सम–सामयिक

एक हजार उजुरीमाथि छानबिन हुँदै

सुर्खेत, ८ मंसिर - सत्य निरुपण तथा मेलमिलाप आयोगको ६ नं प्रदेश मुकाम कार्यालय सुर्खेतले गत जेठ यता झण्डै एक तिहाइ उजुरीमाथि छानबिन गरेको छ । 

प्रदेश मुकाम कार्यालयमा पहिलो चरणमा एक हजार उजुरीमाथि छानबिन गरिएको कार्यालयले जनाएको छ । आयोगका सदस्य एवं ६ नं प्रदेश मुकाम समन्वयकर्ता डा माधवी भट्टले सुर्खेत मुकाम कार्यालय स्थापना भएको पाँच महिनाका अवधिमा एक हजार उजुरीमाथि अनुसन्धान एवं छानबिन भइरहेको जानकारी दिनुभयो । अन्य प्रदेशको तुलनामा ६ नं प्रदेशलाई छानबिन तथा अनुसन्धानका क्रममा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । 

सशस्त्र द्वन्द्वको उद्गमस्थल र उर्वर यही प्रदेशमा भएकाले यहाँ बढी उजुरी परेको भन्दै अन्य प्रदेशसरह यस प्रदेशलाई हेर्न नहुने उहाँको भनाइ छ । अनुसन्धानका क्रममा पीडितसँग भेट गर्न र साक्षी बोलाउन आउजाउ गर्नै कठिन भएकाले अनुसन्धान तथा छानबिनको काम केही ढिलो भएको उल्लेख गर्नुभयो । 

सबैभन्दा धेरै यसै प्रदेशमा उजुरी परेको र छानबिन तथा अनुसन्धान प्रभावकारी बनाउन सकिएको खण्डमा आयोगको सफलता ठहरिने उहाँको भनाइ छ । 

आयोगले सुर्खेतस्थित उच्च सरकारी वकिल कार्यालयलाई मुकाम तोकेर अनुसन्धान र छानबिनको काम जारी राखेको छ । एक मुख्य अनुसन्धान अधिकृत र दुई सहायक अनुसन्धान अधिकृतसहित अन्य ११ कर्मचारी सो मुकाममा खटिएका छन् । प्रदेश नं ६ मा मात्रै करिब १० हजार बढी उजुरी परेकाछन् । 

मंसिर ८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस