विश्लेषण : आलेख

नेपालमा औपनिवेशिक लेखनको जालो : विदेशीको गीत गाउँदै नेपाली लेखक

विश्वभर नै उपनिवेशकालीन समयमा तत्कालीन बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिकाका खासगरी सामाजिक वैज्ञानिकहरूले ती देशहरूका रणनीतिक स्वार्थपूर्ति गर्न विभिन्न मानवशास्त्रीय, इतिहास, भूगोल, संस्कृतिको प्रशस्त लेखन गरेका थिए खासगरी उपनिवेश बनाइएका देशहरूमा । सो लेखनको नाममा औपनिवेशिक उद्देश्य पूर्ति गर्नु जसमा इसाई मिशनरी पनि एक थियो जसको काम स्थानीय भाषामा बाइबल अनुवाद गर्नु र स्थानीय रैथाने संस्कृति मासेर इसाई धर्ममा धर्मान्तरण गर्नु प्रमुख रहेको थियो । 


नेपालमा पनि धादिङ जिल्लाको तामाङ बस्तीहरूमा इसाई धर्म परिवर्तन रफ्तारमा हुनुमा खासगरी विदेशी मानवशास्त्रीहरू र अध्येताहरूको प्रमुख देन रहेको मानिन्छ । त्यो क्षेत्रमा विभिन्न बहानामा इसाई मानवशास्त्रीहरू वर्षौंदेखि आवतजावत गरेको देखिन्छ (हेर्नुहोस् तामाङ गाउँमा इसाई धर्मको बढ्दो प्रभाव, राजाराम गौतम नेपाल पाक्षिक, १६–३० मंसीर २०५७ साल; उपेन्द्र पोखरेल, बढ्दैछ इसाई जनसंख्या, नेपाल साप्ताहिक, ३० चैत्र २०६५ पृ. २८–३४) । 

केही महिनाअघि दाताबाट परिचालित साझा सवाल कार्यक्रममा बहालवाला प्रधानमन्त्रीलाई विवादमा तान्ने काम भएको थियो । विगतमा नेपालका एकजना वरिष्ठ पत्रकारले साझा सवालको सम्पादकीय नीति लगायतमा असन्तुष्टी जनाउँदै सोको सम्पादकबाट राजीनामा दिएको दृष्टान्त नै छ ।

सो क्षेत्र तिब्बततिर सीमा जोडिनुले पनि पश्चिमा अध्येताहरूको लागि रुचिकर देखिन्छ । हाल पनि सीमाक्षेत्रमा चिनियाँ लगानीबारे पश्चिमा अध्येताहरू सो क्षेत्रमा अध्ययनमा संलग्न देखिन्छन् । 
त्यस्तै अध्येता महेशचन्द्र रेग्मीले हिमालय बोर्डर रिसर्च परियोजना अन्तर्गत अनुसन्धान गरेका थिए जुन अमेरिकी सरकारको रक्षा विभागबाट लगानी भई अमेरिकी अध्येता लियो रोजमार्फत् सन् १९६४÷६५ मा उनले पैसा पाएका थिए । त्यसमा अमेरिकी सरकारको केन्द्रीय अनुसन्धान एजेन्सीको पनि सहभागिता भएको चर्चा चलेको कुरा निजले नै सन् १९९२ मा (युरोपियत बुलेटिन अफ हिमालयन रिसर्च) मार्टिन गेन्स्जलेसँगको अन्तर्वार्ताको क्रममा बताएका छन् जुन परियोजना सन् १९६९ मा विवादका माझ बन्द भएको थियो जुन परियोजनाका गतिविधिविरुद्ध भारत सरकारले पनि आपत्ति जनाएको थियो । तर उनले खुला रहस्य झैं रहेको पैसा कहाँबाट आउँछ त्यससँग सरोकार नरहेको बताएर  आँखामा छारो हाल्ने प्रयास गरेको देखिन्छ । 

नेपालमा पनि तत्कालीन ईस्ट इण्डिया कम्पनी, बेलायतका कूटनीतिज्ञहरूले नेपालको इतिहास उनीहरूको स्वार्थ पूर्ति हुने तवरले लेखे । त्यसमा उनीहरू पूर्वाग्रही हुनु, प्रोपोगाण्डाले भरिनु अनौठो थिएन किनकि हालका दिनमा पनि पश्चिमा र नेपाली मिडिया, लेखकहरूले दाताको गुणगान पलपल गाइरहेकै देखिन्छ । काठमाडौं, दिल्ली र पश्चिममा विभिन्न चौतारी, बहाः, ब्रोडशीट, सञ्चारमाध्यम, सामाजिक सञ्जालहरूमा पश्चिम, दिल्ली वा बेइजिङको पक्षमा छलफल, लेखन, लेक्चर शृङ्खला निष्फिक्री जारी नै छ ।

अझ विदेशी नियोग, दाताकहाँ टन्नै सुविधा लिने गरी काम, प्रतिनिधित्व गरिरहेकाहरूले नेपाली राज्यको विखण्डन, सार्वभौमसत्ता कमजोर पार्ने गरी देखिने गरी वा नदेखिने गरी अभिव्यक्ति, लगानी वा काम गर्ने क्रम बढ्दै गएको देखिन्छ । त्यसले नेपाली समाज, राज्यलाई आपसमा लडाएर आफ्नो स्वार्थ पूर्ति गर्ने पुरानो फुटाऊ र शासन गरको शैली लागू गर्ने रणनीति अख्तियार गरिरहेको  देखिन्छ ।

केही महिनाअघि दाताबाट परिचालित साझा सवाल कार्यक्रममा बहालवाला प्रधानमन्त्रीलाई विवादमा तान्ने काम भएको थियो । विगतमा नेपालका एकजना वरिष्ठ पत्रकारले साझा सवालको सम्पादकीय नीति लगायतमा असन्तुष्टी जनाउँदै सोको सम्पादकबाट राजीनामा दिएको दृष्टान्त नै छ ।

हाल आएर त पश्चिमा दर्शन प्रतिमानमा आधारित राजनीतिक पार्टी नै चुनावमा छ ।

यसै सन्दर्भमा डिल्लीराम दाहालले मे १९९६ को हिमाल म्यागजिनमा कसरी पश्चिमा सामाजिक वैज्ञानिकहरूले उनीहरूको करीअर, पश्चिमा रुचि परिपूर्ति गर्न नेपाली समाजमा फाटो ल्याउने काम गरेका छन् भनी अनुसन्धानात्मक लेखमार्फत औंल्याएका थिए । उनले लियोनेल क्याप्लानद्वारा लिखित ‘ल्यान्ड एण्ड सोसियल चेन्ज इन ईस्ट नेपाल’ भन्ने पुस्तकमा निज क्याप्लानले इलामको स्यावा गाउँको तथ्यांक तोडमोड गरी ब्राह्मण र लिम्बू समुदायका मानिसहरूबीच फाटो ल्याउने कार्य गरेको तथ्य अगाडि सारेका थिए । 

खासगरी ब्रिटिश राजको बेलामा आदिवासी समुदायका मानिसहरूको अध्ययन गर्ने नाममा कसरी उपयोगितावादी सिद्धान्तमा प्रेरित भई पश्चिमा सामाजिक वैज्ञानिकहरू अध्ययन गर्दथे भनी उनले उल्लेख गरेका थिए ।

तत्कालीन ब्रिटिश राजको समयमा भारत र पाकिस्तानमा नागा, खासी, मिरी, स्वात पठान जस्ता समुदायका आदिवासी मानिसहरूको इतिहास र संस्कृतिको  अध्ययन अनुसन्धानमा ब्रिटिश अनुसन्धाताहरू संलग्न रहेपनि ब्रिटिश राजको समाप्तिसँगै भारत र पाकिस्तानमा उनीहरूलाई अध्ययन अनुसन्धानमा प्रतिबन्ध लागेको थियो । ततपश्चात् नेपालमा २००७ सालको परिवर्तनपछि उनीहरू नेपालको खुलापन र अस्थिरताको फाइदा उठाई नेपाल छिर्ने गरेका थिए भनी उनले तर्क गरेका थिए ।

त्यस्तै डेभिड होमवर्ग भन्ने अमेरिकी अनुसन्धाताले तामाङ समुदायको अध्ययनमा आधारित पुस्तक ‘अर्डर इन प्याराडक्स’को भारतबाट प्रकाशित संस्करण (सन् २००४)को भूमिकामा उनी अध्ययन गर्दा कसरी विवादमा फसेर तत्कालीन प्रशासनले उनलाई नेपाल छाड्न लगाएको भन्ने उल्लेख गरेका छन् । त्यस्तै उनको अध्ययन क्षेत्रमा कसरी तामाङ समुदायका अधिकांश मानिसहरू इसाई धर्ममा रूपान्तरित भएका छन् भनी उल्लेख गरेको पाइन्छ । 

पंक्तिकारलाई मानवशास्त्री सौभाग्य शाहले कर्णालीमा विद्यावारिधि गर्दै गरेका एकजना अमेरिकी अध्येताले तत्कालीन खम्पा विद्रोहीहरूलाई हतियार आपूर्ति गरेको तत्कालीन नेपाल सरकारले चाल पाएपछि त्यस्तो कार्यमा संलग्न विदेशी अध्येताहरूलाई नेपालबाट तत्कालीन प्रशासनले देशनिकाला गरेको कुरा भनेका थिए ।

त्यस्तै विवादित समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक सन् १९६६—१९७६ सम्म त्रिभुवन विश्वविद्यालयसँग आबद्ध थियो । यसले त्रिभुवन विश्वविद्यालयसँग संयुक्त अनुसन्धान र हिमालयका कम प्रकाशमा आएका भाषामाथि संयुक्त अनुसन्धानका नाममा खडा भएपनि ती भाषामा बाइबल रूपान्तरण र अमेरिकी जासूसी संस्था सीआईएद्वारा नेपालमा सञ्चालित खम्पा विद्रोहीहरूलाई हतियार आपूर्तिमा सहयोगको आरोपपछि सो संस्था रातारात नेपाल छाडेर भागेको थियो । 

खासगरी पश्चिमाहरूको नेपालमा रहेका विभिन्न भाषाहरूको अध्ययनमा रुचि रहेको देखिन्छ जसको मुख्य उद्देश्य बाइबल ती भाषामा रूपान्तरण गर्नु देखिन्छ । नेपालमा भानुभक्त आचार्यले संस्कृतबाट नेपालीमा रामायण अनुवाद गर्नुभन्दा दशकौंअघि बाप्टिस्ट मिशनरी विलियम केरीले सन् १८२१ मै पण्डितहरूको सहयोगमा नेपाली न्यू टेस्टामेन्ट छापिसकेका थिए जुन पुस्तक नेपाली भाषामा छापा प्रकाशनमा आउने सम्भवतः पहिलो पुस्तक बन्न गएको थियो (थप हेर्नुहोस् सौभाग्य शाह, दि गोस्पेल कम्ज् टु दि हिन्दू किंगडम, सेप्टेम्बर÷अक्टोवर १९९३, हिमाल म्यागाजिन)। 

उपनिवेश बनाइएको जापानमा अमेरिकी मानवशास्त्री रुथ बेनेडिक्टको सन् १९४६ मा दोस्रो विश्वयुद्धको सेरोफेरोमा प्रकाशित ‘क्रिसनथेमम एण्ड दि सोर्ड ः प्याटर्न्स अफ जापानिज कल्चर’ भन्ने पुस्तक संयुक्त राज्य अमेरिकाको अफिस अफ वार इन्फर्मेसनका लागि लेखेकी थिइन् जुन अध्ययन त्यत्तिकै विवादित मानिन्छ । सो अफिस अफ वार इन्फर्मेसनले युद्धको बेलामा नाजी जर्मनी, जापान लगायतको अध्ययन गर्दथ्यो ।

नेपालमा पनि कर्कपेट्रिक, ब्रायन हड्सन, हेमन्डर्फ तथा उनका विदेशी र केही नेपाली चेलाहरूले प्रशस्त विवादास्पद अध्ययनका निष्कर्षहरू सार्वजनिक गरेका पाइन्छन् जसको केही अंश सौरभ र सुजित मैनालीद्वारा लिखित ब्रेकिङ नेपालमा संकलित गरिएको छ ।

त्यस्तै विख्यात मानवशास्त्री मार्शल साहलिन्सले सन् २०१३ मा संयुक्त राज्य अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सेज र अमेरिकी मिलिटरी बीच सामाजिक विज्ञानको क्षेत्रमा कार्य गर्ने गरी सहकार्य भएपछि उनले त्यसको प्रतिकारस्वरूप राजीनामा दिएका थिए जसले शान्तिको बदला युद्धलाई प्रश्रय दिएको उनको आरोप थियो ।

लामो समयदेखि विवादित नेपोलियन च्याग्नन भन्ने मानवशास्त्रीले उनले अध्ययन गरेको यानोमामो समुदायको अनुसन्धान नैतिकताविपरीत यानोमामो समुदायका मानिसहरूलाई ेडरलाग्दोे‘ जस्ता तोडमरोडयुक्त तथ्यहरू उनको पुस्तक इन नोबल साभेजेजमा प्रस्तुत गरेको पाइन्छ जसले गर्दा पश्चिममा सोबारे व्यापक आलोचना भएको दृष्टान्त छ । 

नेपालमा पनि कर्कपेट्रिक, ब्रायन हड्सन, हेमन्डर्फ तथा उनका विदेशी र केही नेपाली चेलाहरूले प्रशस्त विवादास्पद अध्ययनका निष्कर्षहरू सार्वजनिक गरेका पाइन्छन् जसको केही अंश सौरभ र सुजित मैनालीद्वारा लिखित ब्रेकिङ नेपालमा संकलित गरिएको छ ।

नेपालको उपनिवेशवादी सोच कतिसम्म हाबी थियो भने २००७ को दिल्ली दरबारद्वारा समर्थित परिवर्तनपछि नेपालमा गठन भएको प्रशासकीय पुनर्गठन समिति, २००९ (बुच कमिशन) ले नेपालमा भारतपरस्त प्रशासन संयन्त्रको सिफारिस गरेको थियो भलै त्यो अक्षरशः लागू भएन ।

त्यस्तै पृथ्वीनारायण शाहले पाटनमा रहेका पादरीहरूलाई देशनिकाला गर्दा उनीहरूले सयौं अभिलेखहरू जलाएका र विदेशमा गई त्यहाँको प्रकाशनहरूमा पृथ्वीनारायण शाहकालीन एकीकृत सेनालाई निराधार, मनगढन्ते आरोप लगाएको पाइन्छ ।

जोन ह्वेल्प्टन भन्ने बेलायती लेखकले त ‘अ हिस्ट्री अफ नेपाल’ पुस्तकमा नेपालका इतिहासकार बाबुराम आचार्यलाई स्रोत नखुलाएर लेख्ने लेखकको रूपमा उल्लेख गरेका छन् जबकि उनको सो पुस्तकमै प्रशस्त स्रोतको अभाव पाइन्छ । 

डोरबहादुर विष्टले नेपालमा पश्चिमा प्रतिमानमा नेपाली सनातन आस्थामाथि धावा बोली म्याक्स वेबरको प्रोटेन्टेण्ट इथिक्स र पूँजीवादको पक्षमा लेखन गर्ने; विनाआधार राजसंस्थामाथि लाञ्छना लगाउने; स्थानीय समुदायबीच पश्चिमा मोडेलमा ‘फुटाऊ र राज गर’को डिस्कोर्स सृजना गर्न प्रयास गरे । जबकि हालसम्म पनि उनीजस्तै र पश्चिमाले सृजना गरेका स्थानीय ‘सम्भ्रान्त’ भनाउँदाहरू कर्णालीलगायत क्षेत्रमा सामाजिक आर्थिक स्थितिमाथि उक्लेको देखिदैंन भने त्यसबेलामा झन् उनीहरूको अवस्था कस्तो थियो भनी सहजै अनुमान लगाउन सकिन्छ । यसै सन्दर्भमा २०५७ जेठमा प्रकाशित हिमाल पाक्षिकमा विश्लेषक सौभाग्य शाहले नेपाल मानव विकास प्रतिवेदन १९९८ र डोर बहादुर विष्टको कर्णालीसम्बन्धी विश्लेषणको आलोचना गरेका थिए । 

नेपालमा समाज वैज्ञानिकहरूसँग स्रोतको अभाव छ । दाताको स्रोतबाट लेख्ने, अध्ययन अनुसन्धान गर्नेहरूले उनीहरूकै गीत गाउनु अनौठो भएन । केही अपवादको हकमा दाताबाट स्रोत, अवसर नपाएमा हल्का विरोध गरेजस्तो गर्ने अनि पाएपछि उनीहरूकै पक्षमा लेख्ने कार्य गर्ने प्रवृत्ति देखिन्छ ।

तर उनले सृजना र सिफारिश गरेको मतवाली क्षेत्रीहरूलाई राज्य संयन्त्र, विकास साझेदार, उनका समर्थक आदिवासी जनजाति अगुवाहरूले राज्य, गैरराज्य संयन्त्रबाट सुविधा पाउने आदिवासी जनजातिको सूचीमा हालसम्म राखेको पाइँदैन । 

पंक्तिकार आफैं संलग्न बहसमा सिफारिशबारे खस क्षेत्रीलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न जुम्लामा बुझ्न गएको समिति जुम्ला जिल्लामा विभिन्न बहाना गरेर खस क्षेत्रीहरूलाई आदिवासी जनजाति सिफारिश नगरेर उम्किएको थियो । आखिर पाइरहेको भाग बाँड्न कसले पो चाहन्छ र !

यसै सन्दर्भमा मुगुका मेरा एकजना भाम थरका साथीको अनुभव घतलाग्दो छ । उनलाई केही वर्ष पहिले आवेदन दिएको एउटा विकास साझेदारबाट भाम थर आदिवासी जनजाति हो ? भनेर फोनमा सोधियो उनले होइन यो क्षेत्री हो भनेपछि उनलाई छोटो सूचीमा पारिएन । 

यस्तै व्यापक रूपमा सामाजिक फाटोविरुद्ध केही वर्षअघि विकास साझेदारहरूकहाँ क्षेत्री बाहुनहरूको संगठन क्षेत्री बाहुनहरूलाई जातका आधारमा नै रोजगारी लगायत क्षेत्रमा बहिष्कृत गरेको विरोधमा जाँदा विकास साझेदारहरूले सो प्रचलनलाई सुधार्ने प्रतिबद्धता जनाएका थिए ।

स्वयम् नेपाल मानव विकास प्रतिवेदन २००४ मा पहाडे बाहुनभन्दा नेवार, थकाली लगायत जातिहरूको साक्षरता लगायत राज्यका निकायहरूमा प्रतिनिधित्व उच्च देखाएको तथ्य सार्वजनिक गरेको थियो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय समाजशास्त्र मानवशास्त्र विभाग लगायतले सार्वजनिक गरेको तथ्याकंहरूमा पनि तराईका यादव, राजपूत, कायस्थ लगायत उच्च जातिहरू पहाडे ब्राह्मणभन्दा राज्यका निकायहरूमा उच्च प्रतिनिधित्वमा रहेको तथ्य बाहिर आएको छ ।

सोझो विश्लेषण गर्नुपर्दा पनि कर्णालीलगायत दुर्गम दूरदराजका उच्च जात र नेपालमा बहिष्कृत भनी राज्य, गैरराज्य पक्षबाट सुविधा लिइरहेका वर्गको आर्थिक लगायत विकासको स्तरमा आकाश जमीनको अन्तर देखिन्छ ।

नेपाली समुदायबीच कथित उपल्लो जात र तल्लो जात; शोषक र शोषितको अध्ययन गर्ने नाममा नेपाली समाजमा विग्रह, अस्थिरता ल्याउने कार्य २००७ साल, २०४६ साल र २०६२÷०६३ को परिवर्तन र संक्रमणकालमा तीव्र रफ्तारमा बढेको पाइन्छ ।

यस्तै नेपालका योगी नरहरिनाथ, सौभाग्य शाह, गृष्म बहादुर देवकोटा जस्ता लेखकहरूद्वारा नेपाली राज्यको स्वार्थ प्रवर्द्धन गर्न लेखिएका कृतिहरू सहज र सर्वसुलभ रूपमा उपलब्ध नहुनु र योगी नरहरिनाथको हकमा त नष्ट गर्ने दुष्कार्य समेत भएको पाइन्छ जसले गर्दा पनि नेपालमा औपनिवेशिक लेखनले प्रश्रय पाउँदै गएको देखिन्छ ।

पूँजीवाद, मानवअधिकारको नाममा नेपालका दूरका बस्तीहरूमा पनि जीवनस्तर, रोजगारी, सामाजिक, आर्थिक विचलन कसरी भएको छ भन्ने तथ्यबाट औपनिवेशिक सोचाइ भएका नेपालका नेता, प्रशासक, बुद्धिजीवी, पत्रकार, नागरिक समाज, विद्यार्थी, अगुवाहरूको विवेकमा बिर्को लागेको पाइन्छ ।

तथापि नेपालको विडम्बना नै मान्नुपर्दछ, सौभाग्य शाह, नन्दराम श्रेष्ठ, जगमान गुरुङ, योगी नरहरिनाथ, सौरभ, दीपक ज्ञवाली लगायत एकाध अध्येताबाट नेपालमा पश्चिमा र नेपाली भरिया औपनिवेशिक लेखनविरुद्ध धावा बोलिएपनि अधिकांशतः उनीहरूकै गुणगान गाउन, उनीहरूकै कृतिहरू शैक्षिक संस्थाहरूको पाठ्यक्रममा समावेश गर्ने दुष्कार्य गरिरहेको पाइन्छ ।

यस्तो औपनिवेशिक लेखनविरुद्ध विचार सम्प्रेषणदेखि तथ्य, सत्यमा आधारित लेखनले नै नेपाललाई क्याटालोनिया, तिब्बत, सिक्किम हुनबाट जोगाउनेछ ।

मंसिर १९, २०७४ मा प्रकाशित

कमल बहादुर महत

समसामयिक विषयमा कलम चलाउने महत लोकान्तरका नियमित स्तम्भकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस