विश्व/प्रवास

बेलयातकी महारानी एलिजाबेथ द्वितीयको सम्पत्ति कति ?

काठमाडौं, २० मंसिर — बेलायतकी महारानी एलिजाबेथले कर छल्नका लागि विभिन्न सञ्चारमाध्यममा लगानी गरेको चर्चा चुलिएका बेला उनको सम्पत्ति कति छ त भन्नेबारे आम मानिसको चासो हुनु स्वाभाविकै हो । 
एलिजाबेथको करीब १ करोड ३० लाख अमेरिकी डलरबराबरको निजी लगानी बाह्य क्षेत्रमा गर्दै करछली गरेको उनीमाथि नैतिक प्रश्न खडा भएको छ । खोज पत्रकारितासँग आबद्ध अन्तर्राष्ट्रिय महासंघ (आईसीजे)ले उक्त तथ्यलाई बाहिर ल्याएलगत्तै उनको सम्पत्तिबारे आम मानिसले चासो राखेका छन् ।   

विश्वकै धनी महिलाको सूचीमा रहेकी महारानी एलिजाबेथसँग करीब ३४ करोड पाउन्ड अर्थात् ५० अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति रहेको बताइन्छ । बेलायती पत्रिका सन्डे टाइम्सले तयार पारेको बेलायतका धनी व्यक्तिहरूको सूचीअनुसार एलिजाबेथसँगको सम्पत्ति गत वर्षको तुलनामा एक करोड पाउन्ड अर्थात् डेढ अर्ब रुपैयाँभन्दा बढी हो । पत्रिकाका अनुसार, महारानीले निजी लगानीबाट प्राप्त प्रतिफल र उनलाई सरकारले दिने बजेटबाट निरन्तर सम्पत्ति आर्जन गरिरहेकी छन् ।
 
निरन्तर बजेट
बेलायती महारानी सोभरेन ग्रान्ट (शाही अनुदान) बाट ठूलो आम्दानी गर्छिन् । यो शाही सम्पदा (क्राउन स्टेट) बाट प्राप्त हुने राजस्वको केही अंश हो ।

बेलायती सञ्चारमाध्यमका अनुसार, सन् १७६० देखि सञ्चालनमा रहेको क्राउन स्टेटले अहिले स्वतन्त्र व्यावसायिक संस्थाका रूपमा काम गर्दै आएको छ । सो संस्थाको स्वामित्वमा बेलायतको सबैभन्दा धेरै सम्पदा छ । 
यो सम्पत्तिको मूल्य साढे ११ अर्ब पाउन्ड (१८ खर्ब ४३ अर्ब रुपैयाँ) रहेको बताइन्छ । यो सन् २०१४ को तुलनामा १६ दशमलब १ प्रतिशत बढी हो ।

क्राउन स्टेटबारे तत्कालीन राजा जर्ज तृतीयले बेलायत सरकारसँग एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यही सम्झौताको आधारमा सम्राट्को स्वामित्वमा रहेका जग्गाबाट प्राप्त हुने अतिरिक्त आम्दानी सरकारको राजस्वमा जान्छ ।

यस सम्झौताअनुसार, राजाले सरकारको खर्च बेहोर्नुपर्दैन भने त्यसअघिका शासकले लिएको ऋण पनि भुक्तानी गर्नुपर्दैन । त्यसको बदलामा क्राउन स्टेटबाट राजस्वमा गएको आम्दानीको एक हिस्सा सरकारले राजपरिवारलाई दिने सहमति भएको थियो ।

जर्ज तृतीयपछि आउने सबै सम्राट्ले यो व्यवस्थालाई नवीकरण गर्दै आएका छन् ।
क्राउन स्टेटसँग लन्डनका थुप्रै ठाउँमा जग्गाजमीन र दरबारहरू छन् । त्यसैगरी स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा पनि क्राउन स्टेटसँग सम्पत्ति छ ।

यससँग विन्डसर ग्रेट पार्क, एस्कार्ट रेसकोर्स तथा विभिन्न आवासीय सम्पत्ति, व्यावसायिक कार्यालय, पसल कवल तथा व्यावसायिक स्थलहरू छन् । लन्डनको वेस्ट एन्डमा भएको रिजेन्ट स्ट्रीट करीब करीब पूरै क्राउन स्टेटको सम्पत्ति रहेको बताइन्छ ।

अहिलेको व्यवस्थाअनुसार, क्राउन स्टेटले प्राप्त गर्ने सम्पूर्ण आम्दानी राजस्वमा जान्छ । त्यहाँबाट महारानीका लागि १५ प्रतिशत छुट्ट्याइन्छ ।
  
निजी आम्दानी

महारानीसँग शाही अनुदानबाहेक पनि निजी आम्दानी हुने गर्छ । प्रिभी पर्स भनिने उनको खातामा बेलायत र वेल्समा गरी १८ हजार ४ सय ५४ हेक्टर जमीन, व्यावसायिक खेतीलगायतको सम्पत्ति रहेको बताइन्छ । सो

सम्पत्ति महारानीको निजी भएकाले महारानीले आफ्नो इच्छा र कानूनअनुसार आगामी पुस्तालाई हस्तान्तरण हुन्छ । 

बेलायती कानूनअनुसार सो सम्पत्ति राजपरिवारले बेच्न भने नपाउने व्यवस्था रहेको बताइन्छ ।
 
क्राउन स्टेटकै जस्तै उनको निजी सम्पत्तिबाट प्राप्त हुने आम्दानी पनि सरकारी राजस्वमा जम्मा हुन्छ । त्यहाँबाट महारानीका लागि रकम प्रदान गरिन्छ । यो रकम शाही अनुदानबाट खर्च गर्न नमिल्ने ठाउँमा खर्च गरिन्छ ।
महारानीको पछिल्लो वर्षको निजी आय एक करोड ३३ लाख पाउन्ड (दुई अर्ब १३ करोड रुपैयाँ) थियो । 
 
महारानीको लगानी

बेलायती पत्रिकाहरूले महारानीको निजी आयका बारेमा धेरै जानकारी सार्वजनिक गरेका छैनन् । सन्डे टाइम्सले केही महिनाअगाडि सार्वजनिक गरेको तथ्यअनुसार उनले मुख्य गरेर ब्लुचिप मानिने बेलायती कम्पनीमा लगानी गरेकी छन् । त्यसको बजार मूल्य अहिले ११ करोड पाउन्ड (१७ अर्ब ६२ करोड रुपैयाँ) छ ।
बेलायती महारानीसँग यसबाहेक पनि निजी सम्पत्ति छ । 

महारानीसँग शाही हुलाक टिकटको संकलन, विभिन्न कलाकृति, गरगहना, कार, घोडा पनि छन् । यो सबै महारानीकी आमाबाट उनलाई उत्तराधिकारीका रूपमा प्राप्त भएको हो । यो सबै पनि उनको निजी सम्पत्ति हो ।
महारानीको निजी हक लाग्नेबाहेक पनि शाही संकलनमा शाही गहना तथा कलाकृतिहरू छन् । तर आफ्नो उत्तराधिकारीलाई हस्तान्तरण गर्नुपर्ने महारानीको सम्पत्तिमा गनिँदैन । यो सम्पत्ति देशका लागि नियुक्त गरिएको एउटा ट्रस्टसँग छ । 

बेलायतकी महारानीको अधिकांश आम्दानी वार्षिक रूपमा सार्वजनिक गरिन्छ तर कति सम्पत्तिबाट उनले त्यो आम्दानी गरिन् कसैलाई थाहा छैन किनकि महारानीलाई आफ्नो निजी सम्पत्तिका विषयमा जानकारी दिन कानूनी बाध्यता छैन । 

को हुन् एलिजाबेथ ?

एलिजाबेथ द्वितीय (एलिजाबेथ अलेकजेन्ड्रा मेरी) को जन्म २१ अप्रिल १९२६ मा लन्डनमा भएको हो । बेलायतकै इतिहासमा सबभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी हुन् एलिजाबेथ द्वितीय । उनी सन् १९५२ फेबु्रअरी ६ देखि हालसम्म राजगद्दीमा आसीन छिन् । 

संयुक्त अधिराज्यबाहेक क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्डसमेतकी राष्ट्राध्यक्ष एलिजाबेथ द्वितीयलाई बेलायतमा संविधानको संरक्षकका रूपमा लिइन्छ । उनी ब्रिटिश महारानीको रूपमा तथा चर्च अफ इङ्ल्यान्डको सर्वोच्च गभर्नर समेत हुन् ।

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस