विश्व/प्रवास

राहुल गान्धी भारतीय कंग्रेस पार्टीको अध्यक्ष हुने पक्का, पूरा भयो सोनियाको चाहना


नयाँ दिल्ली, १९ मङसिर - भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ । 

सो पदमा उम्मेदवारी दिने उनीमात्र भएका छन्  । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुने निश्चित भएको हो । 

हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष छिन् । सोनियाले १९ बर्षदेखि कंग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी थिइन्  । 

स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले  पद छोड्न लागेकी हुन्  । 

यस अघि पनि राहुल गान्धी पार्टीको उपाध्यक्ष रहेका थिए  । उन्ली  गत पाँच वर्षयता उपाध्यक्ष पदमा छन् । 

आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो । 

सोमबार साँझसम्म उनीबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने निश्चित भएको बताइएको छ । 

सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राखेको  चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ । 
 

मंसिर १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस