाँ कम्पनीलाई दिएको निर्माण सम्झौता खारेज गरेर बूढीगण्डकी आयोजना भारतीय कम्पनीलाई दिने तयारी गरेको भन्दै सरकारको आलोचना भएको थियो । 

स्वदेशी लगानीमै बूढीगण्डकी बनाउन भन्दै केपी ओली सरकारले इन्धनमा कर उठाउँदै आएको थियो । आयोजना निर्माणका लागि लगानीको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ सचिव, उर्जा सचिव र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी समिति बनाइएको मन्त्री थापाले जानकारी दिए ।


 

मंसिर ८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस