सिनेमा

दुर्व्यवहार निम्त्याउनुमा महिला पनि जिम्मेवार : अभिनेत्री एञ्गेला ल्यानसबरी

काठमाडौं, १३ मंसिर — अमेरिकामा हलिउड चलचित्र उद्योगका विवादित व्यक्तित्व हार्वी वाइन्सटाइनले यौन दुर्व्यवहारका महिला-अभियोगहरूको सन्दर्भमा अदालती कारवाही सामना गरिरहेका बखत एक ख्यातिप्राप्त अभिनेतृ एञ्गेला ल्यानसबरीले भनेकी छिन् : आफूलाई आकर्षक देखाउने सिलसिलामा अति उत्साही हुने महिला कलाकारहरू आफैं पनि यस्तो अवस्था ल्याउनमा एक हदसम्म जिम्मेवार छन् ।

बेलायतको ‘रेडियो टाइम्स’ लाई अन्तर्वार्ता दिँदै ल्यानसबरीले भनिन् : यौनउत्तेजना जगाउने (सेक्सी हुने) रहर गर्दा त्यसका दुष्परिणाम आइपरेका हुन् । हामी महिलाहरूले नै बेला-बखत यसको दोष खेप्नुपर्ने हुन्छ ।

‘मैले हलिउडमा काम गर्दा कहिल्यै पनि कुनै पुरुष कार्यकारी वा सहकर्मीबाट ममाथि अनुचित व्यवहार भएन’, बेलायतमा जन्मेकी ९२ वर्षीय ल्यान्सबरीले अन्तर्वार्ताको क्रममा भनिन् । उनलाई जेसिका फ्लेचर भै खेलेको सिकारू गुप्तचरको भूमिकाको सन्दर्भमा विशेष सम्झना गरिन्छ ।

यौन दुर्व्यवहारमा परेर पीडित भएका भनेर हालै चर्चामा आएका महिलाहरूका प्रति सहानुभूति राख्दै ल्यान्सबरीले आफूलाई राम्री र आकर्षक बनाउने युगौं पुरानो चलन भएको कुरा स्वीकार गरिन् । तर यस प्रचलनमा विचलन थपिँदा अहिलेको अवस्था भोग्नुपरेको हो भन्ने उनको भनाइ छ ।

आफ्नो यस मन्तव्यले आधुनिक युवतिहरूबाट आलोचना निम्त्याउन सक्ने कुरा स्वीकार गर्दै ल्यानसबरीले भनिन् : हो,कतै कसैले धक्का देला अथवा बलात्कारको शिकार भइएला भनेर महिलाले सकेसम्म सुन्दर, राम्री हुने इच्छा राख्नुहुन्न भन्नु सहज कुरो होइन । त्यस्तै, कार्यस्थलमा सामना गर्नुपरेका पुरुषका अनुचित व्यवहारलाई स्वाभाविक ठान्नुपर्छ भन्न पनि मिल्दैन ।    

यसैबीच, यौन दुर्व्यवहारसम्बन्धी मुद्दा खेपिरहेका वाइन्सटाइनले आफूमाथि लागेका आरोपहरू अस्वीकार गर्दैआएका छन् । उनका प्रतिनिधिद्वारा जारी वक्तव्यमा वाइन्सटाइनले फेरि पनि भनेका छन्: ‘राजीखुसी बेगर मैले कुनै महिलासित पनि सहवास गरेको छैन’ । तर उनमाथि व्यभिचारको आरोप लगाउने महिलाहरूले भने चलचित्रमा राम्रो भूमिका दिलाउने आश्वासन दिँदै आफूलाई बलात्कार गरिएको कुरा सार्वजनिक गर्ने गरेका छन् ।

(रोयटर्स/ द टाइम्स)

मंसिर १३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस