जीवनशैली : संस्कार

मानसिक रूपमा बलियो बन्नका लागि यस्ता बानी अपनाउनुस्

काठमाडौं, १९ मंसिर — शरीरको शक्तिमा हामीले ध्यान दिने गरेको भएपनि मन वा दिमाग बलियो बनाउने विषयमा हामीले प्रायः ध्यान दिइरहेका हुँदैनौं । शारीरिक शक्तिले तपाईंको व्यक्तित्वलाई प्रभावशाली बनाउँछ र त्यसले सबैलाई आकर्षित गर्छ भने मानसिक शक्तिले अप्ठ्यारो परेको बेलामा पनि संयम राख्नका लागि प्रेरित गर्छ । 

संसारमा सफलताको शिखरमा पुगेका मानिस शारीरिक रूपमा सशक्त भएपनि नभएपनि मानसिक शक्तिका कारण त्यस ठाउँमा बसिरहेका हुन् । यस्ता व्यक्तिसँग विशेष गुण हुन्छन् । जानौं ती गुणहरू :

भावनामा नियन्त्रण
मानसिक रूपमा बलियो बन्नका लागि सबभन्दा पहिला आफ्ना भावनाहरूलाई बुझ्ने र तिनलाई सम्हाल्ने प्रयास गर्नुस् । सफल व्यक्तिहरूले भावनालाई नियन्त्रणमा राख्छन् र अगाडि भएको मानिसको मनको कुरा पनि बुझ्न सक्छन् । उनीहरूले आफ्नो सशक्त पक्ष र कमजोर पक्ष दुवैको ज्ञान राख्छन् र त्यसैअनुसार काम गर्छन् ।

निजी र व्यावसायिक जीवनमा सन्तुलन
निजी र व्यावसायिक जीवनलाई सन्तुलनमा राख्ने मानिस मानसिक रूपमा सशक्त हुन्छन् । कामका बेलामा काममा मात्र फोकस हुने अनि लक्ष्य प्राप्तिका लागि हरसम्भव प्रयास गर्ने उनीहरूको बानी हुन्छ । अनि निजी जीवनमा अफिसको काम हाबी हुन नदिने प्रयास गर्नुपर्छ । 

आफूमाथि विश्वास
मानसिक शक्ति पाउनका लागि आफैंमाथि विश्वास राख्नुपर्छ । चुनौतीहरूका कारण आत्तिनेभन्दा पनि त्यसमा लुकेको नयाँ अवसर देख्ने क्षमता विकसित गर्नुपर्छ । आफ्नो भविष्य बनाउने क्षमता आफैंसँग भएको विश्वास राख्नुपर्छ । 
सकारात्मक सोच
सफलताको बाटोमा थुप्रै अप्ठ्यारा आउँछन् अनि सफल मानिसहरू ती अप्ठ्यारालाई पार गर्न सक्छन् किनकि उनीहरू मानसिक रूपमा बलिया हुन्छन् । उतारचढावको स्थितिमा यस्ता मानिस शान्त रहन्छन् र मनलाई शान्त राख्छन् । 

लचिलो
अप्ठ्याराहरू त हरेक कदममा आउँछन् तर ती अप्ठ्यारालाई हल गर्दै अघि बढ्ने मानिस मात्र विजेता बन्छ । कुनै पनि समस्या आएमा चिन्तित हुनुभन्दा सफल मानिसले लचिलो भएर त्यसको समाधान खोज्न थाल्छन् । मानसिक रूपमा बलियो मानिसले मात्र यस्तो गर्न सक्छन् ।

यसैगरी मानसिक रूपमा बलिया मानिसहरू निरन्तर प्रयास गरिरहन्छन्, गुनासो गर्दैनन् अनि गल्तीबाट सिक्दै अघि बढ्छन् । कुनै पनि कार्यमा सफल हुनका लागि मानसिक रूपमा बलियो हुनैपर्छ । 

एजेन्सी
 

मंसिर १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस