राजनीति

सूर्यमा मतदान गरेपछि प्रचण्डले भने, ‘यो ऐतिहासिक क्षण’

चितवन, २१ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवनमा पहिलोपटक नेकपा एमालेको चुनाव चिह्न सूर्यमा पनि मतदान गरेका छन् । 

एमालेसँगको चुनावी तालमेल अन्तर्गत प्रचण्ड चितवन–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनले बिहीवार चितवनको शिवनगरस्थित शान्तिपुर आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

प्रतिनिधिसभा सदस्यमा आफैंलाई मतदान गरेका प्रचण्डले प्रदेशसभा सदस्यमा भने नेकपा एमालेको सूर्य चिह्नमा मतदान गरेका छन् । प्रचण्डले चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख)मा एमालेका उम्मेदवारलाई मतदान गरेका हुन् । प्रदेशसभा (ख) मा नेकपा एमालेका कृष्ण भुर्तेल उम्मेदवार छन् । 

उनको पार्टी माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको थियो । जसकारण प्रचण्डले यसअघि वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा पनि मतदान गरेका थिए । 

मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताए । 

प्रचण्डले आजको दिनलाई ऐतिहासिक क्षणको रुपमा पनि ब्याख्या गरे । दोस्रो चरणमा आज सम्पन्न हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनले संविधान कार्यान्वयन भइ देश समृद्धिको बाटोमा अघि बढ्ने उनको भनाइ थियो । 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस