विश्लेषण : अन्तर्वार्ता

भावी प्रधानमन्त्रीको रूपमा बधाई हतार होला, अहिलेलाई शुभकामना दिनुस् : केपी ओली [भिडियो अन्तर्वार्ता]

बिहीवार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि वामपन्थी गठबन्धन बनाएर चुनावमा होमिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमवार पनि चुनावी प्रचार अभियानमै व्यस्त थिए । व्यस्त समयका बाबजुद हामीले उनीसँग अन्तर्वार्ताका लागि आग्रह ग–यौं । निकै व्यस्त कार्यतालिकाका बीच ओलीले आधा घण्टा लोकान्तर डट्कमसँग बिताए जहाँ उनले गठबन्धनले दुई  तिहाइको नजिक नजिक पुग्ने नतिजा ल्याउने दाबी गरे । देशव्यापी चुनावी दौडाहा सकेर काठमाडौं फर्किएका अध्यक्ष ओलीले सोमवार दिउँसो लोकान्तरका लागि विमल गौतम   सुशील पन्तसँग गरेको विशेष कुराकानीको सम्पादित अंश : 


चुनावी अभियानका क्रममा देशका विभिन्न जिल्लामा जाँदा माहौल कस्तो पाउनुभयो ? 

जनतामा असाधारण उत्साह छ । जनतामा आत्मविश्वास बढेको छ । जनतामा आशावादिता बढेको छ । यी सबैका पछाडि के छ भने नेपाल त संघर्ष सफल बनाउने, उपलब्धि जोगाउन नसक्ने देशमा रेकर्डै भएको देश हो नि । २००७ साल होस् कि २०४६ साल जहिलेपनि उपलब्धि जोगाउन नसक्ने स्थिति रह्यो । बहुमत ल्याएपनि काम नलाग्ने, स्थिरता स्थायित्व हुनै नसक्ने भयो । चुनेर पठायो भरपर्दो काम नगर्ने, भिजन भएको सरकार नबन्ने ।

त्यस ठाउँमा अब उपलब्धि जोगाउन सक्ने, राष्ट्रियताको निम्ति उभिन सक्ने, लोकतन्त्रलाई सामाजिक जीवनमा समेत जीवनदर्शनकै रूपमा जीवन पद्धतिको रूपमा अपनाउने, देशमा फाटोको खेती होइन, एकताको अभियान चलाउने, अस्थिरताको खेती होइन, आफ्ना स्वार्थका लागि होइन विकासका लागि भिजन भएको प्रतिबद्धता भएको र संकल्प भएको समूह सुदृढ ढंगले आएकोमा जनता अत्यन्त खुशी छन् । त्यसप्रति विश्वास छ र हाम्रा विगतका संघर्षका अनुभव र इतिहास, सरकार चलाउँदाका बहुपक्षीय नीति र व्यवहार हेरेपछि जनता अत्यन्त भरोसायुक्त शक्ति पाइयो भन्ने निष्कर्षमा पुगेका छन् । उनीहरूमा खुशी छाएको छ । त्यसमाथि एमाले र माओवादी मिलेर एउटा सुदृढ, लोकतान्त्रिक, अग्रगामी, देशभक्त शक्तिलाई विजयी बनाउने आधार झन् स्पष्ट भएको छ भनेपछि झन् उत्साह पैदा भएको छ ।  म साँझ परिसकेपछि आमसभामा पुग्छु । त्यहाँ पनि जनताको असाधारण संयम र धैर्यता छ । आज मात्र म काठमाडौं कपनको सभामा गएँ । बिहान ७ बजेदेखि बसेका जनता १२ बजेसम्म भोको पेटमा एकदम धैर्यतापूर्वक उत्साहजनक रूपमा बसेको पाएँ ।  

जनतामा त्यस्तो उत्साह ल्याउने कारण के हो ? व्यक्तिगत रूपमा तपाईंको नेतृत्व कि अन्य कारण ?

पहिलो कुरा त नेकपा एमालेले लिएको सैद्धान्तिक, वैचारिक नीति । अर्थात् मैले भन्न खोजेको स्पष्ट जनताको बहुदलीय जनवाद भनेर भनेका छौ । यो दार्शनिक, सैद्धान्तिक हिसाबले, कार्यक्रमिक र नीतिगत हिसाबले एउटा विषय मात्र होइन, समग्र राष्ट्रिय नीति र राष्ट्रिय सन्दर्भ तथा अग्रगामी सोचहरूमा आधारित छ । नयाँ खोज अनुसन्धान, वैज्ञानिक खोज र अनुसन्धानलाई समेत ध्यानमा राखेर विगतका राष्ट्रिय मुक्ति आन्दोलनका, सामाजिक आन्दोलनका, प्रयासहरू लगायत समग्र उपलब्धि र असफलताको समीक्षा गरेर जुन एउटा वैज्ञानिक सिद्धान्त प्रतिपादन भएको छ त्यसलाई एमालेले अवलम्बन गरेको छ । त्यो सुस्थिर छ । सुदृढ छ । गतिशील छ र वैज्ञानिक छ । त्यसकारण नेकपा एमालेले सही नीतिहरू अवलम्बन गरेको छ । सही नीतिहरू अवलम्बन गर्दै गर्दा मैले एमालेको नेतृत्व गरेको छु, त्यसको श्रेय मैले पाउनु अनौठो कुरा होइन ।

हामी बेइमानी र धोकालाई राजनीति मान्दैनौं । राजनीतिलाई खेल ठान्दैनाैं । राजनीति भनेको मानव जातिका लागि, यस धर्तीका लािग, यस राष्ट्रका जनताका लागि समृद्धि प्राप्त गर्ने माध्यम हो । त्यही कुरालाई ध्यानमा राखेर हामी अघि बढेका छौं । त्यसकारण हामीप्रतिको आकर्षण बढेको छ । 

वामपन्थी सरकार अयो भने साम्यवाद आउँछ भनेर कांग्रेस नेताहरूले भनिरहेका छन् । कांग्रेसका नेताहरूले भनेको कुराले मतदातालाई कत्तिको प्रभावित गरेको ठान्नुभएको छ ?

मान्छेमा अलिअलि भ्रम हुनसक्छ । कांग्रेसले यस्तै झुट बोलेर ६० वर्षमाथिका बूढाबूढीलाई कम्युनिस्टले गोली हानेर मार्छन् भनेर कुप्रचार ग–यो । कांग्रेसमा गलत कुरा गर्ने अभ्यास छ । उसको नेतृत्वमा बनेको दक्षिणपन्थी गठबन्धनले परिवर्तनलाई स्वीकार गर्न सक्दैन । समाजको पछौटे सोच, अविकसित चिन्तन र पुरानो सामन्ती मानसिकतालाई कांग्रेसले प्रतिनिधित्व गर्छ । त्यसले परिवर्तनलाई आत्मसात गर्न सक्दैन । हामीले कांग्रेसलाई लतारेर यहाँसम्म ल्याएका हौं । गणतन्त्रमा त हामीले ल्याप्चे लगाउन लगाएका हौं । अहिलेको कांग्रेसको नेतृत्वमा त बीपी कम, ज्ञानेन्द्र (पूर्वराजा ज्ञानेन्द्र शाह) बढी पो छ । ज्ञानेन्द्रको शासनको बेलामा पितातुल्य राजा भनेर ज्ञानेन्द्रको पाउमा लगेर सरकार बुझाएको होइन ? अहिले कम्युनिस्टहरूको सरकार बन्यो भने अर्को निर्वाचन हुँदैन भनेर हुन्छ ?  त्यसैकारण मैले भनेको उहाँहरूमा बीपी कम र ज्ञानेन्द्र बढी हाबी भयो ।  

उहाँहरू भ्रमपूर्ण प्रचार गर्नुहुन्छ । हामीले एमाले र माओवादीले चुनावी घोषणापत्र संयुक्त रुपमा ल्याएका छौं । हामी के गर्छौं भन्ने कुरामा त त्यसमा बहस गरे हुन्थ्यो नि ? हाम्रो पृष्ठभूमि हेरेर हामीमा प्रश्न उठाउने मान्छे कति छन् ? लोकतन्त्रका लागि, त्यागका लागि, बलिदानका लागि गरिएको संघर्षमा टेकेर प्रश्न गर्न कसैले सक्छ ?

मलाई प्रश्न गर्ने मान्छेले त्यो हैसियत त राख्नुपर्छ नि । कोठामा बसेर गफ गर्ने गफाडीहरूले त्यसो भनेर हुन्छ  ? हामीसँग लोकतन्त्रको सवालमा प्रश्न उठाउने ? तर म यतापट्टि गहिरो गरी जान चाहन्नँ । कांग्रेसमा यो सम्भावित पराजयको बोधको पीडा मात्रै हो । उहाँहरूमा हतास मनस्थिति पैदा भएको छ । पीडाबोधको कारणले भएको छटपटी छ । उहाँसँग यो गर्छु भन्ने कार्ययोजना छैन । अरूको सन्दर्भमा भ्रमपूर्ण कुरा गर्ने उहाँहरूको नियत हो । उहाँहरू रित्तो हो । रित्तोबाट त केही कुरा पनि आउँदैन नि । सत्यमा आधारित रहेर प्रश्न गर्ने सामर्थ्य छैन उहाँहरूमा । यसमा मैले धेरै केही बोल्नु पर्दैन । हामीले  लोकतन्त्रका लािग कतै गएर आईएसओ प्रमाण चिह्न देऊ न भनेर लिनुपर्ने छैन । नेल्सन मण्डेला त बितिहाल्नुभयो, बाँकीहरूलाई लोकतन्त्रका सवालमा गरेका त्याग तपस्या, बलिदानका सन्दर्भमा चुनौतीपूर्ण ढंगबाट भन्न चाहन्छु । कुप्रचार गरेर हिँड्ने हतासा फरक कुरा हुन् । यसमा धेरै जवाफ दिनुपर्छ जस्तो मलाई लाग्दैन । धेरै मान्छेले यस्तो कुरा पत्याउँदा पनि पत्याउँदैनन् । अलिअलिले पत्याउलान्, त्यो फरक कुरा हो ।

यत्रो जनशक्ति, फ्युल खर्च गरेर उहाँ (प्रधानमन्त्री देउवातर्फ संकेत गर्दै) निर्वाचन क्षेत्रमा जानुहुन्छ । उहाँ गएर के भन्नुहुन्छ ? कम्युनिस्ट आयो भने चुनावै हुँदैन भनेर पो भन्नुहुन्छ । कम्युनिस्टको शासन आयो भने रुन पर्दैन, पाइँदैन हैन । लोकतन्त्र समाप्त हुन्छ भनेर उहाँले भन्नुभएको छ । उहाँमा हतास मनस्थिति छ । संविधान सिध्याउन खोज्ने मान्छे हो उहाँ । संविधानलाई गम्भीर क्षति पुग्ने गरेर बुनिएको षड्यन्त्रमा लागेर संविधान संशोधन गर्न खोज्ने मान्छेले संविधान यता उता गर्न पाइँदैन भनेको सुहाउँदैन ।

एउटा कुरा उहाँले भनेको, मैले यसो हेरें, कुन सञ्चारमाध्यम के हो भन्ने कुरा सञ्चारमाध्यमबाटै पनि बुझिन्छ । एउटा सञ्चारमाध्यममा उहाँले लोकतन्त्र कसैले सिध्याउन सक्दैन भन्नुभएको थियो । हो, लोकतन्त्र कसैले सिध्याउन सक्दैन । उहाँका हावादारी कुराले लोकतन्त्र समाप्त हुँदैन ।

तपाईंले नेपाली कांग्रेसबाट प्रधानमन्त्री बन्ने देउवा अन्तिम हुन् भनेर टिप्पणी गर्नुभयो । त्यसले पनि प्रधानमन्त्री काँग्रेसका नेताहरू अलि बढी चिढिएका हुन् कि ? 

त्यति साँचो कुरा पनि भन्न नपाइने ? उनी नेपाली कांग्रेसबाट प्रधानमन्त्री बन्ने अन्तिम हुन् । 

त्यसोभए यो चुनावपछि वाम गठबन्धनको सरकार आउने लगभग पक्का छ ?

लगभग भन्ने शब्द कहाँबाट आयो फेरि ? लगभगले अनिश्चय देखाउँछ । अलि धेरै सम्भावना भएको तर सम्भावना नहुने समेत अवस्था रहेको देखाउँछ । सम्पूर्ण रूपमा एकिन भइनसकेको देखाउँछ । अहिलेको प्रसंगमा त्यो शब्दको प्रयोग नै नगर्नुहोस् । शब्दको दुरुपयोग भयो ।

मानौं चुनावी नतिजा तपाईंले भने जस्तै आउला । तर सरकार बन्दै गर्दा नेपालको भूराजनीतिक अवस्थाले अर्थ  राख्ला कि नराख्ला ? हामीले त्यतातर्फ संकेत गर्न खोजेको ।

यो अहिले म जुन कुरा गरिरहेको छु, जनतामा जुन उत्साह देखिएको छ, यो यही भूराजनीतिमा भएको कुरा त हो । चुनावपछि अर्कै भूराजनीति आउने हो र ? भूराजनीतिको खेलले गर्दा राजीनामा गर्दै गर्दा मैले भनेको थिएँ, समय सकिएको छैन । हामी पनि यहीँ छौं । त्यो त सबैलाइ थाहा होला । 

द्वापर युगमा कलिलो अभिमन्युलाई घेरेर कौरवहरूले एक निहत्था बालकको हत्या गरेका थिए । त्यो कुरा त थियो द्वापर युगको । बालक अभिमन्युको । आज त्यो युग पनि छैन, अभिमन्यु पनि छैन । अभिमन्यु कमजोर वा बालक पनि छैन । यो पनि नबिर्सिए राम्रो भनेर मैले भनेको थिएँ ।

अहिले जे भइरहेको छ, वाम तालमेलको सरकार बन्ने भो भन्ने कुरा, त्यही भूराजनीतिमा हुने कुरा हो । भूराजनीति एउटा विज्ञापनमा भनेजस्तै हो – जे आउँछ मजाले पचाउँछ ।

चुनावी नतिजाको या आँकडाको कुरा तपाइँले भनेजस्तो आउला । तर जसको साथ र विश्वासमा तपाईंले वामपन्थी सरकारको सपना देखिरहनुभएको छ, ती पात्र अलि भरपर्दो नभएको,  झ्याप्पै ‘युटर्न’ (पूरै फेरिने) हुने भनेर टिप्पणी पनि गरिन्छ नि ? वामपन्थी सरकार गठनमा त्यसले कतै अप्ठेरो हुने त होइन ?

तपाईले जतातर्फ संकेत गर्नुभयो नि, उहाँको यो लचकता हो । डाइनामिजम हो । यदि यो हुँदैनथ्यो भने उहाँ शान्ति प्रक्रियामा आउनुहुँदैनथ्यो । शान्तिप्रक्रियामा आएपछि पनि उहाँ सम्पूर्ण रूपमा शान्तिपूर्ण राजनीति र लोकतान्त्रिक पद्धतिमा हुनुहुन्छ । उहाँले आफै भन्नुहन्छ बुलेटबाट ब्यालेटमा आयौं । उहाँले कब्जाको कुराबाट प्रोसेसको कुरामा आउनुभएको छ । उहाँसँग फ्लेक्सिबिलिटी (लचकता) छ । यस्तो फ्लेक्सिबिलिटी हुँदैनथ्यो भने एमाले र माओवादी त आलोचनात्मक ढंगबाट अघि बढेकै हो नि ।

त्यसकारण नकारात्मक ढंगले मात्रै हेर्नु वाञ्छनीय हुँदैन । उहाँले यसबीचका सबै उतारचढाव हेर्नुभयो । उहाँले अधिकारहरूको रक्षा गर्दै समृद्धिको यात्रातर्फ जानुपर्छ भन्ने कुरा राम्रोसँग मनन गर्नुभएको छ । सोही कारणले चुनावी तालमेल गर्ने अनि पछि पार्टी एकीकरण गर्ने भनेर हामी अघि बढेका हौं ।

किन  सधैं नकारात्मक तरिकाले मात्रै सोच्नुपर्ने ? सकारात्मक ठाउँबाट हेर्दा पनि त हुन्छ । भोलि गएर एउटै पार्टी बनाएर हाम्रा महान् उद्देश्यहरू प्राप्तिका लागि अघि बढ्ने कुरालाई ग्रहण नगर्ने भन्ने हुन्छ र ? सकारात्मक सोच राख्नुपर्छ । अग्रगामी सोच राख्नुपर्छ । अगाडि जानुपर्छ । सम्झनाका कुरातिर अल्मलिनुहुँदैन ।

लोकान्तरको टोली चुनावी रिपोर्टिङ्का लागि २२ जिल्लामा पुगेर मतदाताहरूसँग कुरा ग–यो । त्यसक्रममा कतिपयले के पनि टिप्पणी गरे भने धेरै ठाउँमा जहाँ जहाँ एमालेका नेताहरूलाई थोरै भोट चाहिएको छ त्यहाँ एमालेले जित्ने अवस्था छ । तर एमालेका ४० प्रतिशत नेता कार्यकर्ता वाम एकताबाट असन्तुष्ट छन् । तिनले माओवादीलाई भोट नहाल्ने खतरा छ भनेको पनि पाइयो । त्यस्तो स्थिति आयो भने के हुन्छ ? पार्टी एकतालाई असर हुन्छ कि हुँदैन ?

त्यस्तो अनपेक्षित अवस्था आउँदैन । एमाले बेग्लै ढंगले प्रशिक्षित पार्टी हो । हामी महान् उद्देश्यमा केन्द्रित छौं । हाम्रा उद्देश्यमा हामी पुग्न सक्छौं कि सक्दैनौं ? हाम्रो कार्यकर्ता पंक्ति मानवजातिका लागि, यस राष्ट्रको सुरक्षाका लागि, जनताको सुखसमृद्धिका लागि बलिदान दिन तयार भएर हिँडेका छन् । यस्तो कार्यकर्ता पंक्तिले आफ्नो उम्मेदवार नभएको ठाउँमा सहयात्रामा रहेको दललाई भोट दिँदैनन् भनेर म पत्याउँदिनँ । हामी ज्यान दिन पनि पछि नपर्ने भनेर आएका कार्यकर्ता हौं । तपाईंले जनताको मुखबाट त्यस्तो सुन्नुभएको होइन होला । तपाईंले अरू कसैबाट सुन्नुभएको मात्रै होला । एमालेका कार्यकर्ताहरूले यस्ता कुरा गर्दैनन् । एमालेका कार्यकर्ताले यसलाई राम्रो ठानेका छैनन् भन्नु विपक्षीहरूले मन बुझाउने कुरा मात्रै हो । हिजो तालमेल गर्दा देशमा ठूलो विग्रह हुन्छ, बागी हुन्छ भनेर हल्ला चलाइएको होइन ? हेर्नुहोस् त घोषणा गर्ने बेलामा दुई हात उठाएर ताली बजाए जनताले । जनतामा उत्साह आएको छ । तसर्थ यस्तो अनुमान विपक्षीहरूको एउटा भ्रमित चाहना मात्रै हो । एमालेको कार्यकर्ता पंक्तिको मनोविज्ञान बेग्लै किसिमको छ । सैद्धान्तिक र वैचारिक रूपमा बेग्लै तालिम छ एमाले कार्यकर्ताहरूलाई । हामी आफूभन्दा पनि देशकेन्द्रित हौं ।

पार्टी अध्यक्ष भएकाले तपाईंसँग अलि भरपर्दो सूचना या विश्लेषण होला । एमाले र माओवादी मिलेर अबको चुनावबाट कति सिट ल्याउलान् ? तपाईंको आँकलन कस्तो छ ? 

सरकार बनाउन पुग्ने, आरामसँग पुग्ने सिट जित्छौं । सरकार बनाउन सजिलोसँग पुग्ने सिट ल्याउँछौं । दुई तिहाइको आसपासमा ल्याउन सक्छौं । दुई तिहाइमा १०, १५ सिट बढी आउन पनि सक्छ । कम आउन पनि सक्छ । अहिले दक्षिणपन्थीहरूले दुई तिहाइ ल्याउँदैन भन्ने कुरा गरिरहेका छन् । उहाँहरू आफू सरकारमा जाने सपनै देख्नुभएको छैन । उहाँहरूले निकै होशियारीका साथ बोल्नुभएको छ । उहाँहरूले लुकाई लुकाईकन अधिनायकवाद आउँछ भनिरहनुभएको छ । अहिले आएर दुई तिहाइ पुग्दैन भन्नेमा सन्तोषको श्वास लिन खोज्नुभएको छ । कांग्रेसका सभापतिको आज प्रकाशित अभिव्यक्तिहरूमा लोकतन्त्र मास्न पनि दुई तिहाइ चाहिन्छ, गठबन्धले सक्दैन भन्ने उहाँको विश्लेषण छ ।

यी सबै कुराहरूको जवाफ त प्रदीप गिरीले दिनुभएको छ । उहाँले फटाहा कुरा गर्नुपर्ने छैन भन्नुभएको छ । कम्युनिस्टले जित्यो भने अधिनायकवाद आउँदैन भनेर उहाँले भन्नुभएको छ । कांग्रेसका नेताले झुट बोले पनि म झुट बोल्दिनँ भनेर भन्नुभएको छ । उहाँले यस्तो झुट बोल्नुहुँदैन भनेर आफ्ना नेताहरूलाई अर्ति पनि दिनुभएको छ ।
हामीलाई राम्रो सिट आउँछ । हामी देशका लागि आवश्यक पर्दा संविधान संशोधन गर्छौैं । नपर्दा गर्दैनौं ।

वामपन्थी सरकारको प्रधानमन्त्रीको रूपमा तपाईंलाई अहिले बधाई या शुभकामना दिँदा उचित हुन्छ ?

अहिले नै वधाई दिँदा हतार हुन्छ । मैले नीतिगत कुरा मात्रै गर्छु । हाम्रो बहुमत आउँछ । सरकारको नेतृत्वमा हामीले छलफलपछि निर्णय गर्छौं ।  हेरौं पार्टीमा, तालमेलमा के कुरा हुन्छ । तर पुसको मध्यसम्ममा वामपन्थी सरकार बन्छ । अहिलेको अवस्थामा बधाई दिनु चाहिँ अलिक हतार हुनसक्छ  । शुभकामना दिँदा चाहिँ काफी हुन्छ ।
 

मंसिर १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस