सुशासन

८  करोड बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर


काठमाडौँ, १२ मंसिर -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत उपसचिवद्वय विष्णुप्रसाद पौडेल र होमनाथ अधिकारीसहित चारजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार उपसचिव पौडेललगायतले यातायात कार्यालयमा उठेको राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले कार्यालयका उपसचिव होमनाथ अधिकारीविरुद्ध रु १४ लाख पाँच हजार र विष्णुप्रसाद पौडेलविरुद्ध रु आठ करोड ८२ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । 

त्यस्तै, कार्यालयकै लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल तथा सहलेखापाल टंकबहादुर खड्कासँग जनही रु आठ करोड ९६ लाख बिगो माग दाबी गर्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए  । 

आयोगका अनुसार उनीहरुले आर्थिक वर्ष २०६९÷७० र आव २०७०÷७१ मा भएको कारोबार अध्ययन गर्दा रु आठ करोड ८२ लाख कम राजश्व दाखिला गरेको आयोगले जनाएको छ । यसअघि पनि आयोगले सोही कार्यालयका आठ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

मंसिर १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस