खोज/विशेष : टिप्पणी

भारतमा आम आदमी पार्टीको पाँच वर्षे यात्रा : नेपाली दलले के सिक्ने ?

काठमाडौं, १० मंसिर — भारतीय राजनीतिमा तीव्र गतिमा उत्थान भएर उत्तिकै तीव्र गतिमा पतन भएको दल आम आदमी पार्टी (आप) नै हुनुपर्छ । आज (नोभेम्बर २६) भन्दा पाँच वर्षअघि औपचारिक रूपमा शुरुवात भएको यो दल अहिले भारतको नेसनल क्यापिटल टेरिटोरी दिल्लीमा सत्तारूढ छ । तर अन्य स्थानमा यस दलको उपस्थिति खासै उल्लेख्य छैन । 

सन् २०११ मा गान्धीवादी अभियन्ता अन्ना हजारेले भ्रष्टाचारविरुद्ध कारवाही चलाउने जनलोकपाल विधेयकको माग गर्दै आमरण अनशन बसेपछि उनको अभियानले राष्ट्रव्यापी स्वरूप ग्रहण ग–यो । कंग्रेस आईको नेतृत्वमा रहेको तत्कालीन सरकार एकपछि अर्को गर्दै भ्रष्टाचारका घटनामा मुछिँदै गएपछि आक्रोशित सामान्य जनताले अन्नाको आन्दोलनप्रति स्वाभाविक रूपमा समर्थन जनाए । 

यसै क्रममा आन्दोलनसँग जोडिन अनेकथरी गैरसरकारी संस्थाहरू पनि आए । इन्डिया अगेन्स्ट करप्सन नामक संस्था पनि यसबेलामा सक्रिय भयो । यसमा जोडिएर पूर्व कर अधिकृत अरविन्द केजरीवाल राष्ट्रिय मञ्चमा देखिए । 

अन्नासँग मिलेर भ्रष्टाचारविरोधी आन्दोलन चलाइरहेका केजरीवालको महत्त्वाकांक्षा बढ्दै गएपछि उनले आफ्ना समर्थकहरूलाई लिएर आम आदमी पार्टी बनाए । अन्नाले भ्रष्टाचारविरोधी अभियानलाई राजनीतीकरण गर्न नहुने मान्यता राखेपनि केजरीवालले अभियान बिस्तारै कमजोर हुँदै गएको निष्कर्ष निकाल्दै त्यसलाई सशक्त बनाउन राजनीतिक दल खोल्नु उचित हुने बताए ।

सन् २०१२ मा विधिवत् रूपमा आम आदमी पार्टी दर्ता भयो । उसले भ्रष्टाचारलाई बढारेर लैजाने संकेतस्वरूप कुचोलाई निर्वाचन चिह्न बनायो । पार्टीले सन् २०१३ मा दिल्लीको विधानसभा निर्वाचनमा भाग लिएर चुनावी राजनीति शुरु ग–यो । 

उक्त निर्वाचनमा आप भारतीय जनता पार्टी (भाजपा) पछि दोस्रो ठूलो पार्टी बन्यो । उसले ७० मध्ये २८ सिट हासिल ग–यो । कुनै पनि दलको स्पष्ट बहुमत नआएकाले आपले कंग्रेस आईको समर्थनमा अल्पसंख्यक सरकार बनायो । 
भ्रष्टाचारविरोधी जनलोकपाल विधेयकको माग गरिँदै भएको आन्दोलनबाट जन्मेको दलले उक्त विधेयक दिल्लीमा ल्याउनुलाई नै प्राथमिकता दियो । तर कंग्रेस आईले यो विधेयकप्रति समर्थन नदेखाउने लक्षण देखाएपछि आप सरकारले ४९ दिन सत्ता चलाएर राजीनामा दियो । 

आपको तर्फबाट मुख्यमन्त्री बनेका केजरीवालले सत्तामा रहँदा पनि अभियानकै जस्तो आक्रामक तेवर अपनाए । भ्रष्टाचारविरुद्ध स्टिङ अपरेसन चलाउन उनले जनतालाई प्रेरित गरे । उनले एन्टीकरप्सन हेल्पलाइन पनि बनाए । उनले सित्तैमा बिजुली बाँड्ने र १० महिनासम्म बिजुलीको बिल नतिर्नेलाई माफी दिने योजना पनि ल्याए । उनी आफैंले राति छापा मारेर प्रहरीलाई अफ्रिकी नागरिकहरूलाई पक्रिनका लागि दबाब दिने लगायतका विवादास्पद कदम पनि चाले । 

यही बीचमा भएको लोकसभा निर्वाचनमा भाजपाका नेता नरेन्द्र मोदीले सुविधाजनक बहुमत ल्याएर केन्द्रमा सरकार बनाए । आपले भने पञ्जाबमा जम्मा चार सीट मात्र ल्याउन सक्यो । 

यता दिल्लीमा सरकारविहीनताको स्थिति रहिरँदा सन् २०१५ मा विधानसभाको अर्को निर्वाचन गरियो । त्यसमा चाहिँ आपले ७० मा ६७ सीटसहित अप्रत्याशित परिणाम ल्यायो । भाजपाले बाँकीको तीन सीट जित्यो भने कंग्रेस आईले एक सीट पनि जितेन । 

प्रचण्ड बहुमतका साथ दिल्लीमा सरकार बनाएका केजरीवालले पहिलो कार्यकालको गल्ती त दोहो–याएनन् तर उनी एकपछि अर्को विवादमा भने पर्दै गए । आफूले काम गर्नेभन्दा पनि मोदी सरकारले आफूलाई काम गर्न दिएन भन्दै उनी नकारात्मक प्रचारबाजीमा लागिरहे । 

केजरीवाललाई ‘तानाशाही’ शैली अपनाएर पार्टी तथा सरकार चलाएको आरोप लगाउँदै उनका विश्वासपात्रहरूले साथ छोड्दै गए । सन् २०१५ को फेब्रुअरीमा योगेन्द्र यादव र प्रशान्त भूषणले केजरीवालविरुद्ध आवाज उठाउँदै उनले पार्टीको स्वराजको आदर्श त्याग्दै गएको बताए । आरोपप्रत्यारोपको शृंखलापछि केजरीवालले यादव र भूषण अनि अन्य केहीलाई पार्टीबाट निकाले । उनीहरूले छुट्टै स्वराज पार्टी बनाए । 

आपका अन्य नेताहरू पनि बारम्बार विवादमा पर्ने गरेका छन् । आप नेता सोमनाथ भारतीविरुद्ध सन् २०१५ को अक्टोबरमा ज्यान मार्ने उद्योग, घरेलु हिंसा र धोकाधडीको मुद्दा दर्ता भयो । उक्त दलका ११ सांसदहरूविरुद्ध कुनै न कुनै मुद्दा छन् र ती पक्राउ पनि परेका छन् । उनीहरूलाई मोदी सरकारका लागि काम गर्ने मानिसले फसाएको भनी केजरीवालले उनीहरूको बचाउ गर्ने गरेका छन् । सन् २०१६ मा आप नेता कुमार विश्वासमाथि यौन दुर्व्यवहारको मुद्दा पनि दर्ता भएको थियो । अनि अर्का नेता तथा सांसद सन्दीप कुमार पनि आपत्तिजनक अवस्थामा भेटिएको सीडी सार्वजनिक भएपछि पार्टीबाट निकालिएका थिए । 

सन् २०१७ को मेमा आप नेता तथा पूर्व जलमन्त्री कपिल मिश्राले केजरीवालविरुद्ध भ्रष्टाचारको आरोप लगाए । भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धताका साथ सत्तामा आएको दलका नेता नै भ्रष्टाचारमा लिप्त भएको आरोपले सबैलाई छक्क पा–यो । 

सञ्चारमाध्यममा नाटकीय रूपमा मिश्राले दाबी गरेअनुसार, केजरीवालले दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्दर जैनबाट दुई करोड भारु लिएको उनले देखेका थिए । यो दाबीमा कुनै सत्यता नभएको भन्दै आपले मिश्रालाई पार्टीबाट निकाल्यो तर यसक्रममा पार्टीको ठूलै बेइज्जती भयो । 

केजरीवालले दिल्लीका गभर्नर नजीब जंगसँग पनि जोरी खोजिरहे । सरकारी नियुक्तिका विषयमा, प्रहरी परिचालन, सार्वजनिक आदेश, जमीन लगायतका विषयमा केजरीवाल र जंगबीच भिडन्त भइरह्यो । दुईजनाको भिडन्त जारी रहेपछि न्यायपालिकाले नै हस्तक्षेप गर्नुप–यो तर त्यसको कुनै परिणाम आएन । जंगले सन् २०१६ मा राजीनामा दिएपछि भने झगडा टुंगियो । 

सन् २०१७ मा गोआ र पञ्जाबमा भएका विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेको आपले खासै राम्रो प्रदर्शन गर्न सकेन । गोवामा आपले कुनै पनि सीट जितेन अनि ३९ मध्ये ३८ सीटमा त उसले जमानत समेत जोगाउन सकेन । पञ्जाबको ११७ सीटमा आपले २० सीट मात्र जित्यो । 

त्यसो त केजरीवालको नेतृत्वमा आप सरकारले शिक्षा र स्वास्थ्यमा प्रशंसनीय काम पनि गरेको छ । सन् २०१६ मा आप सरकारले ६ देखि ८ कक्षाका साढे तीन लाख विद्यार्थीले लेख्न पढ्न नजान्ने थाहा पाएपछि उनीहरूका लागि ‘क्य्राश कोर्स’ चलाएको थियो । यसले गर्दा अहिले एक लाख विद्यार्थीले पाठ्यपुस्तक पढ्न सक्ने भएको बताइएको छ । 

त्यस्तै आप सरकारले बिरामीहरूका लागि मोहल्ला क्लिनिक सञ्चालन गरेर सित्तैमा स्वास्थ्य परामर्श, औषधि र परीक्षण सेवा सञ्चालन गरिरहेको छ । एक सय दश क्लिनिकबाट आठ लाखभन्दा बढी बिरामीले यो सेवाको उपयोग गरिसकेको बताइएको छ । विदेशी संस्थाहरूले यो सेवाको प्रभावकारिताको प्रशंसा गरेका छन् । 

दुर्भाग्यवश यी सकारात्मक कदमलाई आप र केजरीवालका अनगन्ती विवादले ढाकिदिएका छन् । केजरीवालको पतनका सम्बन्धमा 'यान इन्सिग्निफिकेन्ट म्यान' नामक वृत्तचित्र हालै सार्वजनिक भएको छ । आप दिल्लीबाट बाहिर गएर राष्ट्रिय पार्टीको रूपमा स्थापित हुने तत्काल कुनै सम्भावना देखिँदैन । दिल्लीको विकासका लागि उसले अझै थुप्रै काम गर्न बाँकी छ । विवादको सिलसिला कायम रह्यो भने दिल्लीमा सन् २०२० मा हुने विधानसभा चुनावमा आपको सम्भावना क्षीण हुने विश्लेषकहरू बताउँछन् । 

नेपालमा पनि मूलधारका पार्टीहरूबाट विरक्तिएका युवाहरूले वैकल्पिक धारको नेतृत्व गर्नका लागि छुट्टै पार्टी खोलेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी र रवीन्द्र मिश्र, उज्वल थापाहरूको विवेकशील साझा पार्टी पनि आपजस्तै गरी राष्ट्रिय राजनीतिमा उदाउने प्रयत्न गर्दैछन् । भट्टराईले केजरीवाल र आपको उदयलाई प्रेरणा मानेको कुरा बताउने गरेका छन् । 

शहरका सचेत युवामा विवेकशील साझाप्रतिको आकर्षण देखिएको छ र स्थानीय निर्वाचनको पहिलो चरणमा विशेषगरी काठमाडौंमा कुनै जीत हासिल नगरेपनि उक्त दल (त्यतिखेर छुट्टै विवेकशील र साझा) को प्रदर्शन राम्रो थियो । नयाँ शक्ति पार्टीको प्रदर्शन भने अपेक्षाअनुरूप राम्रो रहेन । यसका बाबजुद वैकल्पिक शक्तिहरूको उदयले युवाहरूलाई उत्साहित तुल्याएको छ । अहिले नै उनीहरूले सरकार बनाउने स्थिति त नआउला तर कुनै बेलामा उनीहरूको पनि उल्लेख्य उपस्थितिलाई नकार्न सकिने छैन । त्यसबेलामा आपले गलत व्यवस्थापनका कारण बेहोर्नुपरेको पतनले उनीहरूलाई पक्कै पाठ सिकाउला । 

एजेन्सीको सहयोगमा  

मंसिर १०, २०७४ मा प्रकाशित

विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस