उपभाेक्ता

घरबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्न महानगरपालिकाको आग्रह

काठमाडौँ, २० मंसिर- काठमाडौँ महानगरपालिकाले भोलि २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन सबै महानगरवासीलाई घरबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्न आग्रह गरेको छ । 

निर्वाचनमा सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको र कर्मचारीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने व्यवहारिक पक्षलाई ध्यानमा राखी उक्त निर्णय गरेको कामपाका सह–प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

फोहोर बाक्ने गाडी सञ्चालनका लागि अनुमति भए पनि टाढा रहेका कर्मचारी आउनका लागि समस्या हुने भएकाले नियमितजसो फोहोर संकलन गर्न नसकिने कामपाले जनाएको छ । केही कर्मचारीलाई आउन सहज भए पनि सबै कर्मचारी आउन नसक्ने भएकाले सबै ठाउँको फोहोर संकलन हुन नसक्ने जनाइएको छ । 

नगरवासीले जथाभावी फोहोर फाल्दा मतदातालाई समेत समस्या हुने भएकाले उक्त दिन फोहोर व्यवस्थापन गर्न कामनपाले आग्रह गरेको हो । हरेक दिन कामपाबाट पाँच सय टन फोहोर संकलन हुनेगरेको छ । उक्त दिन निस्कने सबै फोहोर व्यवस्थापनका लागि कामपाले भोलिपल्टै कर्मचारी खटाउने पनि वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरले बताउनुभएको छ । 

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस