विश्व/प्रवास

राजनीतिमा विदेशी हस्तक्षेप रोक्न अस्ट्रेलियाले कडा कानून ल्याउने

काठमाडौं, १९ मंसिर — राजनीतिक गतिविधिमा विदेशी हस्तक्षेप रोक्नका लागि अस्ट्रेलिया सरकारले व्यापक नियन्त्रण प्रस्ताव ल्याएको छ । 

प्रधानमन्त्री माल्कम टर्नबुलले जासूसी, प्रतिजासूसी र राजनीतिक डोनेसनलाई नियन्त्रण गर्ने नियमहरूमा महत्त्वपूर्ण परिवर्तन ल्याउने बताएका छन् । 

प्रस्तावित नयाँ कानूनहरू संसदबाट पारित हुनुपर्छ र तिनले गोप्य तथा बाध्यकारी गतिविधिलाई लक्षित गर्ने उनको भनाइ छ । 

उनले हालै चिनियाँ प्रभावसम्बन्धी चिन्ताजनक रिपोर्ट आएको उल्लेख गरे तर प्रस्तावित कानूनहरूले कुनै एक देशलाई लक्षित नगर्ने बताए । 

कानून सुधारका लागि अमेरिकी निर्वाचनमा रुसको हस्तक्षेपको आरोपलाई एक आधार बनाइएको उनको भनाइ छ । 

‘हामीहरू यससम्बन्धमा सोझा भएर बस्न मिल्दैन,’ टर्नबुलले क्यान्बेरामा मंगलवार बताए, ‘विदेशी शक्तिहरूले यहाँ अनि अन्य देशमा राजनीतिक प्रक्रियालाई प्रभावित पार्न अभूतपूर्व तथा विकसित प्रयासहरू गरिरहेका छन् ।’

प्रस्तावित कानूनमा निम्न कुरा समेत समावेश छन् :

राष्ट्रिय राजनीतिमा विदेशी हस्तक्षेप र आर्थिक जासूसी वा व्यापारिक गोप्यताको चोरीलाई लक्षित गर्ने नयाँ कसूरहरू,

अस्ट्रेलियाको राजनीतिक अभियानमा विदेशी डोनेसनमाथि प्रतिबन्ध

संवेदनशील सूचना राख्ने वा लिने व्यक्तिलाई लक्षित गर्दै जासूसी सम्बन्धी कानूनलाई व्यापक बनाउने काम ।

विदेशी शक्तिसँगको सम्बन्धलाई नखुलाउने व्यक्तिमाथि फौजदारी कसूरको दायित्व रहनेछ ।

बीबीसीबाट
 

मंसिर १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस