खोज/विशेष : टिप्पणी

जसले चुनाव गराए, कलंकको टीका मेटाए

काठमाडौं, २१ मंसिर– धेरैलाई संशय थियो – मंसिर १० र २१ मा प्रतिनिधि/प्रदेशसभाको चुनाव हुन्छ भन्नेमा । गएको असोज १८ गते नेकपा एमाले र माओवादी केन्द्रबीच वामपन्थी गठबन्धन भएपछि मंसिरका लागि तोकिएको निर्वाचन सरकारले पर सार्ने अनेकौं अड्कलबाजी भए । 

चुनावको मिति सार्न देउवामाथि कांग्रेसकै कतिपय नेताले दबाब दिएको सूचना आइरहेका थिए । 

देउवाले चुनाव सार्ने आशंकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमै भनेका थिए – चुनाव सारिए संसद् पुनःस्थापना हुन्छ । वामपन्थी गठबन्धनले चुनाव जिते अधिनायकवाद आउँछ भनेर प्रचार गरेपनि देउवाले चुनाव सार्ने अभिव्यक्ति कहिल्यै दिएनन् । उनले निर्वाचन आयोगलाई आश्वस्त बनाए – तोकिएको समयमै चुनाव हुन्छ । तयारी थाल्नुस् ।

व्यापक अड्कलबाजी विपरीत सरकारले मंसिर १० गते पहिलो चरणमा चुनाव गरायो भने दोस्रो चरणको चुनाव पनि छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा आज सम्पन्न भयो । 

संविधान कार्यान्वयन गर्ने र राजनीतिक संक्रमण अन्त्य गर्ने महत्त्वपूर्ण चुनाव सम्पन्न गराएकोमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बधाईको पात्र बनेका छन् । प्रतिनिधि÷प्रदेशसभाको ऐतिहासिक निर्वाचन सम्पन्न गराएर देउवाले आफूमाथि लाग्दै आएको ‘असक्षम’ को कलंकको धब्बा मेटाएका छन् । 

उनलाई मनैदेखि धन्यवाद दिन कञ्जुस्याइँ गर्नुहुँदैन । ‘देउवा डिजर्भ्स क्रेडिट फर दी इलेक्सन’ अर्थात् चुनाव गराएको जस देउवालाई दिनैपर्छ ।  

देउवा यस्ता पात्र हुन्, जसलाई चुनाव गर्न नसकेको आरोपमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘असक्षम’को आरोप लगाउँदै पदच्युत गरेका थिए । २०५९ साल मंसिरमा चुनाव गर्न नसकेको आरोपमा देउवा ज्ञानेन्द्रबाट बर्खास्तगीमा परेका थिए । 

मंसिरका लागि तोकिएको चुनाव गर्न नसक्ने भएपछि तत्कालीन राजा ज्ञानेन्द्रले विक्रम संवत् २०५९ असोज १९ को कदममार्फत देउवालाई विस्थापित गरेर प्रत्यक्ष शासनको शुरुवात गरेका थिए । 

चुनाव गराउन असक्षम भनेर लागेको आरोप देउवाले १५ वर्षपछि व्यवहारतः खण्डन गरेका छन् । आफूमाथि लागेको कालो धब्बा मेटाएका छन् । 

पार्टी हार्ने जान्दा जान्दै मोले जोखिम

कांग्रेस सभापति देउवाले नबुझेका होइनन्, चुनावी माहौल आफ्नो वा नेपाली कांग्रेसको पक्षमा छैन । कांग्रेसको स्थिति कमजोर भएको विश्लेषण भइरहेका बेला देउवाले निर्वाचन गर्ने हिम्मत लिए । जोखिम मोले । त्यसकारणले पनि उनी बधाईको पात्र बनेका छन् । 

२०६४ सालको संविधानसभा चुनावमा पनि तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चुनाव सम्पन्न गराएका थिए । पहिलो संविधानसभाले संविधान दिन त सकेन तर हिंसात्मक विद्रोहमा रहेको माओवादीलाई शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा ल्याउन उक्त निर्वाचन कोशेढुङ्गा साबित भएको थियो । 

यसअघि संसदमा दोस्रो र तेस्रो हैसियतमा रहेका पार्टी मिल्दा कांग्रेस स्वाभाविक रूपमा केही कमजोर बनेको टिप्पणी भइरहेको छ । स्थानीय तहको निर्वाचनको नतिजा आँकलन गर्दापनि कांग्रेसको स्थिति मजबूत थिएन । 

तरपनि कांग्रेसले चुनावको सामना ग–यो । आफ्नो पार्टीको पक्षमा जनलहर नहुँदा पनि देउवा चुनावबाट पछि हटेनन् । चुनावी नतिजा कांग्रेस या वामपन्थी गठबन्धन जसको पक्षमा गएपनि चुनाव भएपछि देशले जितेको छ । लोकतन्त्रले जितेको छ ।  

प्रतिनिधिसभा निर्वाचनपछि मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मार्गमा प्रवेश गर्नेछ । अब बन्ने सरकारले आम अपेक्षा र चासोअनुसार काम गर्नु चाहिँ पर्छ  । 

यसर्थ चुनावी नतिजा कसको पक्षमा जान्छ त्यो गौण कुरा हो । नौ महिनामा सरकार फेरबदल हुने राजनीतिक कुसंस्कारको शिकार बनेको मुलुकले स्थिर सरकार पाउने वातावरण तयार हुनुपर्छ ।  

चुनावको नतिजा जस्तो आएपनि र भोलिको दिनमा जसको सरकार गठन भएपनि देश राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा गयो भने त्यसको श्रेय देउवाले पनि पाउनेछन् । तमाम आशंकालाई मेट्दै चुनाव सम्पन्न गराएकोमा यति चाहिँ भन्न हिच्किचाउनु हुन्न – स्याबास, प्रधानमन्त्रीज्यू !

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस