विश्व/प्रवास

अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने सम्भावना

काठमाडौं, २० मंसिर — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने अमेरिकाका उच्च अधिकारीहरूले बताएका छन् । 

उनले यो विवादास्पद निर्णय आज बेलुका एक बयानमार्फत घोषणा गर्नेछन् । 

ट्रम्पले अमेरिकी दूतावास तेल अभिभबाट जेरुसेलम सार्नका लागि स्वीकृति दिने अपेक्षा पनि गरिएको छ । 

इजरायलले यस निर्णयलाई स्वागत गरेको छ तर प्यालेस्टाइनीहरू तथा अरब नेताहरूले यसो गर्दा मध्यपूर्वको शान्ति प्रक्रियामा घात हुने बनाएका छन् । 

बेलायतमा प्यालेस्टाइनीहरूका प्रतिनिधि म्यानुएल हस्सास्सियनले यो कदम चालिएमा दुई राज्यको शान्ति समाधानलाई ‘मृत्यु चुम्बन’ दिएजस्तो हुने र मध्यपूर्वमा युद्ध घोषणा गरेको हदमा पुग्ने बताए । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसमाथि आधिकारिक टिप्पणी गर्न बाँकी छ तर शिक्षामन्त्री नफ्ताली बेनेटले अरू देशले पनि वाशिङटनको बाटो पछ्याउनुपर्ने बताए । 

इजरायलले जेरुसेलमलाई जहिले पनि राजधानी शहर मानेको छ भने प्यालेस्टाइनीहरूले पूर्वी जेरुसेलमलाई भविष्यमा बन्ने प्यालेस्टाइन राज्यको राजधानीका रूपमा हेर्ने गरेका छन् । 

जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा पहिचान दिएमा सन् १९४८ मा इजरायलको स्थापना भएपछि त्यसो गर्ने अमेरिका पहिलो देश हुनेछ । 

जेरुसेलमको मुद्दा प्यालेस्टाइनीहरूसँग इजरायलको द्वन्द्वको चुरो हो । प्यालेस्टाइनीहरूलाई अरब तथा मुसलमान विश्वले समर्थन गरेका छन् । 

जेरुसेलममा यहुदी, क्रिस्चियन र मुसलमानहरूका पवित्र स्थलहरू छन् । 

बीबीसीबाट
 

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस