जीवनशैली : संस्कार

वर्तमान नै हो आनन्दको स्रोत

मेरो एक साथी केही वर्ष नर्वे बसेर फर्कियो । म उसलाई भेट्न एयरपोर्टमै पुगेको थिएँ । मसँग भेट्नेबित्तिकै उसले नर्वेको खुब बखान ग–यो । नेपाल अविकसित भएकोमा दुखेसो पोख्यो । कुनै खाल्डोभित्र पसेजस्तै लाग्यो रे उसलाई । गाडीहरूको आवाजले डिस्टर्ब भयो रे । धूलोले नाक टट्याउन थाल्यो रे । स्वर्गबाट नर्क झरेजस्तो लाग्यो भन्दै थियो । उसले आफ्नो नर्वे बसाइँका क्रममा बयानै गर्न नसकिने आनन्द आएको अनुभव साट्यो । मैले सोचेँ, नर्वे साँच्चै नै राम्रो होला । यो तीन महिनाअघिको कुरा हो । 

हालसालै एक जना परिचित दाइसँग मेरो भेट भयो । उहाँ पनि नर्वेमै बसेर आउनुभएको थियो । मैले कुराकानीकै क्रममा उहाँसँग भनेँ, “खुब आनन्दमय जीवन हुन्छ होला है त्यहाँ त ! नेपाल कहिले त्यस्तो होला !” 
तर उहाँको जवाफ सुनेर म छक्क पर्नु स्वाभाविकै थियो । उहाँले मेरो साथीको भन्दा पूरै फरक विचार राख्नुभयो, “नेपालजस्तो आनन्ददायक कहाँ हुन्छ र त्यहाँ ! खालि कामै काम । दुःखै दुःख । आनन्द लिने मौकै पाइँदैन ।”
“नेपालमा झन् आनन्द कसरी हुन्छ त ?” मलाई जिज्ञासा लाग्यो । 

“त्यहाँ यहाँको जस्तो जाम हुँदैन । धूलो, फोहोर हुँदैन । कुनै काम गर्दा लाइन बस्नुपर्दैन । लामो समयसम्म जाम परेपछि जाम खुल्दाको आनन्द, बाटोमा फोहोर देखेर नाक बन्द गर्दै त्यहाँबाट कटेपछि लामो श्वास फेर्दाको आनन्द, घण्टौं लाइन बसेर आफ्नो पालो आउँदाको आनन्द, यस्ता आनन्दका अवसरहरू त्यहाँ कहाँ आउँछन् र ! त्यहाँ दुःख हुँदैन, सुखैसुख हुन्छ र त्यही धेरै सुख दुःख बन्छ ।”

उहाँको तर्क मलाई अनौठो लाग्यो । ती दाइको र साथीको अनुभवलाई मैले आफ्नो दर्शनमा जोडें र केही प्रश्नहरू बनाएँ, आनन्द के कारणले आउँछ ? के आनन्द कुनै दृश्यले दिन्छ ? कुनै खानेकुराले दिन्छ ? कुनै नशालु पदार्थले दिन्छ ? आफूलाई मन परेको कुराको प्राप्तिले दिन्छ ? फिल्म, पुस्तक, घुमफिर आदिले दिन्छन् ?

अनि मैले ती प्रश्नका उत्तरहरू खोजेर यसरी तयार पारें –  
आधुनिक मनोविज्ञानले भन्छ, एकजना सामान्य मानिसको मस्तिष्कमा २४ घण्टामा ६० हजार वटासम्म विचार चल्छन् । 

अधिकांश मानिस एउटा विचारबाट अर्को विचारमै रुमल्लिरहेका हुन्छन् । केहीले मात्रै सिर्जनात्मक विचार पत्ता लगाउँछन् । 

सिर्जनशील मानिएका मानिसहरू एउटै काममा तल्लीन हुन्छन् । केहीलाई त आफ्ना अगाडि राखिएको खानेकुराको समेत याद भएन । 

उनीहरूको जीवनको गहन अध्ययन गर्दा थाहा हुन्छ, उनीहरूमध्ये अधिकांशले नयाँ काम गर्ने विचार एकान्तमा फुराएका थिए । या फुरेका थिए । कसैले नुहाउँदै गर्दा । कसैले यात्रा गर्दै गर्दा । कसैले पौडी खेल्दै गर्दा । कसैले सपनामा । या कुनै यस्तै एकान्त क्षणमा ।

त्यसबेला उनीहरू आफैंसँग थिए । उनीहरूको विचारको अनवरत यात्रा केही समय रोकिएको थियो । त्यही बेला उनीहरूमा नयाँ सिर्जना फुरेको थियो ।    

यसबाट उनीहरूले सामान्य मानिसको भन्दा केही बढी सुखको अनुभव गर्छन् । विचारको स्तर पार गर्न भने सक्दैनन् ।

नर्वेबाट फर्किएको मेरो साथीलाई त्यहाँको दृश्यले आनन्द दिएको थिएन । छुट्टीमा बिताएका रमाइला क्षणहरूले पनि हामीलाई आनन्द दिँदैनन् ।

विदेशबाट पनि मानिसहरू नेपाल घुम्न आउँछन् । उनीहरूलाई नेपाल घुम्दा आनन्द आइरहेको हुन्छ ।

रमाइला कार्यक्रममा सामेल हुँदा या कुनै सुन्दर दृश्यावलोकन गर्दा हामी केही समयका लागि वर्तमानमा रहन्छौं । आफैंसँग उपस्थित रहन्छौं । त्यसैले आनन्द आउँछ ।

यही तथ्य सफल मानिसले एकान्तमा फुराएका नयाँ विचारमा पनि लागू हुन्छ । उनीहरूमा केही हदसम्म नयाँ विचारलाई पक्रने खुबी हुन्छ । अन्य अवस्थामा उनीहरू यस विषयमा अचेत रहन्छन् ।

मेरो भनाइको मूल आशय हो, कुनै पनि कारणले विचारहरूमा अन्तराल उत्पन्न हुँदा आफूभित्रको आनन्द प्रकट हुन्छ । अन्तरालपछि निस्कने विचार सिर्जनात्मक हुन्छ । त्यसलाई कमैले पक्रन सक्छन् ।

यही अन्तराललाई चेतन अवस्थामा पक्रने प्रयास नै अध्यात्म हो । होशपूर्वक विचारमा अन्तराल उत्पन्न गर्नु नै वर्तमानमा रहनु हो । कुनै घटना या रमाइला क्षणले अन्तराल उत्पन्न त हुन्छ, तर अचेतनमा । अचेतनावस्थामा विचारमा अन्तराल आउँदा पनि त्यत्तिको आनन्द आउँछ भने चेतनावस्थामा यसमा अन्तराल ल्याउन सकियो भने त आनन्दको कुरै नगरौं ।

सुतेका बेलामा केही समयका लागि विचारमा अन्तराल उत्पन्न हुन्छ । त्यसैबाट प्राप्त ऊर्जाकै कारण त हामी दिनभर विभिन्न काम गर्न सक्छौँ । 

विचारहरूको अन्तराललाई चेतनावस्थामा ल्याएर लम्ब्याउँदै जानु अध्यात्ममा प्रगति गर्नु हो । यही प्राप्तिका लागि विभिन्न साधनाको अभ्यास गरिन्छ । ध्यान गरिन्छ । 

विभिन्न आध्यात्मिक सत्सङ्गहरूमा भन्ने पनि गरिन्छ– “भोलिको चिन्ता नगर ।” “भगवान् हरेक समय जताततै छन् ।”
यो भनाइको आशय हो – “वर्तमानमा बाँच ।” “वर्तमान सधैं उपलब्ध हुन्छ ।”

हामी हरेक पल पूर्णलाई गुमाइरहेका हुन्छौँ, तर खोजिरहेका छौं त्यही ।
मानिसहरूले नशालु पदार्थको सेवन गरेर आनन्दको अनुभव गर्छन्, त्यो यही वर्तमानबाट प्राप्त हुने आनन्द हो । उनीहरूलाई थाहा नभएपनि त्यसबेला केही समयका लागि उनीहरू वर्तमानमै रहन्छन् । अनि आनन्द आउँछ । नशाले छाडेपछि उनीहरू पुनः विचारमै रुमल्लिन्छन् । दुःख फेरि शुरु हुन्छ ।

हामी हरेक समय सोचिरहन्छौं । सोच्नु हाम्रो बाध्यता बनिसकेको छ । विचार हाम्रो वशमा हुँदैन । बरू विचारले हामीलाई वशमा राखेको अवस्था छ । यो एउटा सामूहिक समस्या हो । 
त्यसो भए के विचारको कामै छैन त ?

जीवन र जीवनमा आइपर्ने परिस्थिति एउटै होइनन् । जीवनयापनका क्रममा विभिन्न परिस्थितिहरू आउँछन् । तीसँग जुध्नैपर्छ । आवश्यक विचार गर्नैपर्छ । योजना पनि बनाउनैपर्छ । कुरा यत्ति हो, त्यसबेला जीवन भने आफैंसँग हुनुपर्छ । चेतना सधैं आफैसँग रहनुपर्छ । सबै काम गरिरहेर पनि चेतनावस्थामा स्थिर रहने प्रयास गरिरहनुपर्छ । यसबाट जीवनको परिस्थिति पनि सुध्रन्छ । भयानक पीडाको अवस्थामा पनि भित्र एक खालको आनन्द आउँछ । 
भौतिकशास्त्रीहरू भन्छन्– संसारमा देखिने सबै चीज, शरीरसमेत, टुक्राउँदै जाँदा अणु हुन् । त्यसलाई पनि टुक्राउने हो भने तरङ्गबाहेक केही पनि छैन । 

विचारको अन्तरालमा हामी त्यहीँ पुग्छौं । आनन्द त्यहीँबाट आउँछ ।     

यहीँ र अहिल्यै यस्तो अन्तराल उत्पन्न गर्न सकिन्छ । चेतनालाई विचारमा लानेबित्तिकै अन्तराल उत्पन्न हुन्छ । यही अन्तरालको अवधि बढाउनु नै सम्पूर्ण अध्यात्मको सार हो ।
 

मंसिर ९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस