उपभाेक्ता

बालबालिकाका लागि फेसबूकले नयाँ एप शुरु ग–यो

काठमाडौं, १९ मंसिर — फेसबूक १३ वर्ष वा त्यसभन्दा माथि उमेरकाले मात्र चलाउन पाउँछन् । तर त्यसभन्दा मुनिका बालबालिकालाई फेसबूक चलाउनबाट रोक्ने कुनै उपाय छैन ।

अहिले १३ वर्षमुनिका दुई करोडभन्दा बढी प्रयोगकर्ता रहेको अनुमान गरिन्छ । 

सोमवार फेसबूकले बाल प्रयोगकर्ताहरूका लागि नयाँ एप सार्वजनिक गरेको छ । यो प्रयोग गर्न मातापिताको स्वीकृति अनिवार्य हुन्छ र कम्पनीले वाचा गरेअनुसार, यसको डाटालाई विज्ञापनका लागि प्रयोग गरिने छैन ।

मेसेन्जर किड्स नामक यो एप फेसबूकले अहिले प्रयोगमा ल्याएको मेसेन्जरकै लकडाउन संस्करण हो । 

‘मातापिताले आजकल आफ्ना बालबालिकालाई ट्याब्लेट र स्मार्टफोन प्रयोग गर्न दिन्छन् तर बालबालिकाले त्यसको कसरी उपयोग गर्छन् र कुन चाहिँ एप उपयुक्त हुन्छन् भन्ने चिन्ता र चासो उनीहरूमा छ,’ मेसेन्जर किड्सका प्रोडक्ट म्यानेजर लोरेन चेङ भन्छन् । 

दुई बालबालिका मेसेन्जर किड्समा साथी बन्न चाहेमा उक्त मित्रतालाई प्रत्येक बालबालिकाको माता वा पिताले स्वीकृति दिनुपर्छ । सुरक्षित भएको पुष्टि भएपछि साथीहरूले लाइभ भिडियो च्याट गर्न अनि तस्वीर र टेक्स्ट पठाउन सक्छन् । 

अनि बालमैत्री जीआईएफ, फ्रेम, स्टिकर, मास्क र चित्र कोर्ने साधन पनि त्यसमा प्रशस्त हुनेछन् जसले गर्दा उनीहरू कन्टेन्टलाई सजाउन सकून् र आफ्नो व्यक्तित्वलाई अभिव्यक्त गर्न सकून् ।

बालबालिकाको एपमा खतरनाक कुरा आउनबाट रोक्ने चुनौती भने फेसबूकलाई छ ।

शुरुवातमा यो एप अमेरिकामा एप्पलको आईओएस अपरेटिङ सिस्टममा मात्र उपलब्ध हुनेछ ।

बीबीसीबाट
 

मंसिर १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस