विश्व/प्रवास

बाबरी मस्जिद : भाजपाले के पायो, के गुमायो ?

काठमाडौं, २० मंसिर — पच्चीस वर्षपहिले आजकै दिन (६ डिसेम्बर) मा भारतको अयोध्यास्थित बाबरी मस्जिद ध्वस्त पारिएको थियो । उक्त ठाउँमा भगवान् रामको जन्मस्थल रहेको मान्यता छ । 

भारतीय जनता पार्टीले यसका लागि ६ वर्षदेखि अभियान चलाउँदै आएको थियो । त्यसका नेताहरू मस्जिद भत्काएर त्यस ठाउँमा मन्दिर बनाउन चाहन्थे । 

घटना भएको दिन लगभग १५ हजार मानिसको भीड अचानक अघि बढ्यो र मस्जिद बचाउनका लागि बनेको प्रहरीको घेरालाई तोड्यो । भीड मस्जिदको बुर्जामा चढ्यो र क्षणभरमा त्यसलाई भत्काउन थाल्यो । 

मस्जिद भत्काएपछि मानिसहरूले पत्थर निकाल्दै प्रहरीलाई हान्न थाले अनि प्रहरी चाहिँ काठले बनेको ढालले शिर बचाउँदै पछि हट्न थाले । 

एक प्रहरी अधिकारीले बाँकी रहेका प्रहरीहरूलाई छेउतिर धकेल्दै आफू बाहिर भाग्न कोशिश गरिरहेको देख्न सकिन्थ्यो ।

मस्जिदलाई यसरी ध्वस्त पार्नु हिन्दू राष्ट्रवादीहरूको महत्त्वपूर्ण विजय र धर्मनिरपेक्षतालाई ठूलो झड्काका रूपमा हेरियो । 

राजनीतिक विशेषज्ञ जोया हसनले मस्जिद विध्वंसलाई आधुनिक भारतमा कानूनको सबभन्दा खुला उल्लंघन भनिन् ।

उनको नजरमा भारतीय राष्ट्रियताका लागि यो ऐतिहासिक मोड थियो । 

मस्जिद भत्काइएपछि देशभरि दंगा भए । दंगाबाट सबभन्दा बढी प्रभावित मुम्बई रह्यो । त्यहाँ लगभग ९०० मानिस मारिए र प्रहरीमाथि हिन्दूहरूको पक्ष लिएको आरोप लाग्यो । 

तर समय बित्दै जाँदा दंगा रोकिए र अयोध्यामा मस्जिदको ठाउँमा मन्दिर निर्माण अभियानको गति बन्द भयो । 

भाजपाले मस्जिद विध्वंसका कारण हिन्दू मतदाताहरू उसको पक्षमा आउलान् भन्ने सोचेको भएपनि सन् १९९३ मा तीन राज्यको विधानसभा चुनावमा उसले सरकार बनाउन सकेन । अयोध्या भएको उत्तर प्रदेशमै पनि उसले
सरकार बनाउन सकेन । 

सन् १९९५ पछि भएका आमनिर्वाचनमा भाजपाले बिस्तारै पकड बनाउन थाल्यो र सन् १९९९ मा एक स्थायी गठबन्धन सरकार बनाउन सफल भयो । 

तर केन्द्रमा भाजपाले सत्ता प्राप्त गर्न अयोध्या कारण थिएन । मुख्य विपक्षी कंग्रेस पार्टीभित्र उथलपुथलको फाइदा भाजपालाई भयो । 

कांग्रेसबाट बनेका प्रधानमन्त्री बनेका राजीव गान्धीको सन् १९९१ मा हत्या भयो । नेहरु गान्धी परिवारले नेतृत्व लिन नपाउँदा कंग्रेस एकजुट रहन सकेन । 

एक मात्र सम्भावित उम्मेदवार राजीव गान्धीकी पत्नी इटालीमा जन्मेकी सोनियाले राजनीतिमा आउन अस्वीकार गरिन् । 

कंग्रेस पार्टी फुट्यो र सन् १९९६ मा आमनिर्वाचन हुँदा पार्टी अस्तव्यस्त थियो । 

सन् १९९९ मा भाजापले गठबन्धन सरकार बनायो । त्यतिखेर प्रधानमन्त्री अटल बिहारी वाजपेयी र शक्तिशाली नेता लालकृष्ण आडवाणीले अयोध्याका कारण हिन्दू भोट आफूलाई आएर आफूहरूले जितेको मान्दैनथिए । 

गठबन्धन सरकार चलाउनका लागि अयोध्याबाहेक अन्य मुद्दामा आफूहरू अघि बढ्नुपर्ने र सबैलाई खुशी राख्नुपर्ने मान्यता उनीहरू राख्थे । त्यसैले उनीहरूले मध्यमार्ग अपनाए । 

गठबन्धनका साथी चुन्न भाजपाले गल्ती ग–यो भने कंग्रेस चाहिँ सोनिया गान्धीको नेतृत्वमा जुट्न थाल्यो । पार्टीमा नयाँ प्राण भरियो र उसले लगातार दुई चुनाव सन् २००४ र २००९ मा जित्यो । भाजपाले हार बेहोर्नुप–यो । 

त्यसैले अयोध्याको घटना महत्त्वपूर्ण भएपनि त्यसले हिन्दू भोट बैंक बनाउन र भारतको राजनीतिलाई पूरै बदल्न सकेन । 

त्यो ऐतिहासिक मोड सन् २०१४ मा भाजपाको पूर्ण बहुमतका साथ लक्ष्यमा पुगेको जस्तो देखिन्छ । नरेन्द्र मोदीका रूपमा भारतले यस्तो प्रधानमन्त्री पायो जो हिन्दू राष्ट्रवादलाई प्रोत्साहन दिन हिचकिचाउँदैनन् । उनको पार्टीले
हिन्दूत्ववादी एजेन्डा लागू गर्न शुरु गरिसकेको छ । 

हिन्दू धेरै पन्थहरू भएको धर्म हो र भारत विविधतायुक्त देश हो । उसका जराहरू बहुलतावादी परम्परामा आधारित छन् । 

मोदीले भारतलाई धर्मनिरपेक्षताबाट निकालेर एक हिन्दू राष्ट्र बनाउने लक्षय हासिल गर्छन् कि गर्दैनन् भन्ने विषय प्रस्ट छैन । 

बीबीसीका लागि मार्क टलीको टिप्पणीको भावानुवाद  
 

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस