खेलकुद

मेस्सीको यो गोल किन भयो भाइरल ?

काठमाडौं, १२ मंसिर — स्पेनिस लीगमा बार्सिलोना र भ्यालेन्सियाबीच आइतवार खेलिएको खेल १–१ गोलको बराबरीमा टुंगियो । 

यस खेलको ३०औं मिनेटमा बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले एक गोल गरे तर रेफ्रीले त्यो गोल मानेनन् । स्पेनी सञ्चारमाध्यमले त्यसलाई ‘गोस्ट गोल’ नाम दिए । 

तीसौं मिनेटमा मेस्सीले आकर्षक शट लगाए । बिजुलीको गतिमा बल भ्यालेन्सियाका गोलकीपरको हातबाट चिप्लिएर दुवै गोडाको बीचबाट लाइनभित्र खस्यो । अनि गोलकीपरले बललाई हातैले हटाएर मैदानमा फ्याँकिदिए । 

बार्सिलोनाका खेलाडीहरूले यसलाई गोल मानेर उत्सव मनाउन थाले र रेफ्रीले यसलाई अस्वीकार गरिदिए । 

स्पेनका प्रतिष्ठित पत्रिकाहरूले म्याचको यो घटनालाई प्रमुखताका साथ प्रकाशित गरे । स्पेनको एक ठूलो पत्रिकाले त यसलाई विवाद र रेफ्रीको लूट समेत लेख्यो । युट्युबमा यो गोलको भिडियो भाइरल भइरहेको छ । 

ल लीगाका म्याचहरूमा भिडियो रिभ्यु प्रयोग गर्न पाइँदैन । मड्रिडका पत्रकार डिएगो पीसोले खेलमा प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताउँदै प्रविधिले खेललाई निष्पक्ष बनाउने लेखे । 

भ्यालेन्सिया र बार्सिलोनाबीचको पहिलो हाफको खेल गोलरहित रह्यो । त्यसपछि ६०औं मिनेटमा रोड्रिगोले गोल गरेर भ्यालेन्सियाको खाता खोले । बार्सिलोनाका लागि जोर्डी एल्बाले गोल गरेर बराबरी गराए । 

हेरौं भिडियो :

 

एजेन्सी
 

मंसिर १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस