विश्व/प्रवास

यमनका पूर्वशासक सालेहको हत्या, छोराले गरे बदलाको आह्वान

काठमाडौं, १९ मंसिर — यमनका पूर्वराष्ट्रपति अली अब्दुललाह सालेहका छोराले सशस्त्र हूती विद्रोहीहरूविरुद्ध बदला लिनुपर्ने आह्वान गरेका छन् । सालेहले हूतीहरूको साथ छोडेर साउदी अरब नेतृत्वको गठबन्धनमा लागेपछि हूतीहरूले उनको हत्या गरेका थिए । 

सालेहका निर्वासित छोरा अहमद अली सालेहको आह्वानले गरेको आह्वानले शक्ति सन्तुलनलाई परिवर्तन गर्न सक्छ । अघिल्लो हप्ता राजनीतिक घटनाक्रममा नाटकीय विकास भएपछि सालेहले आफ्ना हूती साझेदारहरूको साथ छोडेका थिए । 

परिणामस्वरूप हूतीहरूले उनलाई हत्या गरेका थिए र उनको परिवारले सञ्चालन गर्ने सैनिकहरूलाई राजधानी सनाबाट हटाएर सडक युद्धमा धकेलेका थिए । 

यमनको गृहयुद्धमा इरानसमर्थित हूतीहरूले सनालाई नियन्त्रणमा लिएका छन् र उनीहरू साउदीको नेतृत्वमा रहेको सैनिक गठबन्धनसमर्थक सरकारसँग लडिरहेका छन् । उक्त सरकार दक्षिण भागमा छ । यो गृहयुद्धले संसारको सबभन्दा खराबमध्येको एक मानवीय संकट निम्त्याएको छ । संयुक्त राष्ट्रसंघले लाखौंको ज्यान जानसक्ने भोकमरीको चेतावनी दिएको छ । 

सालेहको मृत्युसंस्कार मंगलवार अबेर गरिने बताइएको छ । 

अरब मुलुकहरूले सालेहको हत्यालाई भर्त्सना गरेका छन् र उनको मृत्युले देशमा विस्फोटको स्थिति ल्याउने बताएका छन् । 

सालेहले कुनै समयमा यमनको शासन चलाउनु भनेको सर्पको टाउकोमा नाच्नु जस्तै हो भनेका थिए । उनको मृत्युले बहुपक्षीय युद्धको जटिलतालाई गहिरो बनाएको छ । 

रोयटर्सबाट

मंसिर १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस