निर्वाचन समाचार

शिवपुजन यादव उम्मेदवार बन्ने नपाउने सर्वोच्चको ठहर

काठमाडौं, २० मंसिर - सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवले उम्मेदवार बन्न नपाउने भएका छन् । उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । आयोगले उनको उम्मेदवारी खारेज गरेपछि उनी सर्वोच्च अदालतमा पुगेका थिए । सर्वोच्चले आज उनले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश दीपकराज जोशी र डक्बरबहादुर शाहीको संयुक्त इजलासले उनले  दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उनले आयोगले आफ्नो उम्मेदवारी रद्द गरिदिएकोमा सो नगराउन अदालत समक्ष अन्तरिम आदेश मागेका थिए ।

यादवलाई रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो । फौजदारी अभियोग प्रमाणित भएको व्यक्तिले चुनाव लड्न नपाउने कानूनी व्यवस्था भएकोले उनको उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो । 

यादव उम्मेदवार बन्न नपाउने भनेर सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनाले निर्वाचन अयोगमा उजुरी दिएका थिए । तर आयोगले उनीहरुले दिएको निवेदनमा कुनै पनि सुनुवाई गरेको थिएन । आयोगले उजुरी सुनुवाई नगरेपछि उनीहरु सर्वोच्चमा गएका थिए । उनीहरु सर्वोच्च जाने वित्तिकै आयोगले यादवको उम्मेदवारी खारेज गरेको थियो ।

आफ्नो उम्मेदवारी खारेज भएपछि यादव फेरि सर्वोच्चमा रिट दर्ता गराउन पुगेका थिए । अब मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म यादव उम्मेदवार बन्न पाउने छैनन् । 

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस