विश्व/प्रवास

बेलायतकी प्रधानमन्त्री टेरिजा मेको हत्या प्रयास, दुई आरोपित पक्राउ

काठमाडौं, २० मंसिर — बेलायतकी प्रधानमन्त्री टेरिजा मेलाई मार्ने षड्यन्त्रलाई सुरक्षा निकायले असफल पारिदिएका छन् । षड्यन्त्रका आरोपितहरू नईमुर जकारिया र आकिब इमरानलाई पक्राउ गरिएको छ । 

समाचार संस्था रोयटर्सका अनुसार, मेलाई मार्नका लागि इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइसमार्फत बेलायती प्रधानमन्त्रीको निवासमा आत्मघाती आक्रमण गर्ने योजना बनेको थियो । हल्लाखल्ला मच्चिएको मौका पारेर मेलाई मार्ने उनीहरूले योजना बुनेका थिए । 

मेका प्रवक्ताका अनुसार, विगत १२ महिनामा नौवटा आतंकवादी आक्रमणलाई असफल बनाइएको छ । 

स्काई न्युजका अनुसार, टेरिजा मे लामो समयदेखि आतंकवादीको तारो बनेकी छन् । त्यसैले १० डाउनिङ स्ट्रीटमा कीला ठोकिएको गेट लगाइएको छ र सुरक्षा बढाइएको छ । 

सन् १९७० को दशकमा बेलायती प्रधानमन्त्रीको सुरक्षा मापदण्ड बनाइएको थियो । सन् १९८० को दशकमा आईरिश रिपब्लिकन ग्रूप्सका तर्फबाट धम्की आइरहँदा सुरक्षा बढाइएको थियो । 

सन् १९९१ म आईरिश रिपब्लिकन आर्मीले प्रधानमन्त्री आवासमा मोर्टार आक्रमण गरेको थियो । बम आवासको पछाडि भागमा खस्यो । त्यतिखेर प्रधानमन्त्री जोन मेजर घरमै थिए तर उनलाई कुनै हानि भएन । 

बेलायतमा यस वर्ष आतंकवादी आक्रमणहरू भएका छन् । मार्च महिनामा खालिद मसूद नामक आतंकवादीले वेस्टमिन्स्टर पुलमा पैदलयात्रीमाथि गाडी कुदाएर पाँचजनाको अनि संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरीलाई चक्कु हानेर हत्या गरेका थिए । 

मे महिनामा म्यानचेस्टर एरिनामा भएको एक कन्सर्टमा आतंकवादी आक्रमण हुँदा २२ जनाको मृत्यु भएको थियो । त्यही महिनामा उत्तरी लन्डनको एक मस्जिदमा आक्रमण हुँदा एक व्यक्तिको मृत्यु भयो । 

अगस्टमा बकिङघम दरबारनजिक तरवार बोकेर हिँडेका एक व्यक्तिलाई पक्राउ गरिएको थियो । उनी अल्लाहु अकबर चिच्याइरहेका थिए । 

सेप्टेम्बर महिनामा पार्सन्स ग्रीन स्टेसनमा ट्युब ट्रेनमा विस्फोटको प्रयासलाई असफल पारिएको थियो ।

एजेन्सी
 

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस