सिनेमा

सुनिलसँगको झगडाको कुरा उक्काउँदा कपिल भड्किए

काठमाडौं, १३ मंसिर — भारतीय कमेडियन कपिल शर्माले यो वर्ष धेरै विवादको सामना गरेका छन् । सहकर्मी सुनिल ग्रोभरसँगको झगडादेखि टीभी शो बन्द भएसम्मका घटनाले कपिललाई धेरै घाटा लाग्यो । 

आफ्नो नयाँ फिल्म फिरंगीको प्रमोसनका लागि कपिल दिल्ली पुग्दा पत्रकारहरूसँग कुराकानी गरे । त्यसक्रममा उनलाई विवादका कारण उनको फिल्म र बिजनेसमा के असर पर्छ भनी सोधिएको थियो । 

प्रश्न सुनेपछि अलिकति रिसाउँदै कपिलले भने, ‘सबै अभिनेता विवादबाट गुज्रिन्छन् । मलाई घृणा गर्नुपर्ने गरी मैले कुनै अपराध गरेको छैन । मानिसले कसैलाई धेरै प्रेम गर्दा घृणाको स्तर पनि त्यति नै धेरै हुन्छ ।’

कपिलले सुनिलसँग फेरि काम गर्न सकिने बताए । तपाईंसँगै सुनिल पनि फिल्ममा देखिन्छन् त भनी सोध्दा कपिलले मजाक गर्दै मैले उसलाई धर्मपुत्र बनाएको हो र भने । 

कपिल शर्माको फिल्म फिरंगी मंसिर १५ गते सार्वजनिक हुनेछ । यो फिल्म २२ गते रिलिज हुनुपर्ने थियो तर पद्मावतीको विवाद चलेर रिलिज हुन नसक्दा फिरंगीको रिलिज डेट अघि सरेको थियो । 

एजेन्सी
 

मंसिर १३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस