सिनेमा

‘इतिहासकारहरूको विशेष टोलीले हेर्नेछ पद्मावती’

काठमाडौं, १५ मंसिर — पद्मावतीसम्बन्धी विवाद चलिरहँदा निर्देशक सञ्जय लीला भन्सालीले भारतको संसदीय प्यानलसमक्ष सफाइ दिएका छन् । 

आफ्नो फिल्म प्रसिद्ध सूफी सन्त मलिक मुहम्मद जायसीको रचना पद्मावतमाथि बनेको उनले बताए । सेन्सर बोर्डका प्रमुख प्रसून जोशीले संसद्को अर्को समितिलाई इतिहासकारहरूको एक विशेष टोलीले यो फिल्म हेर्ने बताए । 

सूत्रहरूका अनुसार, पद्मावती हेर्ने टोलीमा इतिहासकारहरू पनि रहनेछन् र फिल्म निर्माताहरूले सेन्सर बोर्डसमक्ष उचित तरिकाले निवेदन दिनुपर्नेछ । फिल्म कल्पनामा आधारित हो कि ऐतिहासिक घटनासँग जोडिएको हो भनी शुरुमै प्रस्ट लेखिनुपर्नेछ । 

भन्सालीले संसद्को स्थायी समितिसमक्ष स्पष्ट रूपमा फिल्मको कथा जायसीको रचनामा आधारित रहेको बताए । यसको अर्थ फिल्म ऐतिहासिक घटनासँग जोडिएको छैन । 

फिल्मको विरोध गरिरहेका मानिस चाहिँ यसले इतिहासलाई बंग्याएर प्रस्तुत गरेको आरोप लगाउँछन् । भन्सालीको तर्कबाट उनीहरू सन्तुष्ट छैनन् । 

पद्मावतीका निर्माताहरूले फिल्मलाई अनेकौं प्रक्रियाबाट गुजार्नका लागि दुई महिनाभित्र फैसला गरिसक्नुपर्नेछ । सबैतिरबाट सन्तुष्टि भएपछि बल्ल फिल्म रिलिज हुन पाउनेछ ।

एजेन्सी
 

मंसिर १५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस