खेलकुद

पहिलो टेस्टमा अस्ट्रेलियाको विशाल जीत, इंग्ल्यान्डलाई १० विकेटले हरायो

काठमाडौं, ११ मंसिर — एशेज सिरिजअन्तर्गतको पहिलो टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध प्रभावशाली जीत दर्ता गरेको छ ।

सोमवार ब्रिसबेनमा सम्पन्न टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको हो । जीतका लागि १७० रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाले कुनै विकेट नगुमाई जीत हासिल गरेको हो ।

अस्ट्रेलियालाई जीत दिलाउन क्यामरन ब्यांक्रफ्टले नटआउट ८२ र डेभिड वार्नरले नटआउट ८७ रन बनाए ।

यसअघि इंग्ल्यान्डले दोस्रो इनिङमा जम्मा १९५ रनमा अलआउट भएर अस्ट्रेलियालाई सानो लक्ष्य दिएको थियो । अस्ट्रेलियाका लागि स्टार्क, हेजलवूड र लियोनले तीन तीन विकेट लिए ।

इंग्ल्यान्डका जो रूटले मात्र ५० रन कटाउन सके । उनको ५१ रनका अलावा जोनी बेयरस्टोको ४२ र मोईन अलीको ४० रन बन्यो ।

इंग्ल्यान्डले पहिलो इनिङमा भिन्सको ८३ र मालनको ५६ रनको मद्दतले ३०२ रन बनाएको थियो । अस्ट्रेलियाका लागि स्टार्क र कमिन्सले तीन तीन विकेट लिए ।

जवाफमा अस्ट्रेलियाले कप्तान स्टिभ स्मिथको १४१ रनको मद्दतले ३२८ रन बनायो । कुनै समयमा ७६ रनमा चार विकेट गुमाएर अप्ठ्यारो स्थितिमा पुगेको अस्ट्रेलियालाई स्मिथको पारीले राहत दियो र बलियो स्थितिमा पु–यायो । ब्रोडले
तीन अनि एन्डरसन र अलीले दुई दुई विकेट लिए ।

पहिलो इनिङमा प्रभावशाली ब्याटिङ गरेका स्मिथ म्यान अफ द म्याच भए ।

दोस्रो टेस्ट मंसिर १६ गते एडलेडमा शुरु हुँदैछ । 


 

मंसिर ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस