विश्व/प्रवास

संसारको यस्तो शहर जहाँ कोही पनि रिसाउँदैन

काठमाडौं, २० मंसिर — रिस मानिसको सबभन्दा ठूलो शत्रु हो । तैपनि मानिसहरू रिस पालिबस्छन् । रिसमा आएर मानिसले कुनै न कुनै गलत काम गरेको हुन्छ । 

तर एउटा यस्तो पनि शहर छ जहाँ रिस देखाउनुलाई राम्रो मानिँदैन । कसैले चर्को आवाजमा कुरा गरेमा मानिसले नराम्रो ठान्छन् र उससँग दूरी बनाउँछन् । 

यहाँ हामी मेक्सिको सिटीको कुरा गर्दैछौं । 

मेक्सिको सिटीमा मानिसले सार्वजनिक स्थानमा रिस देखाउँदैनन् । बहस भएछ भने पनि प्रेमपूर्वक समाधान गरिन्छ । 

रक्सी पिएपछि नशाको सुरमा कसैले दुर्व्यवहार गर्ला तर होशमा हुँदा कसैले पनि यस्तो गल्ती गर्दैन । 

मेक्सिको सिटीमा बाल्यकालदेखि नै भावनामा नियन्त्रण गर्न र शान्त रहन सिकाइन्छ । यहाँका मानिसले रिसका कारण सबै कुरा हराउने मान्यता राख्छन् । 

त्यहाँका मानिसमा असीम धैर्य छ । लाइनमा उभिँदा पनि उनीहरू धैर्य भएर आफ्नो पालो कुर्छन् । 

यहाँ कसैलाई कुनै हतारो छैन । सानो गल्तीमा पनि मानिसले लाज नमानी माफी माग्छन् । साना फेभरमा पनि उनीहरू धन्यवाद दिइहाल्छन् । 

शिष्टाचारको तरिका त्यहाँ पुस्तौंदेखि अपनाइएको हो । मेक्सिकोका आदिवासी एज्टेकहरूका कारण यस्तो बानी विकसित भएको मान्यता छ । युरोपेलीहरू मेक्सिको पुग्नुअघि त्यहाँ एज्टेक सभ्यता थियो । 

सन् १५१९ मा स्पेनले मेक्सिकोमा कब्जा जमायो । त्यसपछि स्पेन र एज्टेक सभ्यताको मिलापले नयाँ संस्कृति जन्मायो । स्पेनका राजाहरूले लगभग तीनसय वर्ष त्यहाँ शासन चलाए । 

एज्टेक साम्राज्यको बेलामा आजको मेक्सिको सिटीको इलाका नाहुआ नामले चिनिन्थ्यो । पछि यस इलाकामा स्पेनका मानिसको दबदबा रह्यो । यहाँ आएर बस्ने स्पेनीहरूले आदिवासीहरूको शिष्टाचारको तरिका सिके ।

उनीहरूको भाषामा पनि नाहुआमा स्थानीय स्तरमा बोलिने शब्द ठूलो मात्रामा आए । 

एज्टेक आदिवासीहरूको नाहुल्त भाषा आजकल लगभग १५ लाख मानिसले बोल्छन् । यो भाषामा विशेष किसिमको मिठास र आफ्नोपन छ ।

नाहुआका केही समुदायमा अर्को चलन पनि छ । उनीहरू कसैसँग आँखा जुधाएर कुरा गर्दैनन् । अन्ततिर आँखामा आँखा जुधाएर कुरा गर्नु आत्मविश्वासको संकेत मानिन्छ र तर यहाँका मानिस यसलाई घमण्ड देखाएको र शिष्टाचार निर्वाह नगरेको रूपमा लिन्छन् । 

मेक्सिकोमा लामो समयदेखि विदेशीहरूको राज छ । यहाँका मानिसमा सत्तासीन पक्षका लागि अविश्वासको भाव छ । शायद त्यसैले यहाँका मानिस बाहिरी संसार र आफूबीच एउटा रेखा कोरेर राख्न चाहन्छन् । 

त्यसैले पनि होला उनीहरू आफ्ना शब्दले कसैलाई चोट नपुगोस् भन्ने चाहन्छन् । तपाईंले कसैलाई बाटो सोध्नुभयो र उसलाई थाहा छैन भने पनि उसले थाहा छैन भन्न हिचकिचाउँछ । 

तपाईंले घमण्ड देखाउनुभयो र तपाईंको बोलीमा शिष्टता छैन भने तपाईंलाई असफल व्यक्तिको सूचीमा संलग्न गरिनेछ । 

यति धेरै गुणका बाबजुद मेक्सिको सिटीका सबै मानिस राम्रो बानीबेहोराका छन् भन्न सकिँदैन । तैपनि धेरैजसो चाहिँ राम्रा छन् । शहर पुग्ने पर्यटकहरूलाई उनीहरूले भरपूर समय दिन्छन् । 

शायद यस शहरको यही शैलीले यसलाई अलग पहिचान दिएको छ । तपाईं पनि मौका मिल्नेबित्तिकै मेक्सिको सिटी घुम्न जानुहोला ।

बीबीसीबाट 

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस